–तुलसी गिरी ‘भावुक’
घाँस झार्दा रुखबाट लडेर ढाड भाँचिएपछि हिंडडुल गर्न नसक्ने अवस्थामा पुगेकी सम्झना वनको उपचारका लागि अमेरिकाको कोलोराडोमा बस्दै आएका नेपालीभाषी भूटानी हेम गिरीको संयोजनमा सङ्कलित रकम ९ लाख १६ हजार ३ सय ३२ रुपैया हस्तान्तरण गरिएको छ l यही साउन ८ गते सञ्चारकर्मीहरु तुलसी गिरी ‘भावुक’, योजना पुरी र समाजसेवी प्रदिप घिमिरेको उपस्थितिमा नेपाल संयोजक नेत्र सुवेदीले कपनस्थित डेरामा सम्झनालाई सो रकम हस्तान्तरण हुन् l कलिलो उमेरमै प्रेम बिबाह गरेकी सम्झना आजभन्दा ९ बर्ष अघि रुखबाट लडेकी थिईन् भने उनलाई माइतीले काठमाण्डौ ल्याएर उपचार गरेका थिए l ढाडको नसाले समेत काम गर्न छाडेपछि शरीरको आधापाटो नचल्ने र उभिन नसक्ने अवस्थामा जीवन बिताईरहेकी सम्झनालाई बिरामी भएदेखि नै पतिले पनि त्यागेका थिए l उनको १२ बर्षका एक छोरा छन् l
प्राप्त जानकारी अनुसार अमेरिका, क्यानडा र अष्ट्रेलियाबाट १ सय २० जना मनकारीहरुले सम्झनाको लागि आर्थिक सहयोग गरेका थिए l कुल रकममध्ये क्यानडा र अष्ट्रेलियाबाट नेपाली ३० हजार रुपैया बराबरको डलर प्राप्त भएको थियो भने बाँकी अमेरिकाबासी नेपालीहरुले सहयोग गरेका हुन् l जसमध्ये International Support and Foundation of America का डिल्ली अधिकारीले सबैभन्दा धेरै १ हजार २ अमेरिकी डलर { १ लाख १७ हजार नेपाली रुपैया } सहयोग गरेका छन् l ‘सुरुमा सञ्चारकर्मी योजना पुरी दिदीबाट सम्झना वनको बारेमा जानकारी पाएको थिएँ l दिदीले केही गर्न सकिन्छ कि भनेर आग्रह गर्नुभयो l नेपालमा हुँदा पाएको दु:खहरु सम्झिएँ l मानवीय हिसाबले पनि जे जति भएपनि सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्यो र सामाजिक सञ्जालबाट सहयोगका लागि आह्वान गरें l यो मेरो पहिलो राहत सङ्कलन अभियान हो l सोचेको भन्दा धेरै राम्रो भयो l सहयोगीहरु सबैप्रति धेरै आभारी छु’ हेम भन्छन् l
सम्झना वनको बारेको पहिलो भिडियो युट्युबर भीम लिम्बूले सार्वजनिक गरेका थिए भने उनै लिम्बु मार्फत सम्झनाको बारेमा योजना पुरीलाई थाहा भएको थियो l भिडियोहरु बाहिर आउन थालेपछि सम्झनालाई फाट्टफुट्ट रुपमा व्यक्तिगत सहयोग पनि प्राप्त हुँदै आएको छ l केहीदिन अघि मात्र दशनामी फन ग्रुपद्वारा सङ्कलित राहत रकम समेत प्रदान गरिएको थियो l समाजसेवी प्रदिप घिमिरेको पहलमा स्वास्थ्य स्थिति बुझ्नको लागि केहीदिन अघि सम्झनालाई ट्रमा सेन्टर लगिएको थियो l कुनै दैवी चमत्कार नभए सम्झना अब कहिल्यै हिंड्न नसक्ने कुरा डाक्टरले बताएका छन् l