ज्ञानु राणालाई लाइफटाइम एचिभमेन्ट र ‘भावुक’ लाई पत्रकारिता सम्मान

श्रुति सङ्गीत विद्यालयले वरिष्ठ गायिका ज्ञानु राणालाई नगद रू. ५१ हजार १ सय ५१ राशी र ताम्रपत्र सहित ‘स्वामी नारायाणाचार्य श्रुति अभिनन्दन’ { लाइफटाइम एचिभमेन्ट अवार्ड } द्वारा सम्मान गर्ने भएको छ l आगामी चैत ८ गते आयोजना हुने ‘श्रुति सम्मान समारोह २०७६’ का अवसरमा गायिका राणालाई सो सम्मान अर्पण गर्न लागिएको कुरा श्रुति सङ्गीत विद्यालयका अध्यक्ष तथा सङ्गीत प्रशिक्षक नरहरि प्रेमीले जानकारी गराएका छन् l समारोहमा करिव साँढे २ दशक अघिदेखि निरन्तर कला पत्रकारितामा क्रियाशील एवं ‘म्युजिक डायरी’ मासिक पत्रिकाकाका प्रधान सम्पादक तथा प्रकाशक तुलसी गिरी ‘भावुक’ समेत नगद रु. ११ हजार १ सय ५१ र ताम्रपत्र सहित ‘श्रुति पत्रकारिता सम्मान’ बाट सम्मानित हुने जानकारी प्राप्त भएको छ l

यसैगरी समारोहमा ‘श्रुति सङ्गीत सम्मान’ बाट नगद रू. ११ हजार १ सय ५१ र ताम्रपत्र सहित साहित्यकार उषा शेरचन, गायक एम बराल, सङ्गीतकार लक्ष्मण शेष र विन्ध्यबासिनी म्युजिक सम्मानित हुने छन् भने ‘श्रुति हिरो अफ दि ईयर’ बाट ताम्रपत्र सहित गायक सुगम पोखरेल, गायक प्रमोद खरेल, गायिका ईन्दिरा जोशी र गीतकार वसन्त थापालाई सम्मान गरिनेभएको छ l

सो अवसरमा गायिका सुमिना लो, रविराज शाह र शनी विश्वकर्मा भने ताम्रपत्र सहित ‘श्रुति राईजिङ स्टार’ बाट सम्मानित हुने कुरा आयोजक समितिका अध्यक्ष समेत रहेका गायक तथा सङ्गीतकार नरहरि प्रेमीले जानकारी गराएका छन् l सङ्गीत विद्यालयको यो १८ औं सम्मान समारोह भएको कुरा थाहा भएको छ l

प्राप्त जानकारी अनुसार कार्यक्रम आयोजनाका लागि आयोजक संस्थाका अध्यक्ष नरहरि प्रेमी, प्रवन्ध निर्देशक पुष्पा पौडेल, संरक्षक डा. भोला रिजाल, वरिष्ठ सङ्गीतकार दीपक जंगम, प्रमुख सल्लाहकार एस्पी कोईराला, गीतकार चूडामणि देवकोटा, साहित्यकार राजेन्द्र शलभ, सङ्गीतकार राजु सिंह, सङ्गीतकार आलोकश्री, सञ्चारकर्मी रिता लिम्बू लगायत ३० सदस्यीय ‘श्रुति सम्मान समारोह मूल आयोजक समिति’ को गठन गरिएको छ l जसमा वैकुण्ठ महतले कार्यक्रम संयोजकको जिम्मेवारी निर्वाह गर्ने छन् l सम्मान समारोहमा एम बराल, सुगम पोखरेल, प्रमोद खरेल, वसन्त थापा, ईन्दिरा जोशी, सुमिना लो, रविराज शाह, सनी विश्वकर्मा, जे. पी. रेग्मी, नरहरि प्रेमी लगायतका कलाकारहरुले साङ्गीतिक प्रस्तुति दिने छन् l