डबलडिग्री होल्डर बेली डान्सर

तुलसी गिरी ‘भावुक’


नेपालमा बेली डान्सको बारेमा धेरैलाई थाहा छैन l सङ्गीत तथा नृत्यका कतिपय पारखीहरुले समेत बेली नृत्य हेरेका छैनन् या हेरेर पनि यो नृत्यको बारेमा जानकारी पाएका छैनन् l त्यसो त नेपालमा बेली नृत्य गर्ने नृत्याङ्गना नै औंलामा गन्न सकिन्छ l यस्तो अवस्थामा बेलीको बारेमा मान्छेलाई खासै जानकारी नहुनु स्वाभाविकै पनि हो l वर्तमान नेपाली रङ्ग संसारमा यस्तै नौलो प्रकृतिको विशेषता भएको बेली नृत्यमा ख्याति कमाएकी एक नृत्याङ्गना हुन् – बिनु शाक्य l

खासै नपढेका र धेरैतिर असफल भएका मान्छेहरु भौंतारिंदै कलाकारितामा आउँछन् भन्ने एकथरिको बुझाई पनि छ l जसमा फिटिक्कै सत्यता नभएको चाहिं हैन l तर बेली डान्सर बिनुको प्रसङ्ग अलि फरक छ l धेरै पढेकी र अन्य क्षेत्रमा पनि सफलता चुम्दैगरेकी बिनु नृत्यप्रतिको अनन्य झुकाव र लागावका कारण नै यस क्षेत्रमा आएकी हुन् l  

बिनुको जन्मस्थान सिन्धुपाल्चोकको लामोसाँघु हो l पिता ईन्द्रकाजी शाक्य र माता लक्ष्मी शाक्यका तीन छोरीहरु मध्येकी कान्छी छोरी बिनु एक भाइकी दिदी समेत हुन् l बिनुका दिदीहरु सुविना र नविना नृत्यका सोखिन थिए, नृत्यमा पारङ्गत थिए l दिदीहरु नै बिनुका पहिलो गुरु र प्रेरणाका स्रोत पनि हुन् l बाल उमेरदेखि नै बिनु डान्सिङ रियालिटी शो, म्युजिक भिडियो र चलचित्र हेरेर घरमा एक्लै पनि नृत्यको अभ्यास गरिरहन्थिन् l सुन्दा अपत्यारिलो लाग्छ, ६ बर्षको उमेरदेखि नै उनले नृत्यको प्रस्तुति दिएकी हुन् l अहिले बिभिन्न मेला, महोत्सव र साँस्कृतिक कार्यक्रमहरुमा बेली डान्सरको रुपमा उनको नाम पहिलो नम्बरमै आउन थालेको छ l

चौताराबाटै स्नातक सम्मको पढाई पूरा गरेपछि काठमाण्डौ आएर आमसञ्चार र अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी बिनुले नृत्यमा समर्पित हुनकै लागि युनिसेफको जागीर छाडेको बताएकी छिन् l किन उनको मन अन्य क्षेत्रमा अडिएन ? किन उनलाई नाच्नमै अपार सन्तुष्टि मिल्यो ? के कुराले अभिभावक र शुभचिन्तकहरुको चिन्तामिस्रित प्रश्नहरु सामना गर्न उनी तयार भईरहिन् ? गलत र फरक दृष्टिकोणका मान्छेहरुको मानसिकतासँग दैनिक लडिरहने उर्जा कहाँबाट आयो ? उत्तर सजिलो छ –  यो उनको नृत्यप्रतिको समर्पण भाव हो l उनको विगतदेखि वर्तमान सम्मका समग्र आरोह – अवरोह र रुचीहरुको मूल्याङ्कन गर्दा यस्तो लाग्छ – उनी नाच्नकै लागि जन्मिएकी हुन् l जुन छेकेर नछेकिने र रोकेर नरोकिने अकाट्य सत्य हो l धेरै स्वअभ्यास र केही तालिम { नाचघरमा ६ महिनाजति } ले माझिएकी नृत्याङ्गना बिनुले लगभग २ दर्जन म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् l ‘मैले आफ्नो अन्तरात्माले रोजेको काम गरें l  यो पनि एउटा पेशा हो l तर हाम्रो समाजमा ‘नाच्ने केटी’ को मानसिकता पूर्ण रुपमा अझै हटेको छैन l  तर जीवनको अन्तिम घडीसम्म नाचिरहन्छु’ बिनु भन्छिन् l सम्भवत: यति धेरै पढेर नृत्यलाई पेशा बनाएकी नेपालकै पहिलो महिला हुन् उनी l

बेली डान्समा खासगरी छाती, कम्मर, हिप र पेटलाई घुमाएर या हल्लाएर नृत्य गर्ने गरिन्छ l यो डान्समा हात र खुट्टाको सामान्य भूमिका रहन्छ l यस नृत्यको बारेमा पूर्व जानकारी नभएका दर्शकले नृत्यका खास खास विशेषताहरुलाई नै भल्गर हाउभाउको रुपमा लिने गरेको पनि पाइन्छ l करिव ४ सयबर्ष अघि इजिप्टबाट सुरु भएको यो नृत्य अहिले अफ्रिका र यूरोपका कतिपय देशहरुमा संस्कृतिको एउटा हिस्सा समेत बनिसकेको छ l  समयको बहावसँगै नेपालमा बेली नृत्य बुझेका पारखीहरुको संख्या बढ्दै जाला र सही रुपमा बिनुको कलाको पनि कदर होला भन्ने अपेक्षा गर्न सकिन्छ l