तड्पिएका प्रेमीको बल्ल भेट भयो, ‘मुई डोली’ भाग – २

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गायक वीरेन्द्र जोहारीले भरखरै ‘मुई डोली’ भाग – २ को भिडियो सार्वजनिक गरेका छन् l कमल बमको शब्द / सङ्गीत तथा कृष्ण पुनको म्युजिक एरेञ्ज  रहेको यस गीतमा वीरेन्द्रलाई सुदूरपश्चिमकी लोकप्रिय गायिका पुष्पा बोहराले साथ दिएकी छिन् l  ‘मुई डोली’ को पहिलो भागमा पनि पुष्पा र वीरेन्द्रकै स्वर रहेको थियो l साँचो साँचो भन प्रिय मेरो यादमा तिमीले के के गर्यौ ? गीतमा युवतीको प्रश्न छ l युवक भन्छ – ‘मैले त रुँदा रुँदा आँसुको खोला नै बगाएँ l’  त्यही प्रश्न फेरि युवकले आफ्नी प्रेमीकालाई गर्छ l प्रेमिकाले भन्छे –’म पनि यति रोएँ आँसुले चोली नै भिज्यो l’ अत्यन्तै प्रेमिल भावले भरिपूर्ण यो गीत शव्दले खोजे झैं हृदयस्पर्शी र फरक मेलोडीमा रहेको छ l कुनैपनि गीतको लयबाट प्रभावित नरहेको यो गीतको सुरुका पङ्क्ति सुन्नेबित्तिकै जो कोही स्रोतालाई जिज्ञाशु र रोमाञ्चित बनाउँछ l  ४ दिन अघि मात्र युट्युबमा अपलोड भएको यो भिडियो हेरेका अधिकांश दर्शकले गीतको मात्र नभई भिडियोको समेत प्रशंसा गरेका छन् l

शिव बि. क. को निर्देशन र वीरेन्द्र भाट ‘विपिन’ को छयाङ्कन तथा सम्पादन रहेको यस भिडियोमा सम्पदा बानिया र वीरेन्द्र जोहारी स्वयम्को अभिनय रहेको छ l पहिलो भागको भिडियोमा पनि वीरेन्द्र र सम्पदाकै अभिनय थियो l ‘गीत तथा भिडियोमा पहिलो भागको कथाको सिलसिला छ l भाग – २ को अन्त्यमा नायक – नायिकाको भेट त भएको छ तर कुनै संवाद भएको छैन l एकअर्कालाई सम्झिएर लामो समयदेखि तड्पिएका प्रेमी जोडीको भेट हुनासाथ भिडियो सकिएको छ l वीरेन्द्र जोहारी भन्छन्- ‘यसपछि कथाले कस्तो मोड लिन्छ, त्यो कुरा गीतकारलाई मात्र थाहा छ l’

सुदूरपश्चिमको दार्चुला जिल्ला, व्यास गाउँपालिका स्थाई बसोबास भएका गायक वीरेन्द्र जोहारी नेपालमा बसोबास गर्ने सबैभन्दा अल्पसंख्यक जातिका हुन् l ‘जोहारी हामी जम्मा ४-५ घर मात्र छौं र  घरमा हामी आफ्नै मातृभाषा कुमाउनी बोल्छौँ’ वीरेन्द्र भन्छन् l  केही पुस्ता अघि उनका पुर्खाहरु कुमाउतिर बस्थे l वीरेन्द्रको जन्म भने नेपालमै भएको हो l अहिलेपनि उता नाता पर्नेहरु धेरै छन् र नेपालका सीमित जोहारी भएको नाताले उनी र उनको परिवारलाई कुमाउ – गढवालतिरका सबैले चिन्छन्, माया गर्छन् l

वीरेन्द्रले २०६२ सालमा ‘तेरी यादमा’ शीर्षकको एल्बम प्रकाशन गरी औपचारिक रुपमा सङ्गीत यात्रा आरम्भ गरेका थिए l  त्योबेला युट्युबको जमाना थिएन l तरपनि क्यासेट र सिडी उत्साहजनक रुपमा बिक्री भएको थियो l सुदूरपश्चिम, मध्यपश्चिम र काठमाण्डौमा समेत राम्रो बजार पाएको ‘तेरी यादमा’ ले कुमाउ – गढवालतिर उनलाई चिनाउन ठूलो भूमिका खेल्यो l  

हालसम्म एक दर्जनजति एल्बम र फुटकर समेत गरी ३ सयजति गीतमा स्वर दिईसकेका वीरेन्द्र मातृभाषा र त्यसबाट प्रभावित लवजका गीतबाटै बढी लोकप्रिय भएका छन् l राष्ट्रिय भाव, लोक तथा लोकदोहोरी र प्रहरी गीतमा समेत स्वर दिईसकेका भएपनि कुमाउ – गढवालतिरका भाषा र भाकाबाटै उनको पहिचान स्थापित भएको छ l  त्यसो त उनले सुदूरपश्चिम र मध्यपश्चिमका भाका पनि गाउँदै आएका छन् l कहिले काहिँ उनका गीतमा सुदूरपश्चिम र कुमाउनी भाषाको फ्युजन पनि स्वादन गर्न पाईन्छ l उनी स्वयम् पनि बेला बेलामा गीत रचना र सङ्गीत गर्ने गर्दछन् l तर गीतकार कमल बम उनको लागि यस्तो एउटा ‘लक्की’ नाम हो जसको गीतले नै उनलाई गायक वीरेन्द्र जोहारी भनेर लोकप्रिय बनायो l ‘मुई डोली चढ्ने बेला, सुन मेरा इजा सुन मेरा बाबा, पिठियुँमा झोला मेरा काँधमा राइफल, हे आमा नेपाल’ आदि उनका सर्वाधिक लोकप्रिय गीत हुन् l ‘उहाँ पनि दार्चुलाकै हुनुहुन्छ l आफ्नो गीतमा आफैं सङ्गीत गर्नुहुन्छ l मैले अरुका पनि धेरै गीत गाएँ, तर उहाँको गीत जस्तो कुनै चलेन’ गीतकार तथा सङ्गीतकार कमल बमको विषयमा जोहारी भन्छन् l मध्य तथा सुदूरका बिभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिँदै आएका वीरेन्द्र कमसेकम बर्षमा एकपटक प्रस्तुतिका लागि कुमाउ पुग्ने गर्दछन् l