गीतकार सङ्घले जनकपुरमा बृहत् श्रष्टा भेला गर्ने

  • तुलसी गिरी ‘भावुक’

    गीतकारहरुको छाता संस्था गीतकार सङ्घ नेपालले आयोजना गर्न लागेको ‘प्रदेश नं. २ स्तरीय गीतकार भेला, श्रष्टा परिचय तथा गीत शिविर सम्वन्धी दुई दिवसीय कार्यक्रम’ को तयारीको सन्दर्भमा अनौपचारिक रुपमा प्रारम्भिक छलफल भएको छ l आइतबार बिजुलीबजारस्थित सङ्घको कार्यालयमा छलफल कार्यक्रमको आयोजना गरिएको थियो l कार्यक्रममा साहित्य लेखन तथा गीतकारितामा क्रियाशील एवं अन्य क्षेत्रमा समेत उच्च ख्याति भएका दुई नम्बर प्रदेशका प्रतिष्ठित व्यक्तिहरुसँग सो तयारीका विविध सन्दर्भलाई लिएर राय सुझाव लिईएको थियो l छलफल कार्यक्रममा मधेसी आयोगका अध्यक्ष विजय दत्त, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य धीरेन्द्र प्रेमर्षी, अधिवक्ता आनन्द गुप्ता, रेडियो नेपालका भोजपुरी समाचार सम्पादक ढुन राज शर्मा र सर्लाही साहित्य समाजकी अध्यक्ष मिना देवकोटा एवं सङ्घका अध्यक्ष चूडामणि देवकोटा, उपाध्यक्ष शुभ मुकारुङ, सचिव सुशीला पौडेल  र सदस्य जे.बी. संयोगी को उपस्थिति रहेको थियो l



‘मौलिकता बचाउने हाम्रो रहर, गीतकार सङ्घ पुग्छ गाउँ शहर’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमका बारेमा प्रकाश पार्दै सङ्घका अध्यक्ष चूडामणि देवकोटाले भन्नुभयो –’सामाजिक रुपान्तरणका लागि मैथिली तथा भोजपुरी गीतको योगदान र साँस्कृतिक अन्तरघुलनका लागि गीतको भूमिका’ विषयक दुई छुट्टाछुट्टै कार्यपत्र प्रस्तुतिको योजना बनाएका छौं l कार्यक्रम कस्तो ढाँचा र कस्ता विषयवस्तुमा केन्द्रित रहँदा प्राज्ञिक र उपलव्धीमूलक हुन्छ तपाईंहरुको सुझाव र साथको हामीले अपेक्षा गरेका छौं l कार्यक्रममा प्रस्तुत हुने कार्यपत्र सङ्गीत क्षेत्रकै लागि एउटा गहन दस्तावेज होस् भन्ने हाम्रो चाहना छ l’ छलफलमा प्रदेश नम्बर दुईका ८ वटै जिल्लाका सबै जाति र भाषाका गीतकारहरुलाई कसरी समेट्न सकिन्छ ? लगायत स्थानीय संयोजक, आर्थिक सहयोग, कार्यपत्रको विषय र प्रस्तोताको छनोट, प्रचार प्रसार, सम्बन्धित क्षेत्रका प्राज्ञिक व्यक्तिहरुको पहिचान र सहभागिता, स्थानीय निकाय र सरकारसँगको समन्वय – सहकार्य आदि विषयमा छलफल तथा राय सुझावहरु लिईएको थियो l सङ्घले आगामी फागुनको पहिलो साता कार्यक्रमको आयोजना गर्ने प्रारम्भिक योजना बनाएको कुरा समेत जानकारी गराईएको छ l ‘विख*ण्डित समाजलाई एउटै मालामा उन्नका लागि गीत – सङ्गीतको ठूलो भूमिका हुन्छ l हामी नेपाली भन्ने भावना जागृत गराउन र स्थानीय सर्जकहरुलाई सिर्जनाका लागि हौसला बढाउनका लागि पनि हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ’ अध्यक्ष देवकोटाले भन्नुभयो l छलफल लगभग २ घण्टासम्म चलेको थियो l प्रदेश नम्बर २ को प्रतिनिधित्व गर्दै उपस्थित भएका प्राज्ञिक व्यक्तिहरुले महत्वपूर्ण सुझावहरु दिनुका साथै कार्यक्रमको सफलताको लागि पूर्ण साथ रहने वचनवद्धता समेत प्रकट गरेका छन् l



सङ्घले गतबर्ष इलाममा एक नम्बर प्रदेशस्तरीय बृहत् श्रष्टा भेला कार्यक्रम सम्पन्न गरेको थियो l जहाँ भारतका दार्जेलिङ्, सिक्किम लगायत अन्य प्रान्तका गीतकारहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो l