म्युजिक भिडियो हुँदै चलचित्रमा निर्देशक राज

   – तुलसी गिरी ‘भावुक’

सुदूरपूर्वको झापा, बिर्तामोडलाई कर्मथलो बनाएर गीतकार, सङ्गीतकार र भिडियो निर्देशकको रुपमा राम्रो ख्याति कमाएका फिदिम, पाँचथरका युवा राज चम्लिङ यतिबेला आफ्नो निर्देशनको पहिलो नेपाली कथानक चलचित्र ‘बैनाबट्टा’ को अन्तिम प्राविधिक काममा व्यस्त रहेका छन् l ‘तिहारपछि प्रीमियर गर्ने र लगत्तै नेपाल र नेपाल बाहिर च्यारिटी शोहरु गर्ने योजना अनुसार काम भईरहेको छ’ चलचित्रका लेखक तथा निर्देशक राज भन्छन् l चलचित्रमा सुदूरपूर्वमा बसोबास गर्ने लिम्बू जातिको पृष्ठभूमि, जीवनशैली र त्यससँग जोडिएका महत्वपूर्ण ऐतिहासिक पक्षहरुलाई समेट्ने प्रयास गरिएको कुरा समेत उनले जानकारी गराए l लेखक/निर्देशक राजका अनुसार सुम्हात्लुङ फिल्म्स् प्रा. लि. ले निर्माण गरेको यस चलचित्रमा प्रेमराज लावतीको लगानी रहेको छ भने अभिनयमा नयाँ अनुहारलाई मौका दिईएको छ l जस अनुसार देवेन्द्र नेम्बाङ, कविता वान्तवा, बाबु मोक्तान, रश्मिला तामाङ लगायतका कलाकारहरु प्रमुख पात्रका रुपमा देखिएका छन् l ‘नाम चलेका र महङ्गा कलाकार लिँदैमा फिल्म चल्छ भन्ने कुरामा म विश्वास गर्दिन l बजारमा मौलिकता, कथा र प्रस्तुति बिक्ने हो’ राज भन्छन् l लिम्बू जातिको प्रमुख बसोबासस्थल ताप्लेजुङ, पाँचथर र इलामका बिभिन्न ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रमा वुद्धराज लिम्बू र सन्तोष राईको सङ्गीत तथा मेलिना राई, दीपक लिम्बू र सन्तोष राईका स्वरमा ३ वटा गीत रहेका छन् l वियोगान्त कथामा आधारित रहेको ‘बैनाबट्टा’ सन्देशमूलक चलचित्र भएको कुरा समेत राजले जानकारी गराए l

राजकै शब्द/सङ्गीतमा रहेको ‘पालाम ख्याली – २’ को भिडियोले पनि यतिबेला सङ्गीत बजारमा राम्रै चर्चा पाईरहेको छ l अघिल्लोपटक प्रकाशन भएको ‘पालाम ख्याली’ को सफलताबाट उत्साहित भएर ‘पालाम ख्याली -२’ प्रकाशन गरिएको कुरा उनले बताए l गीतमा दृष्टिविहिन गायिका सुस्मिता राई र नरेश वनेमको स्वर रहेको छ भने राजकै निर्देशनमा तयार भएको यो भिडियोको छायाङ्कन तथा सम्पादन लक्ष्मण सुनारले गरेका हुन् l बि.स. २०६६ मा आफ्नै शब्द / सङ्गीतको एकल एल्बम ‘आँशुको बलेसी’ प्रकाशन गरी कला क्षेत्रको यात्रा आरम्भ गरेका राजले २०६७ मा पहिलोपटक ‘तिम्रो कसम कहिले पनि’ बोलको गीतको भिडियो निर्देशन गरेका थिए l त्यसपछि उनी बिर्तामोडलाई कर्मथलो बनाएर गीतकार, सङ्गीतकार र म्युजिक भिडियो निर्देशकको रुपमा क्रियाशील रहँदै आएका छन् l ‘अहिलेसम्म १०० भन्दा बढी म्युजिक भिडियो निर्देशन र ५० भन्दा बढी गीतका सङ्गीत गरेंहोला’ उनी भन्छन् l भरखरै सानो पर्दाबाट ठूलो पर्दाको निर्देशनमा पाइला बढाएका राज अबका दिनमा यो यात्रालाई निरन्तरता दिन चाहन्छन् र मौलिक एवं सार्थक सामाजिक चलचित्र लेखक/निर्देशकको रुपमा आफ्नो पहिचान स्थापित गर्ने सोचमा छन् l

Video Link