एक व्यक्ति अनेक व्यक्तित्व, जनप्रिय सङ्गीतकार शम्भूजीत बासकोटा

– डा. नवराज लम्साल

शम्भूजीत बासकोटा को हो ? भनेर सोध्ने सङ्गीतप्रेमी सायद छैनन् नेपालमा l जसले शम्भूजीतलाई चिनेन, ऊसँग शम्भूजीत शैलीको विवेचनाको कुनै अर्थ छैन l चिन्नेहरुले शम्भूजीत बासकोटालाई आफ्नै सीप, शैलीको तराजुमा राख्दै र जोख्दै आएको म पाउँछु l शम्भूजीत बासकोटाको बारेमा चर्चा गर्दा वा गम्भीर वहस, छलफल र टिप्पणी गर्दा केही आधारहरु तयार पार्नुपर्ने हुन्छ l सुगम सङ्गीत क्षेत्रका शम्भूजीत बासकोटा, चलचित्र सङ्गीत क्षेत्रका शम्भूजीत बासकोटा, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटा, शाही नेपाल चलचित्र संस्थान संचालक समिति सदस्य शम्भूजीत बासकोटा, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सङ्गीत निर्देशक शम्भूजीत बासकोटा, चलचित्र विकाश बोर्डका कार्यकारी अध्यक्ष शम्भूजीत बासकोटा, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष तथा महाप्रवन्धक शम्भूजीत बासकोटा, प्यारोडी गायक – सर्जक, विज्ञापन जिंगल सर्जक शम्भूजीत बासकोटा, सिर्जनाको आधाघण्टा, नेपालकै पहिलो रियालिटी शो प्रतिभाको डबलीका परिकल्पनाकार तथा निर्माता र म्युजिक भिडियोका पहिलो निर्देशक शम्भूजीत बासकोटा, सङ्गीत संगम, तीतो सत्य, टोल टोलमा, गीत र मनको रहरका परिकल्पनाकार एवं निर्माता, निर्देशक शम्भूजीत बासकोटा, गीतकार, गायक, कथाकार, अभिनय कलाकार शम्भूजीत बासकोटा र व्यक्तिगत स्वभावका शम्भूजीत बासकोटा l यी विविध विषयमा अलग अलग टिप्पणी गर्न सकिन्छ र यी सबै कुरालाई नखोतली पूर्ण शम्भूजीत बासकोटाको बारेमा जानकारी पाइन्न l कुनैपनि व्यक्ति व्यक्तित्वमा रुपान्तरण हुन उसका निजी गुण, शैली र सामर्थ्यको पनि प्रमुख भूमिका रहन्छ l क्षमता त व्यक्तिको अमूल्य धन हुँदै हो l आफ्नै क्षमताको सामर्थ्यले शम्भूजीत आजको शम्भूजीत भएका हुन् भन्ने कुरामा चाहिं सबैको समान धारणा पाइन्छ l मान्छेहरु शम्भूजीत बासकोटालाई गायक, निर्माता { Singer maker } का रुपमा पनि हेर्थे र हेर्छन् पनि l उनको सङ्गीत पाएपछि लोप भएका, लोपोन्मुख र नव गायक – गायिकाहरु ह्वात्तै आउँथे l यसको मूल कारण उनको व्यावसायिक सीप पनि हो l शम्भूजीत बासकोटाका सन्दर्भमा उठिरहने यी केही सवालहरु हुन् l यसैका आधारमा उनका श्रोता, शुभेच्छुकहरु तीन धारमा विभक्त छन् l { १. } शम्भूजीत बासकोटालाई अद्वित्तीय, अलौकिक सम्झने, [२.} जसरी पनि शम्भूजीतको विरोध मात्र गरिरहने र { ३. } शम्भूजीतका विषयमा निरपेक्ष रहेर सङ्गीत मात्र सुनिरहने l तथापि रिस गर्नेहरु पनि उनको तारिफ नै गरिरहेका हुन्छन् l यी तीनवटै कोणका श्रोता वा शुभेच्छुक सङ्गीतकार शम्भूजीत बासकोटाका निम्ति खराव छन् l आजको युग विचार निरपेक्ष रहन सक्दैन l विचार र व्यबहारबीच समानता खोज्छ l अनि आजको युग कोही कसैप्रति सम्पूर्ण रुपमा समर्थक वा गम्भीर आलोचक मात्र पनि बन्न सक्तैन l हर व्यक्तिका गुणदोष, सफलता, असफलता वा राम्रो नराम्रो आ-आफ्नैखाले चरित्र, स्वभाव र व्यक्तित्व हुन्छ l तसर्थ माथिका तीन प्रकार भन्दा बाहिर रहेर एउटा समीक्षकको आँखाबाट शुद्ध शम्भूजीत बासकोटाको जोड घटाउ गरिनु पर्छ l

शम्भूजीत बासकोटा सजिलै बनेका शम्भूजीत होइनन् l उनका पछाडि झन्डै ५ दशक लामो सङ्गीत साधना, तपस्या र दीर्घ लगाव छ l सुरुका दिनमा गायक बन्ने सपना बुनेर रेडियो नेपालको स्टुडियो बाहिर कुरिरहने शम्भूजीत बासकोटा र आज शम्भूजीत बासकोटाको सङ्गीत माग्न उनकै घर छेउमा उभिरहने नव गायकको पुस्ताबीच एउटा सिङ्गो युग छ l यही युगमा बगेको छ – सिर्जनाको धेरै पानी l धेरै आए सङ्गीतकार, धेरै भए सङ्गीतकार, बाढी छुट्यो गीतकारको, चोक चोकमा भेटिए गायक – गायिका l तर उनी ती सबैसँग बाँडिएर रमाईला दिन र नरमाईला रातहरु सिर्जनामा उनेर रामईरहन तल्लिन भए, छन् र आशा गरौँ अझै रहिरहने छन् l पुराना पुस्ताका गायक – गायिका तारादेवी, कोईलिदेवी, नातिकाजी, गोपाल योन्जन, फत्तेमान, वच्चुकैलाश, नारायणगोपाल, भक्तराज, प्रेमध्वज हुँदै त्यसभन्दा पछिको पुस्ता उदितनारायण, दिपानारायण, दीपक खरेल, दिपेन्द्र लामा, प्रकाश श्रेष्ठ, प्रसाद श्रेष्ठ र त्यो भन्दा पनि पछिल्लो पुस्ता लोचन भट्टराई, आनन्द कार्की, देविका वन्दना, उमेश पाण्डे, राजेशपायल, रामकृष्ण, एम बराल, सत्यस्वरूप, अन्जु पन्त, जुना प्रसाईं, विश्व नेपाली, संजय तुम्रोक, हुँदै अस्मिता अधिकारी र निशान भट्टराईसम्म आईपुग्दा पनि उनको सिर्जनशील उर्जामा कुनै कमी आएको छैन l सङ्गीतकर्ममा लाग्नेहरुका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै उनी एक ‘ट्रेडमार्क’ जस्तै भएका छन् र आदर्श व्यक्तित्व l महेन्द्र कपुर, आशा भोस्ले, अनुप जलोटा, पंकज उदास, सोनु निगम, कविता कृष्णमुर्ती, साधना सरगम, सुनिधी चौहान लगायतका बलिउड हस्तीहरुसँग सहकार्य गरिसकेका बासकोटालाई त्यहाँका गायक – गायिका, वाद्यवादक लगायतका सङ्गीतकर्मीहरुले समेत उच्च सम्मानका साथ सम्झने गर्दछन् l

म शम्भूजीत बासकोटासँग झयाम्मै आकर्षित भएको एउटा घटना छ l पाठकलाई सामान्य लाग्न सक्छ, म भने यसलाई गम्भीर रुपमा सम्झने गर्छु l यसलाई भूमिका सहित प्रस्तुत गर्न मन लाग्यो l ‘आशिर्वाद’ नामको चलचित्र बन्ने भयो l नायकको भूमिका निर्वाह गर्ने भए गायक रामकृष्ण ढकालले l गोपाल कर्माचार्य, रामकृष्ण ढकाल, शम्भूजीत बासकोटा र अन्य केही व्यक्ति बसेर ५ वटा गीतको लागि कथानक छनोट गरे l ५ गीतका लागि ५ गीतकारको नाम टिपियो र विषय बाँडियो l त्यो जिम्मा गोपाल दाइले लिनुभएछ l मलाई एउटा पूर्ण रोमान्टिक युगल गीत सहित बोलाईयो l म गीत लिएर गएँ – ‘झरना झैं झर्दै आऊ मनको वगरमा, तारा भई झिल्मिलाऊ मनको सगरमा l’ एक हरफ पुरुष आवाज र एक हरफ महिला आवाज l वगरसँग सगरको अनुप्रास मिलेकोमा म दङ्ग थिएँ क्यारे सायद ! जोड दिएर पूरै गीत पढ्ने बित्तिकै उनले भने – ‘मनको वगर हुँदैन l वगरसँग मनको कोमलताको किन तुलना गर्नु ? यी दुई पङ्क्तिबीच अनुप्रासको मिठास भएपनि केही परिवर्तन गर्नु राम्रो हुन्छ l’ उनको यो भनाईको चलचित्र सम्वद्धहरु सबैले समर्थन गरे l मैले पनि ‘मनको वगरमा’ को सट्टा ‘मनको लहरमा’ भन्ने पङ्क्ति वैकल्पिक रुपमा प्रस्तुत गरें l सङ्गीत भयो, रेकर्ड भयो र चर्चित पनि भयो l शम्भूजीत बासकोटाद्वारा सङ्गीतवद्ध झन्डै ३ दर्जन चलचित्रमा मैले गीत लेखेको छु l सस्तो चर्चाको गीत लेख्नै दिएनन् मलाई l कि उपमावादी रोमान्टिक गीत, कि शीर्षगीत, कि त चलचित्रको चरम निराशाको वियोगान्त गीत मात्र मेरो भागमा पर्यो l शम्भू दाइको भनाई छ -‘गीतकारको एउटा तह हुनुपर्छ l कसले कस्तो गीत लेख्ने, कुन तहको गीत लेख्ने, कुन शैली, विषय र संरचनाको गीत लेख्ने l’

गीतको विषय हेरेर शम्भूजीत बासकोटाले निर्माता र निर्देशकहरुलाई कहिले कालीप्रसाद रिजालकहाँ, कहिले किरण खरेल र दिनेश अधिकारीकहाँ त कहिले रत्नसमशेर थापा र यादव खरेलकहाँ पठाएको मैले देखेको छु l कतिपय चलचित्र निर्माता निर्देशकले चल्तीफिर्ती गीत मलाई लेखाउन खोज्दा ‘यस्तो गीत नवराजलाई लेखाउन हुन्न, उसलाई गम्भीर गीत लेखाउनु पर्छ’ भनेको मलाई थाहा छ l एउटा हुर्कंदै गरेको गीतकारलाई यसो गरिनु स्तरीय, राम्रो र सार्थक गीत जन्माउने वातावरण तयार पारिदिनु हो l एउटा चलचित्रमा भिन्नखाले प्राय: ५ वटा गीत राख्नु र पूर्ण व्यावसायिक हुनु फिल्म लिवर्टी  [चलचित्र स्वतन्त्रता ] प्रयोग गर्नु सङ्गीतकारका लागि वाध्यता र अवसर हो l तर राम्रा गीतकारहरुलाई छ्यासमिसे गीतमा मुछ्नु हुन्न भन्ने धारणा कम्तिमा मेरा लागि चाहिँ प्रष्ट रुपमा पटक पटक भन्नुभएको छ l

‘कहीं मिलन कहीं विछोड’ चलचित्रका लागि शीर्ष गीत र नातिनी हजुरआमाबीचको युगल गीत नवराज लम्साललाई लेखाउँदा राम्रो हुन्छ भनेर शम्भूजीत बासकोटाले नभन्नुभएको भए एउटा असल मान्छे ऋषि लामिछाने मेरो साथी नै हुने थिएनन् l यो गीत ऋषि लामिछानेसँग सँगै बसेर लेख्दाको अनुभव अर्कै छ l मेरा हकमा म यी धारबाट शम्भूजीत बासकोटाप्रतिको धारणा बनाईरहेछु l टंक लम्सालजीको निर्माणाधीन चलचित्रका लागि मलाई एउटा पुछरे गीत लेख्न भन्नु भा’थ्यो स्वयम् टंकजीले l टंकजी चाहनुहुन्थ्यो, बजारको चलन चल्तीमा रहेका केही ‘यो’ ‘यो’ शब्द परुन् l मैले त्यसो गर्न चाहिन, लेखिन l शम्भू दाइ रिसाउनुभयो होला भन्ने मनमा लागिरहेको थियो, तर पछि उहाँ झनै खुशी हुनुभयो l ‘आफ्नो स्तर आफैं बनाउने हो, मन नलागेको कुरा जबर्जस्ति लेख्नुहुन्न’ भन्नुभयो l यी दृष्टान्तले शम्भूजीत बासकोटाको गीतप्रतिको दृष्टिकोण प्रष्ट होस् भन्ने हिसावले उल्लेख गरेको हुँ l अरुका हकमा अरुले गर्ने टिप्पणी हो l तर मेरा हकमा गीतमाथि पूर्ण न्याय दिने सङ्गीतकारका रुपमा म उहाँलाई पाउँछु l माधव प्रसाद घिमिरेदेखि यादव खरेल, रत्नसमशेर थापा, राजेन्द्र थापा, किरण खरेल, कालीप्रसाद रिजाल, नीर शाह, दिनेश अधिकारी, डा. कृष्णहरि बराल, एस्पी कोईराला, उन्नति बोहरा ‘शीला’, विश्वबल्लभ, नरेन्द्रराज प्रसाईं, दयाराम पाण्डे, किरण के. सी. ‘क्रोधी’, सहदेव ढुंगाना र म स्वयम् सम्मको शब्द सिर्जनामा सङ्गीतको महक छरिसकेका बासकोटा पुस्तान्तरभित्रका संसारकै सायद सबैभन्दा लामो पुल हुन् l चलचित्र होस् या आधुनिक सुगम सङ्गीत, उनले अनगिन्ति कालजयी गीतको सिर्जना गरेका छन् l ३ सय ५७ चलचित्रमा सङ्गीत गरिसकेका बासकोटाले आधुनिक, राष्ट्रिय, बाल, भजन लगायत चलचित्र बाहेकका २ हजार बढी गीतमा सङ्गीत दिएका छन् l उनले निजी क्षेत्रले प्रदान गर्दै आएका नेपालका प्रसिद्ध सबैजसो अवार्ड, पुरस्कार र सम्मानहरु मात्र पाएका छैनन् कैयौं अन्तर्राष्ट्रिय सङ्घ – संस्थाहरुले समेत उनलाई सम्मान र ‘लाइफटाइम’ अवार्डहरु दिएका छन् l नेपालका राजा महाराजाहरुले दिने उच्च स्तरका विभूषण र पदकहरुबाट समेत उनी विभूषित छन् l

मेरो सेरोफेरो भन्दा माथि उठेर स्रोताका रुपमा म शम्भूजीत बासकोटाका सङ्गीतबाट हृदयको गम्भीर कम्पन पाउँछु l म सङ्गीतको सैद्धान्तिक भाषा बुझ्दिन l तर कान र हृदयको भाषामा शम्भूजीतका सङ्गीत बेजोड स्वादका अमृत हुन् l शम्भूजीत संयोगवश त्यो युगमा जन्मिए, जतिखेर पिकनिक, पार्टी, भोजभतेर, बस, ट्रक र रेष्टुरेन्टहरुमा केवल हिन्दी गीत मात्र गुन्जन्थे l तिनलाई विस्थापित गरेर नेपाली धुन, नेपाली साज र नेपाली आवाज घन्कनु कम कुरो होईन l उनी बहुआयामिक सर्जक हुन् l चलचित्र सङ्गीतलाई छपक्कै छोपे पनि उनी आधुनिक गीतमै बाँच्छन् र आधुनिक सङ्गीतलाई बिर्से पनि चलचित्र सङ्गीतमा बाँच्छन् l लोक शैलीको सङ्गीतको सफल प्रयोगले चलचित्र सङ्गीत लोकप्रिय बनेको हो l लोक शैलीका गीतसँगै पाश्चात्य शैलीका गीतहरुमा नवीन के. भट्टराई, कर्णदास  र अन्य तन्नेरी ढुकढुकीको प्रयोग, सुगम सङ्गीतमा रामकृष्ण, राजेशपायल, यमदेखि पुराना पुस्ता फत्तेमान र योगेश वैद्य सम्मको मिलनले पुस्ताभेद मेटाएर उनी सबैका प्रिय सङ्गीतकारका रुपमा स्थापित भए l यो सन्तुलन बुद्धिमतापूर्ण र चातुर्यतापूर्ण पनि हो l यही कलाले उनलाई कुनै व्याण्ड विशेषको, समूह विशेषको वा घेरावन्दीको हुनुभन्दा माथि उठाएको हुनुपर्छ l

उनी सङ्गीतका सागर हुन् l गीत अगाडि राखेपछि उनी किसिम किसिमका धुन सिर्जना गर्छन् र चलचित्रकर्मीलाई रोजाउँछन् l सुन्ने अल्मलिन्छ र जुन राम्रो लाग्छ दाइलाई त्यही राखौं भन्छ l उनीकहाँ डाडु लिएर जाने चलचित्र निर्माता – निर्देशकले एकडाडु सङ्गीत पाउँछ, गाग्री लानेले गाग्रीभरि र खड्कुलो लानेले खड्कुलोभरि l कुन चलचित्रमा कस्तो सङ्गीत छ भन्नु भन्दा पनि कसले कति लिन सक्यो त्यसमा भर पर्दछ l उनको लागि आँखा ठड्याउने ठाउँ यहींनेर छ कि, आफ्नो रुची भन्दा पनि चलचित्रको आवश्यकताको सिमामा गएर निर्माता/निर्देशकले मागेकै हदमा सङ्गीत नगर्नु पर्थ्यो l यसो भन्न सकिन्छ, तर उनको बनिबनाउ जवाफ छ – ‘चलचित्र सङ्गीत व्यावसायिक सङ्गीत हो l’ 

रामकृष्णले आशिर्वादमा शम्भूजीतलाई मनग्गे दोए l उत्कृष्ट सङ्गीत छ आशिर्वादमा l नीर शाहले ताने वसन्तीमा l अशोक शर्माले निचोरे अल्लारे लगायतका अन्य चलचित्रमा l अरु अरुले बल गरे, भएन भने थुते l तर जो शम्भुजीतलाई भेट्दैमा गर्व गर्न थाले, ‘दाइको त वाह !’ भने, जुन सुनायो त्यही ठीक भने, तिनले आफ्नै हैसियतको सङ्गीत पाए l तर पनि उनका ३ सय ५७ चलचित्र सङ्गीतमा एउटा न एउटा गीत नचलेको कुनै चलचित्र रहेन l उनको सङ्गीतकै कारण चलचित्र चलेका घटनाहरु समेत अनगिन्ति छन् l उनले लोक सङ्गीतलाई चलचित्रमा प्रवेश मात्र गराएनन् युगान्तकारी ट्रेण्ड नै बसाए चलचित्र र लोक सङ्गीतमा l नेपाली लोक तथा दोहोरी सङ्गीतको प्रसिद्धिका लागि र यो विधालाई व्यावसायिक धारमा ल्याउनका लागि उनले गरेको योगदान अद्वित्तीय छ l  नेपाली चलचित्र, नेपाली चलचित्र सङ्गीत र यसको व्यावसायिकताको कडीमा पनि उनी सफल छन् l सिमा पारिबाट आउने क्यासेटहरुलाई सिमामै रोकेर बजारभरि नेपाली क्यासेट छ्याप्छ्याप्ती पार्न सक्नु उनको अर्को गौरवशाली इतिहास हो l

नेपाली सङ्गीतका निम्ति शम्भूजीत बासकोटाको योगदान अतुलनीय छ l अनेक व्यक्तित्व भएका उनी अन्यको भन्दा फरक, विशिष्ट र युगान्तकारी सर्जक हुन् l सङ्गीत सम्राट, मेलोडी किङ आदि नाम दिने र भन्ने गरिए पनि शम्भूजीत बासकोटा सङ्गीतकार, सङ्गीतकार र  सङ्गीतकार हुन् l कसैले शम्भूजीत बासकोटाको तीन विशेषता खोज्यो भने म फेरि दोहोर्याउँछु, सङ्गीतकार, सङ्गीतकार र सङ्गीतकार l तर उनी गीतकार पनि हुन्, गायक पनि हुन्, विभिन्न कार्यक्रमका परिकल्पनाकार र कार्यक्रम संचालक पनि हुन् l यी उनका क्षमताका विविध पाटा हुन् l तर इतिहासले सम्झिरहने छ – सङ्गीत कलालाई व्यावसायिक रुपमा यो उचाई दिने सामर्थ्य पनि केवल उनमै मात्र रह्यो l आज पछिल्ला पुस्ताका जोडदार सङ्गीतकारहरुलाई आफ्नो बाटो बनाउन यही व्यावसायिक सफलताको सिंढीबाट सजिलो भएको हो l अहिले पनि उनको धारको अनुशरण गर्नेहरु प्रशस्तै छन् l

यति हुँदाहुँदै पनि मेरा प्रिय शम्भूजीत दाइसँग भने एउटा गुनासो छ l उहाँ कुनै अध्यक्ष, जी. एम. वा बोर्ड सदस्य भन्दा माथिका मान्छे हुनुहुन्छ l ती पदहरुको स्वीकारबाट उहाँलाई थप उचाई मिलेको छैन, बरु केही घटेको छ l ती पदहरु लोटा हुन्, सङ्गीतकार शम्भूजीत बास्कोटा गाग्री l यो मेरो नित्तान्त व्यक्तिगत टिप्पणी हो, सबै यसमा सहमत हुनैपर्छ भन्ने छैन र यो पनि भन्नुपर्छ – अब नेपाली सङ्गीतले’ शम्भूजीत बासकोटा भाग दुई’ कहिल्यै पाउने छैन l एउटा युग नै हाँक्न सक्ने शम्भूजीत जस्ता तेजस्वी सङ्गीतकार फेरि सायदै जन्मिएलान् !