गीतसङ्ग्रह ‘तिम्रै झल्को’ को परिचर्चा कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय गीत सङ्गीत मञ्च, पोखराको आयोजनामा सङ्गीतकार, गायक, सङ्गीत संयोजक एवं गीतकार बी.बी. अनुरागीको गीतसङ्ग्रह ‘तिम्रै झल्को’ को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शनिबार पोखरामा आयोजना भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको विकासमा आफूले चार ‘स’ लाई प्राथमिकता दिएको बताएका छन् । उनका अनुसार ती हुन् – शान्त, सुन्दर, सभ्य र समृद्ध । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले जुन देशमा साहित्य, कला र संस्कृतिको विकास हुन्छ, त्यो देशमा सभ्यताको पनि विकास हुने बताए । उनले गण्डकी प्रदेश कला, संस्कृति र साहित्यको प्रचूर सम्भावना बोकेको प्रदेश भएकोले आफू छिट्टै गण्डकी प्रज्ञा प्रतिष्ठान गठनको तयारीमा रहेको जानकारी दिए ।  उनले भने –  ‘हाललाई ललितकला र नाट्यको प्रतिष्ठान नभई सबैलाई समेट्ने गरी प्रदेश सरकारले छिट्टै ‘गण्डकी प्रज्ञा प्रतिष्ठान’ गठन गर्ने छ ।’ 

नेपाललाई एकताको सूत्रमा बाँध्ने पृथ्वीनारायण शाह गण्डकी प्रदेशमै जन्मिएको उल्लेख गर्दै यही प्रदेश राष्ट्रकवि माधवप्रसाद घिमिरे, जनकवि केशरी धर्मराज थापा, कवि शिरोमणि लेखनाथ पौड्याल, आदिकवि भानुभक्त आचार्य लगायतको जन्मस्थल पनि भएको कुरा उनले उल्लेख गरे । उनले पोखरास्थित क्षेत्रीय सङ्ग्रहालयलाई गण्डकी प्रदेश सङ्ग्रहालयको रुपमा विकास गरी संरक्षणको लागि १ करोड रुपैया विनियोजन गरिएको जानकारी दिए । मुख्यमन्त्रीले आफू मुख्यमन्त्री बनेयता पहिलोपटक यसरी पोखरेली स्रष्टालाई एकैथलोमा भेट्न पाएकोमा खुसी लागेको बताए ।

कृति समीक्षा गर्दै साहित्यकार असफल गौतमले नेपाली वाङ्मयिक क्षेत्रमा बी.बी. अनुरागीको छुट्टै पहिचान भएको उल्लेख गरे । उनले अनुरागीलाई बहुआयायिक व्यक्तित्वको रुपमा प्रष्ट्याए । कार्यक्रममा गजलकार अनुराग अधिकारीले स्रष्टाको परिचय गराए । जरो टुप्पो संरक्षण साहित्य समाजका सचिव मदन भण्डारीले अनुरागीको उज्ज्वल भविष्यको कामना गरे ।

स्रष्टा बी.बी. अनुरागीले पोखरा आफ्नो लागि सुरुआती कर्मभूमि भएको बताए । उनले आफूले बिताएको जीवनको सङ्घर्षका मोड मोडमा साथ सहयोग दिनेहरुप्रति कृतज्ञता प्रकट गर्दै आफ्नो पितालाई अल्पायुमा गुमाएको कुरा स्मरण गर्दै निकै भाव बिह्वल भए र सबैलाई स्तब्ध बनाए । ‘बाबा आरनको काम गर्नुहुन्थ्यो । फुर्सदमा म पनि सघाउँथें । बाबा बितेपछि पढाई छाडेर एकबर्ष बाबाका बिस्ट धानेर बसें । म अझैपनि दु:ख पर्दा आरने काम गरेर खान सक्छु’ उनले गर्वका साथ भने । ‘बाबाको महत्व नबुझ्ने त्यो अपरिपक्क उमेरमा मैले उहाँलाई गुमाएँ, त्यो पनि पढ्न पोखरा आ’को बेला पोखराको अस्पतालमा । त्यो बेला चिनेको कोही नाइँ । मलामी जाने  कोही थिएनन् । सँगै पढ्ने साथी गोविन्दा नेपालीले साथ दिएका थिए’ उनले ती कहालीलाग्दा विगत स्मरण गरे । आफ्नो साङ्गीतिक यात्रामा आफूले कहीं न कहीं पोखरालाई जोड्ने गरेको उनले उल्लेख गरे । बागलुङ भकुण्डेका अनुरागीले उच्च शिक्षाको क्रममा पृथ्वीनारायण क्याम्पस पढ्दा केहीवर्ष यहाँको सुन्दरताबीच कला फस्टाउने अवसर पाएका थिए ।
०५५ सालमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा ‘उडेर जून छुन्छु भन्थें’ बोलको गीतबाट बी. बी. एकाएक चर्चामा आएका हुन् । राजकुमार बगरको शब्दरचना र रामभक्त जोजिजूको गायन रहेको सो गीतमा उनले सङ्गीत भरेका थिए । कलाकारिताको क्रममा बिभिन्न परिचय स्थापित गर्न सफल उनले बी.बी. अनुरागी सङ्गीत सेवा समाजको प्रकाशनमा गीतसङ्ग्रह ‘तिम्रै झल्को’ बजारमा ल्याएका हुन् । सङ्ग्रहमा सुरुआतीका र नयाँ गरी १ सय २६ गीत समेटिएका छन् । थुप्रै एल्बम बजार ल्याइसकेका उनले डेढ दर्जन फिल्ममा सङ्गीत दिईसकेका छन् । यस्तै आधुनिक, लोकदोहोरी, पप, भजन लगायत विभिन्न विधामा उनको सङ्गीतकला उत्कृष्ट छ भने उनी दर्जनौं सम्मानबाट सम्मानित भईसकेका छन् । अन्तर्राष्ट्रिय गीत सङ्गीत मञ्च संयोजक नवराज बरालको अध्यक्षतामा भएको सो कार्यक्रम मञ्चका महासचिव समेत रहेका गीतकार सुमन श्रापितले संचालन गरेका थिए ।