- तुलसी गिरी ‘भावुक’गीतकार एवं कवि दिलिप योञ्जन तामाङद्वारा रचित दुई कृति गीति एल्बम ‘अनुराग’ र मुक्तकसङ्ग्रह ‘अविरल’ को एकैसाथ लोकार्पण भएको छ l केहीदिन अघि वरिष्ठ गीतकार किरण खरेलको प्रमुख आतिथ्यमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहवीच प्रमुख अतिथि गीतकार खरेल, वरिष्ठ सङ्गीतकार शक्ति बल्लभ, डा. रेनुका सोलु, साहित्यकार ठाकुर शर्मा, राम प्रसाद पन्त, सङ्गीतकार राजेश थापा लगायतले एल्बम र मुक्तकसङ्ग्रहको संयुक्त रुपमा लोकार्पण गरेका थिए l समारोहमा एल्बमको एउटा गीत ‘गोधूलीमा उनीलाई’ को भिडियो समेत प्रदर्शन गरिएको थियो l गम्भीर विष्टको निर्देशनमा तयार भएको यस भिडियोमा सृष्टि खड्का र गम्भीर विष्टले अभिनय गरेका छन् lयोञ्जनका यसअघि ‘मान्छेको भीडमा’ {कवितासङ्ग्रह – २०५०}, ‘आस्था खोजिरहेछु’ {कवितासङ्ग्रह -२०५८}, ‘गाउँ बेंसीमा फुलै फुल्यो’ {गीतसङ्ग्रह – २०७२} र ‘अमर’ {मुक्तकसङ्ग्रह – सन् २०१८} गरी ४ वटा साहित्यिक पुस्तक प्रकाशित भएका छन् भने ‘अविरल’ मुक्तकसङ्ग्रह उनको पाँचौं पुस्तक कृति हो l यसैगरी सर्जक योञ्जनले सन् १९९८ मा पहिलोपटक गीति एल्बम ‘अनुपम’ प्रकाशन गरेका थिए l त्यसपछि २००१ मा ‘अमूल्य’, २०१६ मा ‘अजम्बरी’ र २०१८ मा ‘आफ्नै छायाले’ प्रकाशन भएको थियो भने हालै प्रकाशित गीति एल्बम ‘अनुराग’ पनि उनको एकल रचनाको पाँचौं गीति एल्बम हो l भोजपुरको देउरालीमा जन्मिएका कवि / गीतकार दिलिप योञ्जन हाल अमेरिकाको टेक्सास बस्दै आएका छन् l
गीति एल्बम ‘अनुराग’ मा ‘गोधूलीमा उनीलाई भेट्दा’, ‘अधुरो माया वेदना बनी’ र ‘कहाँ पर्यो घर तिम्रो’ बोलका ३ वटा गीत सङ्ग्रह गरिएको छ l जसमा राजेश थापाको एकल सङ्गीत रहेको छ भने सन्तोष लामा, श्रेयशी चेम्जोङ लिम्बू र राजेशपायल राईले स्वर दिएका छन् l एल्बमको पहिलो गीत ‘गोधूलीमा उनीलाई भेट्दा’मा कुनै सुन्दरीलाई देखेर आकर्षणले मन तरङ्गित भएका भावहरु कुँदिएका छन् l गीतमा युवतीको सुन्दरताको वयान गरिएको छ भने जता गएपनि त्यही मोहनी रुपको प्रतिविम्व आँखा वरिपरि आईरहेका अनुभूतिहरुको शिल्प गीतका शब्दमा भेटिन्छ l यसैगरी एल्बमको दोस्रो गीत ‘अधुरो माया वेदना बनी’ वियोगान्त भावमा छ l नारी स्वरमा रहेको यस गीतले आफूबाट टाढिएको प्रेमीलाई भुल्न नसकेका पीडाहरु व्यक्त गरेको छ l आँखामा उसैको तस्बीर बसेको छ, फूल जस्तो माया काँढा भएर बिझेको छ अनि हिउँ जस्तो शीतल छाती दन्दनी बलेको छ l एल्बमको तेस्रो तथा अन्तिम गीत ‘कहाँ पर्यो घर तिम्रो’ मा अपरिचित सुन्दरीप्रतिको आकर्षणबाट मनमा उत्पन्न कौतुहलता पोखिएको छ l उसको बारेमा जान्ने जिज्ञासा जागेको छ, उसलाई बोलाउन मन लागेको छ, हेर्दाहेर्दै मन लट्ठ भएको छ l डान्सिङ् बिटको यो गीतले तुलनात्मक रुपमा अरु दुई गीत भन्दा बढी नै भिडियो खोजेको महसुस गर्न सकिन्छ l अहिलेको युट्युव ट्रेन्डलाई हेर्दा सङ्गीत र समयको माग अनुसार यदि यो गीतको भिडियो बन्ने हो भने यसले ट्रेण्डिङको उचाई नचुम्ला भन्न सकिन्न l समग्रमा भन्नुपर्दा थोरै गीत भएपनि शव्दशिल्प, सङ्गीत र स्वरको सुन्दर सम्मिलनले एल्बम गहकिलो बनेको छ l ३ गीत मध्ये ‘गोधूलीमा उनीलाई’ को भिडियो समेत युट्युबमा हेर्न सकिन्छ l
यसैगरी विमोचित मुक्तकसङ्ग्रह ‘अविरल’ मा विविध विषय र भावका २ सय ६९ वटा मुक्तक सङ्ग्रह गरिएका छन् l जसमा प्रकृति प्रेम, धर्मको मर्म, देशभक्ति, परम्परा र संस्कृतिको माया, प्रेमको महिमा, भ्रष्टाचार विरुद्धका असन्तुष्टि एवं उर्जाशील र कर्मशील भावनाहरु छरिएका छन् l यो मुक्तकसङ्ग्रह पढिसकेपछि समग्रमा दिलिप योञ्जनलाई पढ्न सकिन्छ l आक्रोश, असन्तुष्टी, छट्पटी र पीडाभित्र सकारात्मक सन्देश बोकेका पुस्तकभित्रका मुक्तक समय सापेक्ष, सान्दर्भिक र यथार्थपरक छन् l