‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’ डा. लम्साललाई र ‘चलचित्र पत्रकारिता पुरस्कार’ पराजुलीलाई प्रदान गरियो

चलचित्र पत्रकार सङ्घ मकवानपुरले सङ्घ स्थापनाको दिन जेष्ठ ७ गते मनाउँदै आएको चलचित्र पत्रकारिता दिवसको अवसरमा यो वर्ष  ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट वरिष्ठ सञ्चारकर्मी/कवि डा. नवराज लम्साललाई सम्मान गरेको छ । २० औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा सङ्घ मकवानपुर शाखाको आयोजनामा हेटौँडामा भएको कार्यक्रमकाबीच लम्साललाई नगद रू. ११,१११/-  सहित सम्मान गरिएको हो । तीन दशकदेखि नेपाली कला,  साहित्य र चलचित्र क्षेत्रमा कलम चलाउनदै आएका डा. लम्साल हाल रेडियो नेपालमा कार्यरत छन् ।

सोही अवसरमा यो वर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार २०७६’ बाट मकवानपुरबाट नेपाल समाचारपत्रमा कलम चलाउदैं आएका पत्रकार रोशन पराजुलीलाई पुरस्कृत गरिएको छ । पराजुलीलाई नगद रू. ५ हजार राशी सहित पुरस्कृत गरिएको हो । हेटौंडाबाट वि.स. २०५२ सालदेखि कामना न्युज पब्लिकेशन प्रा.लि. द्वारा प्रकाशन हुँदै आएको नेपाल समाचारपत्रमा कलम चलाउँदै आएका पराजुली हेटौंडाबाट प्रकाशित हेटौंडा सन्देशमा पनि कार्यरत छन् । सङ्घले मकवानपुरबाट राष्ट्रिय स्तरमा कलाकारिता गर्दै आएका कलाकारलाई पनि सम्मान गर्ने गरेको छ । यसवर्ष द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गीलाई ‘चलचित्रकर्मी सम्मान २०७६’ बाट सम्मान गर्ने निर्णय गरिएको थियो । तर उनी पारिवारिक समस्याले कार्यक्रममा आउन असर्मथ रहे । उनलाई कुनै कार्यक्रमबीच सम्मान प्रदान गरिने सङ्घका अध्यक्ष मणिराज गौतमले बताए ।

सङ्घका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेस प्रदेश ३ का संसदीय दलका नेता तथा मकवानपुरका सभापति ईन्द्र बहादुर बानियाँ प्रमुख अतिथिका रुपमा उपस्थित थिए l कार्यक्रममा प्रदेश ३ का प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल, पूर्व महासचिव पोषण के.सी., न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासङ्घ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, चलचित्र पत्रकार सङ्घका केन्द्रीय पूर्व कोषाध्यक्ष निराजन भण्डारी, वानका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाई, पत्रकार महासङ्घका जिल्ला अध्यक्ष हरि हुमागाई, चलचित्र पत्रकार सङ्घ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी, निर्माण व्यवसायी तथा सङ्घका सल्लाहकार आनन्दराम पराजुली, निर्माण व्यवसायी सङ्घका अध्यक्ष श्याम ढकाल, मकवानपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, कलाकार शोभिता सिम्खडा, मकवानपुरका कलाकार अमिर गौतम, सुशान्त कुमार श्रेष्ठ, उज्ज्वल शर्मा भण्डारी लगायत पत्रकार तथा चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।