नेपाली सङ्गीतका उज्ज्वल नक्षत्र

  • यादव कुमार भट्टराई -पाल्पा जिल्ला, निस्दी -५ मा पिता पूर्ण बहादुर गैरे र माता कल्पना गैरेको परिवारमा दोस्रो सन्तानको रुपमा जन्मिएका हुम गैरे लाखौँ स्रोता – दर्शकको मन अनि मुटुमा बस्न सफल गायक तथा सर्जक हुन् । नेपाली गीत सङ्गीतको बजारमा चर्चित, व्यावसायिक र लोकप्रिय सर्जकहरुको नाम लिनुपर्दा गैरेको नाम पनि अग्र पङ्क्तिमा आउँछ । नेपाली सङ्गीत बजार डिजिटल मार्केटमा फड्को मार्नुअघि निकै थोरै मात्र व्यावसायिक गायक, गायिका अनि सर्जकहरु थिए  ।  त्यतिबेला गैरेको क्यासेट एल्बम दर्शक – स्रोताले खोजी खोजी किन्ने र सुन्ने गर्दथे । अजकाल उनलाई स्रोताले युटुबमा खोज्ने गर्दछन् । प्रविधिले गर्दा ब्यवसायको प्रकृति फेरिए पनि उनको लोकप्रियता भने कायमै छ ।

परिवारको एकमात्र छोरोको रुपमा जन्मिएका कारण स्वाभाविकै उनमा परिवारिक जिम्मेवारी पनि उत्तिकै थियो । तरपनि हरेक कुरालाई सरल, सहज र सकारात्मक रुपमा लिने स्वभावका हुमले आफ्ना जिम्मेवारीहरु ईमान्दारीताका साथ पूरा गर्दे गए । त्यति बेलाको समय अहिलेको जस्तो कहाँ थियो र ! व्यावसायिक रुपमा गीत गाउँछु, कलाकार बन्छु भन्ने कुरा कल्पना भन्दा नि बाहिरको  थियो । ‘सुरुआती दिनमा परिवारको सपोर्ट खासै नभएपनि मगर समुदाय र गाउँले परिवेशमा हुर्केका कारण लुकिछिपी रोधीमा गीत गाउँदै, बिस्तारै साङ्गीतिक बाटो कोरेको हुँ’ आफ्नो सुरुआती दिन सम्झंदै हुम भन्छन् ।

त्योबेला गाउँघरमा रोधी बस्ने चलन निकै थियो । उनलाई रोधीमा गाउन निकै रहर लाग्थ्यो । तर बाबा आमाको चाहना छोराले धैरे पढोस् र सरकारी जागीर खाओस् भन्ने थियो । त्यसैले पनि उनी खुलेर गीत गाउन पाउँदैन थिए । घरको झ्यालबाट भागेर लुकिछिपी मगर गाउँमा रोधी बस्न पुग्थे उनी । गाउँका हरेक बिहे, भोज, पास्नी, पूजाआजा अनि मेलामा लुकिछिपी गीत गाउन हुम नपुगेको ठाउँ कमै हुन्थ्यो । उनी सम्झिन्छन्,  ‘स्कूल पढ्दा राती होमवर्क गर्न छाडी सुटुक्क घरको झ्यालबाट भागेर रोधी बस्न जाँदा धेरैपटक आमाको कुटाई पनि खाएँ ।’

बिद्यालयको साप्ताहिक कार्यक्रम र गाउँका क्लवको बार्षिक उत्सवहरुबाट औपचारिक गायन यात्रा आरम्भ गरेका गैरेले पहिलोपटक २०६० सालमा ‘सिसा फ्रेममा’ बोलको गीत रेकर्ड गरेका थिए । शर्मिला गुरुङ र कृष्ण परियारसँग गाएको त्यो पहिलो गीतले नै उनलाई पश्चिम क्षेत्रमा एउटा आशालाग्दो गायकको पहिचान दिलाएको थियो । त्यसपछि रेकर्ड भएका हरेक गीत चर्चित हुँदै गएपछि एकातिर उनका फ्यान बढ्दै गए भने अर्कोतिर उनी छोटो समयमै सङ्गीत क्षेत्रमा स्थापित भए । २०५९ सालदेखि २०६४ सालसम्म गैरे स्थानीय स्तरदेखि राष्ट्रिय स्तर सम्मका दर्जनौ दोहोरी गीत प्रतियोगिताहरुमा सहभागी हुँदै धेरै प्रतियोगितामा बिजेता बने  । त्यो बेला अहिलेका स्थापित गायिकाहरु विष्णु माझी, देवी घर्ती, ज्योति मगर, कलिका रोका लगायतहरुसँग प्रतियोगितमा भिडेका गायक हुन् हुम गैरे । २०६४ सालपछि उनको सङ्गीत यात्राले अर्को मोड लियो । संचारकर्मीका रुपमा समेत सक्रिय रहेका हुम एकै समयमा गायन सँगसँगै शब्दरचना र भाका सिर्जनामा पनि लागे । वियोगान्त गीत रचना गर्न, लेख्न र गाउन रुचाउने गैरेका मौलिक गीत पञ्चेबाजा, सालैजो, कडुवा, रोईला (खेली) साथै तीज गीतहरु पनी चर्चित छन् ।

अहिलेसम्म करिव ७ सयभन्दा धेरै गीतमा शब्दरचना तथा भाका सिर्जना गरिसकेको र करिव १ हजार भन्दा धेरै गीतमा स्वर दिईसकेको कुरा हुमले बताएका छन् । लामो समयदेखि चर्चाको एउटै उचाईमा रहन सफल गायक तथा सर्जक हुमका लोकदोहोरीमा ‘घिटीघिटी बाँचिराको छु, करुवामा पानी, भेटौंला अवश्य, तिम्लाई सम्झी रुनु रैछ र, बोल्नै पर्दैन, सम्झना छ भन्देऊ, सोल्टीले मलाई आँखा मार्यो नि, जम्दार बाकी छोरी’ र पञ्चेबाजामा ‘नभन के गरम’, ‘दुलही रानी’ तीजगीत ‘झ्याम पुतली झ्याम, चर्चा धेरै भो, मलाई केटा चाहिएको पैसावाला हो, लाउरेकी छोरी’ लगायत दर्जनौ गीतहरु हिट लिष्टमा रहेका छन् । नेपाली गीत – सङ्गीत विशुद्ध मौलिक एवं परम्परागत हुनु पर्छ भन्ने मान्यता राख्ने गायक गैरे देश तथा विदेशका स्रोता – दर्शकका अतिरिक्त आफनो समुदायमा समेत लोकप्रिय छन् । गीत गाउनको लागि उनले स्वदेशका धैरेजसो जिल्लाका अतिरिक्त छिमेकी राष्ट्र भारतका बिभिन्न शहरहरुसँगै मलेसिया, दुबई, कतार, बहराईन लगायतका देशको भ्रमण गरिसकेका छन् ।

वरिष्ठ लोकगायक नारायण रायमाझीलाई साङ्गीतिक गुरु मान्ने गायक तथा सर्जक गैरे आफ्नो क्षेत्रका बिभिन्न सङ्घ संस्थामा समेत आवद्ध छन् । उनी हजारौं कलाकारहरुको छाता सङ्गठन ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ को  पाल्पा जिल्ला संस्थापक सदस्य, सचिव र अध्यक्ष हुँदै केन्द्रीय समितिको सदस्य समेत बनिसकेका छन् भने ‘सङ्गीत उत्पादक समाज नेपाल’ को संस्थापक सदस्य हुँदै अहिले माहासचिव पद सम्हाल्दै उत्पादकहरुको सङ्गीत रोयल्टी स्थापित गर्न अहोरात्र खटिरहेका छन् । सरल, शान्त र सहयोगी स्वभावका गायक गैरे ‘राप्ती अवार्ड, लोकदोहोरी अवार्ड, प्रथम लुम्विनी लोकदोहोरी अवार्ड, सङ्गीत नाट्य कला प्रज्ञा प्रतिष्ठान लुम्विनी नव प्रतिभा सम्मान, भगत सर्वजित स्मृति प्रतिभा सम्मान, प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जाल नेपाल लोक प्रतिभा सम्मान, सामुदायिक रेडियो मदनपोखरा लोक प्रतिभा सम्मान’ लगायतका अवार्ड तथा सम्मानहरुबाट सम्मानित भएका छन् ।

२०६८ सालमा विशाल मुभिज नामको म्युजिक कम्पनी स्थापना गरी सङ्गीत ब्यवसायतिर पनि हात हालेका गैरेले सो म्यूजिक कम्पनी मार्फत करिव पाँचसय भन्दा बढी गीतको अडियो र भिडियो उत्पादन तथा बजार ब्यवस्थापन गरिसकेको जानकारी गराएका  छन् । गायन र सिर्जनासँगै गैरे पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा समेत व्यस्त बन्दै आएका गैरेले हालसम्म सयौं गीतको भिडियो निर्देशन गरिसकेको कुरा पनि बताएका छन् । उनीद्वारा निर्देशित सामाजिक कथावस्तुमा आधारित दुई चलचित्र ‘सानु’ र ‘कर्म’ प्रदर्शनको तयारीमा रहेका छन् । नेपाली गीत – सङ्गीतको हरेक विधामा अब्बल मानिएका हुमलाई नेपाली सङ्गीत जगतका एक उज्ज्वल नक्षत्रका रुपमा हेर्न सकिन्छ ।