एपिक म्युजिक अवार्डमा प्रचण्ड प्रमुख अतिथि हुने

‘एपिक नेपाल म्युजिक प्रा. लि.’ को आयोजनामा भोलि माघ ४ गते सम्पन्न हुन गईरहेको प्रथम ‘एपिक नेपाल म्युजिक अवार्ड २०७५’ मा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथिका रुपमा उपस्थित हुने भएका छन् l अवार्ड ठमेलस्थित छाया सेन्टरमा दिउँसो १ बजेबाट आयोजना हुने भएको छ l आयोजक संस्थाका अध्यक्ष अमन श्रेष्ठले एक  सो कुरा जानकारी गराएका हुन् । समारोहमा लोक, आधुनिक, पप, लोकपप, तामाङसेलो, म्हेन्दोमाया, काँठे, देउडा, पूर्वेली र दशैँ तिहार लगायतका विधाका ६६ सर्जक, कलाकार र प्राविधिककरुले अवार्ड प्राप्त गर्ने छन् भने नेपाली सुगम सङ्गीतका धरोहर भक्तराज आचार्य र वरिष्ठ लोकगायक कुमार बस्नेतलाई जनही ११ हजार १ सय ११ नगद सहित लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने छ ।

 

यसैगरी समारोहमा विभिन्न संचार संस्थामा लामो समयदेखि क्रियाशील रहेका पत्रकारहरुलाई समेत ‘एपिक नेपाल कला पत्रकारिता पुरस्कार’ बाट सम्मान गरिने छ l जस अन्तर्गत  न्युज २४ का रवि लामिछाने, रेडियो काठमाडौं एफएमका चन्द्रमणि गौतम, अन्नपूर्ण दैनिकका अनन्त वाग्ले, नयाँ पत्रिका दैनिकका लक्ष्मण सुवेदी, कान्तिपुर साप्ताहिकका कृष्ण भट्टाराई, डीस होमका बिकास लामिछाने, नेवा अनलाईनका विजयरत्न तुलाधर, सुन्दारादेवी सन्देश साप्ताहिकका किरण अधिकारी, एबिसी टेलिभिजनका विनोद बिक, टिभी टुडेका रमेश बस्नेत, मिलाप मासिककी गीता अधिकारी, म्युजिक खबरकी सविता पोखरेल, पावर न्युजका  कमला जोशी, म्युजिक डायरीका तुलसी गिरी ‘भावुक’, प्रकाश साप्ताहिकका दीपक पाण्डे र मिर्मिरे एफएमका राजु बोहरा सम्मानित हुने कुरा कार्यक्रम संयोजक राजेन्द्र पुरीले जानकारी गराएका छन् । समारोह डिस होमको रमाईलो टेलिभिजन च्यानल र टिभी टुडेबाट प्रत्यक्ष प्रसारण हुने भएको छ भने कार्यक्रम लोकप्रिय संचारकर्मी एवं सिनेकर्मी दिनेश डिसीले संचालन गर्ने छन् ।
प्राप्त जानकारी अनुसार पत्रकार सुमन बैरागी र म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ अवार्ड जुरीमा रहेका छन् l आयोजक कमिटीको अध्यक्षमा अमन श्रेष्ठ, उपाध्यक्षमा गौतम शेर्पा, सचिवमा गोकर्ण लामिछाने, सदस्यहरुमा ओम श्रेष्ठ, पुष्कर अर्याल. चिरन्जीवी ढकाल र रोशन पोखरेल रहेका छन् भने संयोजकको जिम्मेवारी राजेन्द्र पुरीले पूरा गर्ने छन् l