परोपकारी सर्जक

कवि, गीतकार एवं समाजसेवी घन बहादुर थापा मगरको शब्दरचना रहेको गीति एल्बम ‘नबिर्स’ औपचारिक रुपमा सार्वजनिक भएको छ l एल्बम ललितपुरस्थित बिएफबिएस रेडियो प्राङ्गणमा आयोजित एक समारोहमा विमोचन गरिएको थियो भने एल्बम विमोचन पश्चात गीतकार एवं कार्यक्रम संचालक तुलसी बस्नेतले लगभग २ घण्टा सम्बन्धित सर्जक र कलाकारहरुसँग लाइभ वार्ता गरेका थिए l कार्यक्रम एल्बमका सङ्गीतकार समेत रहेका वरिष्ठ सङ्गीतकार शक्ति बल्लभको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो l समारोहमा गीतकार घन बहादुर थापा मगर, गीतकारकी धर्मपत्नी कृष्णा थापा मगर, गीतकार सङ्घका अध्यक्ष चूडामणि देवकोटा, वरिष्ठ पत्रकार मनोहरि थापा, गायक आनन्द कार्की, गायिका सविना कार्की, सङ्गीतकार शिखर सन्तोष लगायतको उपस्थिति रहेको थियो l यसअघि ‘मायाको संसार, बस्ती र बयान’ शीर्षकका ३ गीति एल्बम प्रकाशन गरिसकेका घन बहादुरका ‘देशको माटोमा मेरो फूल, क्याक्मीको कोसेली र मेरो चिनो मेरो देश’ शीर्षकका ३ कवितासङ्ग्रह समेत प्रकाशित भईसकेका छन् l
‘नबिर्स’ गीति एल्बममा ‘नबिर्स गाउँलाई जन्मेको ठाउँलाई, त्यो झ्यालबाट हेरेपनि, चाहिंदैन धन सम्पत्ति, सपनीमा पनि देखेको, उकालो जाँदा त्यो चिसो पानी, वसन्तको फूल जस्तै र फुल्न त फुल्यो गुराँशै फुल्यो’ बोलका ७ वटा गीत रहेका छन् l जसमा शक्ति बल्लभ, शिखर सन्तोष, तारा प्रकाश लिम्बू, दीपक शर्मा, अर्जुन पोख्रेल र राजनराज शिवाकोटीका सङ्गीत तथा आनन्द कार्की, निखिता थापा, सविना कार्की र अन्जु पन्तका स्वर रहेका छन् l ४ वटा एकल र ३ वटा युगल स्वरका गीत रहेको यस एल्बममा एकल स्वरका सबै गीतमा आनन्द कार्कीले स्वर दिएका छन् भने युगल स्वरका गीतमा पनि अन्य गायिकाहरुसँग आनन्दलाई नै सुन्न सकिन्छ l विविध भाव भएका एल्बमका गीतमा कतै प्रेमसमर्पणहरु छाल्किएका छन् भने कतै आफ्नै गाउँघर र उकाली-ओराली अनि संस्कार र संस्कृतिका मायाहरू कुँदिएका छन् l गीतमा कतैपनि असन्तुष्टी, निराशा र पीडाहरु छैनन् l उमङ्ग र उल्लासमय मायाका छाल, सन्देश, जन्मभूमिप्रतिको प्रेम, स्वर्णिम सपना र चाहनाहरु उर्जाशील अनि सकारात्मक भएर गीतमा छरिएका छन् l सङ्गीत र गायकीले पनि समग्र रुपमा एल्बमलाई गुणस्तरीय कृति बनाएका छन् l
पिता गणेश बहादुर थापा मगर र माता गनिमाया थापा मगरको परिवारमा आज भन्दा ५४ वर्ष अगाडि जेठो सन्तानका रुपमा जन्मिएका सर्जक घन बहादुर लामो समय अघिदेखि युके बस्दै आएका छन् l ३ वटा कवितासङ्ग्रह र ४ वटा गीति एल्बम प्रकाशन गरिसकेका घन बहादुर सर्जकको रुपमा जति परिचित छन् त्यो भन्दा बढी निश्वार्थी समाजसेवीका रुपमा देश-विदेशमा उनको ख्याति छ l धन र मन दुबै भएका दुर्लभ मान्छेहरु मध्येका एक घन बहादुरले व्यक्तिगत रुपमै आफू जन्मेको ठाउँमा पक्कै पुल र विद्यालय भवन निर्माण, खानेपानी आयोजनामा आवश्यक सामग्री खरीद, पुस्तकालयका लागि पुस्तक हस्तान्तरण, स्कूलको शैक्षिक स्तरोन्नतिका लागि थप भवन निर्माण लगायत कर्मथलो युकेमा समेत धेरै सामाजिक कार्य गरेका छन् l
-तुलसी गिरी ‘भावुक’