विगत १ दशकदेखि गीत-सँगीतलाई माया गर्दै आएका गीतकार डिल्ली चन्द अहिले पनि उत्तिनै मीठा र मर्मस्पर्शी गीत लेखिरहेका छन् । कोहलपुर नगरपालिका – ५, बाँकेमा जन्मिएका उनी हाल मरुभूमिको अमेरिकन एम्बेसी अफगानिस्थानमा कार्यरत छन् । आफ्नो परिवारदेखि टाढा रहँदा दु:ख बिसाउने साथी नै यही संगीत भएको उनले बताए l ‘भाषा, संस्कृति र चालचलन केहीपनि नमिल्ने विरानो ठाउँमा खुशी साट्ने र मनको भारी बिसाउने चौतारी नै गीत-संगीत हो’ उनी भन्छन् l पहिलोपटक विरही कार्कीको संगीत र स्वरूपराज आचार्यको स्वरमा ‘म त चोखो माया गर्छु’ बोलको गीत रेकर्ड गरी संगीत क्षेत्रमा औपचारिक यात्रा सुरु गरेका गीतकार डिल्लीका त्यसपछि ‘बाध्यताले टाढा हुँदा, भुल भए माफ गर, म तिम्रो मनको मझेरीमा, एक दुई तीन चार, तिमी बाहेक जिन्दगीमा’ लगायतका गीत रेकर्ड भईसकेका छन् l कर्मभूमि मरुभूमिको देश भएपनि उनका गीति सिर्जनाहरु फूलझैं फक्रेका र सुगन्धित हुने गरेका छन् l