पहिलो नेपाली महिला एरेन्जर

गायिका दुर्गा साउद यतिबेला पहिलो नेपाली महिला म्युजिक एरेन्जरको रुपमा चर्चामा रहेकी छिन् l ०६३ सालमै नवराज बरालको सङ्गीतमा ‘नेपाल आमा’ बोलको राष्ट्रिय गीत रेकर्ड गरेर गायन यात्रा आरम्भ गरेकी दुर्गा ०६४ सालदेखि भने गायनमा सक्रिय भएर लागेकी थिईन् l पहिलो महिला म्युजिक एरेन्जरको सन्दर्भमा जिज्ञाशा राख्दा उनी भन्छिन्-‘म भन्दा पहिला पनि नेपाली महिला म्युजिक एरेन्जर भएको कुरा कतैकतै सुनेकी छु तर पुष्टि भने भएको छैन l

मलाई पहिलो एरेन्जर हुँ भनेर घमण्ड गर्नु छैन l पहिलो भएपनि ठिकै छ नभएपनि ठिकै छ l तर हाम्रो सङ्गीत क्षेत्रमा महिला एरेन्जर व्यवसायिक रुपमा अगाडि आउन भने सकेका छैनन् l म त्यही प्रयासमा छु l’ दुर्गाले लगभग डेढ महिनाको अवधिमा १५ वटा गीतको एरेन्ज गरिसकेको जानकारी गराएकी छिन् l

भोला प्रसाद राई, नवराज वराल र मनोजराजसँग शाश्त्रीय सङ्गीत सिकेकी दुर्गाले हालसम्म ‘हाईहाई मङ्गले’ र ‘लुकेको आँशु’ शीर्षकका दुई सोलो एल्बम प्रकाशन गरिसकेकी छिन् भने पप, लोक, फिल्मी, आधुनिक, मैथिली, भोजपुरी आदि शैलीका गरी लगभग २ सय ५० गीतमा स्वर दिईसकेको बताएकी छिन् l ‘मेरो स्वरमा फाष्ट टाइपका गीत बढी ‘शुट’ गर्छ र मलाई पनि यस्तै प्रकारका गीत गाउँन सहज लाग्छ’ दुर्गा भन्छिन् l दुर्गाले १५ वटा चलचित्र गीतमा स्वर दिएकी छिन् l

एरेन्जका विषयमा दुर्गा भन्छिन्-‘मैले योगेन गोर्खाली भाइबाट केही सैद्धान्तिक कुरा सिकें भने धेरै कुरा युट्युब हेरेर अभ्यास गरेकी हुँ l पहिलोपटक आफ्नै शब्द सङ्गीतको पूर्वेली लोकगीत ‘ट्याम्के डाँडैमा, घुम्नलाई जाउँ कान्छी राख्छु आडैमा’ लाई एरेन्ज गरें l राम्रो भएपछि मैले पनि गर्न सक्ने रैछु भनेर आत्मविश्वास बढ्यो l त्यसपछि अरुका गीत पनि गर्न थालें l’