भारतको उडिसामा निर्माण हुने उडिया भाषाका चलचित्रकी लोकप्रिय गायिका दीपशिखा मिश्र पछिल्लो एक दशकदेखि नेपालमा रहेर नेपाली गीत–सङ्गीतमै सक्रिय छिन् । झण्डै एकदर्जन नेपाली गीत गाईसकेकी यी गायिका भरखरै मात्र एउटा नयाँ आधुनिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । दीपशिखाको स्वरको ‘खुशी हुँदा… ‘ गीतको म्युजिक भिडियो यसैसाता सार्वजनिक भएको हो ।
विशाल भण्डारीद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा केकी अधिकारी तथा जीवन भट्टराईको रोमान्टिक जोडीलाई चित्रण गरिएको छ । प्रसिद्ध सङ्गीतकार हरि लम्सालद्वारा सङ्गीतवद्ध उक्त गीतका शब्दहरु विद्या अनामिका तिवारीले रचना गरेकी हुन् । सचिन सिंहले गीतमा सङ्गीत संयोजन गरेका छन् ।
अर्जुन अधिकारी तथा उनको समूहले छायांकन गरेको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । हाईलाइटस् नेपालको यूट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो ।
लामो समयदेखि वीरगञ्जमा बसोबास गर्दै आइरहेकी गायिका मिश्रले गायन कलालाई निरन्तरता दिनुपर्छ भन्ने सोचले नेपाली गीत गाउन थालेको बताएकी छिन् । ६ वर्षको उमेरमै पहिलोपटक अल इन्डिया रेडियोमा भक्ति सङ्गीतमा आधारित गीत रेकर्ड गराएकी गायिका मिश्रले त्यसयता नेपाली, हिन्दी, उडिसा, बङ्ला तथा संस्कृत भाषाका गरी झण्डै एकसय भन्दा बढी गीत रेकर्ड गराईसकेकी छिन्