ईटहरी/ नेपालको परिवेशमा हेर्ने हो भने पछिल्लो समय फिल्म निर्माणदेखि लिएर सर्टमुभी, वेब सिरिज र टेलिफिल्म निर्माण गर्ने जस्ता कामहरुमा युवा पुस्ताको लगाव निकै बढिरहेको छ । यस्तै युट्युबले दिएको विश्वव्यापी ‘प्लेटफर्म’ ले त झन् गुणस्तरीय भिडियो निर्माणमा युवा पुस्तालाई जाँगरिलो बनाएको देखिन्छ । यस्तै जोशिलो युवा पुस्तालाई मध्यनजर गरेर काठमाण्डौमा स्थापना भएको ‘कान्तिपुर फिल्म एकेडेमी’ ले पूर्वको ईटहरीमा पनि फिल्म मेकिङ्ग सम्बन्धी कार्यशाला चलाउने भएको छ ।
पहिलोपटक ईटहरीमा हुन लागेको यो कार्यशाला आउँदो भाद्र ३ गतेबाट संचालन हुने भएको छ । ‘चलचित्र निर्माण सम्बन्धी शिक्षा दिने, सिनेमा साक्षरता बढाउने र नयाँ जागरुक फिल्म मेकर तथा स्टोरी राईटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले यो वर्कशपको आयोजना गरिएको एकेडेमीका संचालक प्रकाश पुरीले जानकारी गराए । बिर्तामोडमा गत श्रावण २७ गतेदेखि सुरु भएको एकहप्ते कार्यशाला भाद्र १ गते सकेर ३ गतेदेखि ८ गते सम्म ईटहरीमा संचालन गर्न लागिएको हो ।
वर्कशप फिल्म निर्माण सम्वन्धी व्यवहारिक बिषयलाई विशेष ध्यानमा राखेर संचालन गरिने बताईएको छ भने यसका लागि काठमाडौबाटै दक्ष प्रशिक्षक र अत्याधुनिक क्यामेरा एवम् अन्य प्राविधिक सामग्रीहरू ल्याईने छ । चलचित्र तथा भिडियो निर्माणमा चासो राख्ने जो कोहीको लागि पनि यो वर्कशप निकै फलदायी हुने बताईएको छ । प्राप्त जानकारी अनुसार वर्कशप ईटहरीको आईतबारे लाइनमा रहेको दुर्गा पार्टी प्यालेसमा संचालन हुने छ । वर्कशपको सफलताका लागि व्यवस्थापनको काम स्थानीय ‘डीथ्री अनलाइन’ ले गरिरहेको छ ।