कलाकारिता क्षेत्रमा झोटन मेहताको यात्रा

कलाकारिता क्षेत्रले के युवा, के वयष्क, के प्रौढ सबैको मन खिचेको छ । पछिल्लो समयमा कलाकारिताबाट आफ्नो प्रतिभा, क्षमता प्रस्फुटन गर्नेदेखि लिएर कलाकारिताबाटै आफ्नो करियरको समेत सम्भावना प्रवल बन्दै गएको छ ।

आफ्नो जागीरे जीवनबाट बचेको समयलाई सदुपयोग गर्दै रचना, संगीत र अभियन क्षेत्रमा क्रियाशील यस्तै व्यक्तिमध्येका एक हुन्– झोटन मेहता -कसुहवा) ।

इनरुवा नगरपालिका वडा नं ५ -तत्कालीन बबिया–२, सुनसरी) मा वि.सं. २०३२ सालमा पिता परमानन्द मेहता र माता सुनरवती मेहताका सुपुत्रका रुपमा जन्मिएका झोटन सानैदेखि खेलकुदमा रुचि राख्दथे । खेलकुदकै माध्यमबाट कक्षा ९ मा पढ्दापढ्दै उनले नेपाल प्रहरीमा आवेदन फर्म भरे, उनको नाम निस्कियो । उनी भन्छन् –‘म हलो जोत्दै पढ्दै गर्दै थिएँ, पुलिसमा आवेदन दिएँ, नाम निस्कियो। हलो जोत्न छाडेर पुलिसमा प्रवेश गरेको हुँ ।’ प्रहरी जवानबाट आफ्नो राष्ट्र सेवाको काम सुभारम्भ गरेका मेहता हाल प्रहरी सहायक निरीक्षकका रुपमा नारायहिटी गुल्मअन्तर्गत कार्यरत छन् ।

आफू सामान्य किसान परिवारबाट आएको बताउने झोटन खेलकुदका माध्यमबाट नेपाली प्रहरी सेवामा कार्यरत रहने अवसर जुरेको खुशी व्यक्त गर्दछन् । उनी विगत सम्झँदै भन्छन् –‘ मेरो खेलकुदका गुरु बसिर अन्सरी हुनुहुन्छ, उहाँकै कारणले गर्दा म यहाँसम्म आइपुगेको हुँ । ’ झोटनले वलाहा–९ अवस्थित शारदा माविमा कक्षा ५ सम्म अध्ययन गरेका हुन् भने वि.सं. २०५५ मा एसएलसी पास गरी प्लस टु सुनसरी बहुमुखी क्याम्पसबाट गरेको उनले बताए ।

झोटनले केही समय धरानको दिपेन्द्र बोर्डिङ स्कुलमा समेत काम गरे, सो अवधिमा पवित्रा मगरसँग मायाप्रेम बसेको र आफूले वि.स. २०५६ सालमा अन्तरजातीय विवाह गरेको बताउँछन् । उनका हाल दुई छोराहरू प्रेमकुमार र देवकुमार मेहता रहेका छन् ।

सांगीतिक क्षेत्रमा प्रवेशका बारेमा उनीसँग प्रश्न सोध्दा उनी भन्छन्- ‘मेरो बुबा गाउँघरकै नामुद संगीतकार हुनुहुन्थ्यो, गाउँमा भजनकीर्तन गर्दै हिँड्दा म पनि सँगै जाने गर्दथेँ । कहिलेकाहीँ तबला बोक्ने गर्थे, कहिले हार्मोनियम बोक्थेँ । सांगीतिक घरायसी वातावरणकै कारण सानैदेखि संगीतमा रुचि थियो तर अवसर मिलेको थिएन ।’

‘ म आफ्नो ड्युटीको समय सकेपछि बचेको समयमा साहित्य, सिर्जना र अन्य कामहरू गर्ने गर्दछु । मेरो विचारमा संगीतले मानिसलाई जीवन जिउने शैली सिकाउँछ, आखिर मरेपछि लानु केही रहेनछ, कीर्ति र ऐस भन्ने चिज चाहिँ जीवनपर्यन्त पनि अमर बनाउँदो रहेछ भन्ने मेरो व्यक्तिगत बुझाइ छ’, झोटन भन्छन् । भावी योजनाका बारेमा सोध्दा उनी भन्छन् – ‘मैले अब फौजी जीवनमा नै आधारित म्युजिक भिडियो बनाउने तर्खरमा जुटेको छु, अहिले ।’

“जिम्मेवारी निभाउँदैछु नेपाल आमाको झल्झल याद आउँछ बाबाआमाको===” बोलको आफ्नै शब्द÷संगीतको गीतमा उनी भिडियो निर्माण गर्दैछन् । जुन गीतमा स्वर टंक बूढाथोकीको रहने छ । उनले दशैँ अगाडि यसको म्युजिक भिडियो स्रोतमाझ ल्याउने बताएका छन् ।

गीत लेखन, संगीत र अभियन, निर्देशन जस्ता विभिन्न क्षेत्रमा आफूलाई डो¥याउँदै अगाडि बढ्ने झोटन व्यक्तिलाई भन्दा पनि टिममा बसेर काम गर्न बढ्ता रुचाउँछन् । उनले क्षितिज पारि र असल श्रीमती टेलिसिरियल, ‘अब भेट हुन्न हाम्रो’ म्युजिक भिडियो निर्देशन गरेका छन् भने हाम्रो साझा नेपाल, जन्मदिने आमा म्युजिक भिडियो निर्माण गरिसकेका छन् । त्यसैगरी नेपाल प्रहरीद्वारा प्रस्तुत कार्यक्रम ‘प्रहरी अनुरोध’ मा पनि उनले अभिनय गरिसकेका छन् ।

त्यस्तै, उनले मैथली भाषाको म्युजिक भिडियो ‘हमरा अकेले मन नै लगै है’ मा पनि आफ्नो कुशलता प्रस्तुत गरिसकेका छन् । निकट भविष्यमा उनी चेलनामूलक सिरियल निर्माण गर्ने सोचमा छन् ।

अनावश्यक समय खेर फाल्नुभन्दा संगीत क्षेत्रमा समर्पित भएर आफ्नो सिर्जनालाई दर्शक-स्रोता सामु पु¥याउने उद्देश्य राखी अनवरत रुपमा उनी गीत-संगीत क्षेत्रमा लाग्ने सोचका साथ उनी अगाडि बढिरहेका छन्।

-मदनकृष्ण सिलवाल