अमेरिकामा मदनकृष्ण श्रेष्ठसँग अन्तरक्रिया गरिने

अमेरिकाको डिसी महानगर क्षेत्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँग गरिने विशेष अन्तरक्रिया कार्यक्रमको प्रस्तुतिकरण पत्रकार प्रेम बानिया तथा वरिष्ठ लोकगायक तथा अवैतनिक महा बाणिज्यदुत प्रेमराजा महतले गर्ने भएका छन् ।

आगामी अगष्ट ४ का दिन हुने अन्तरक्रिया कार्यक्रमका लागि सामाजिक सँस्था नेपा पास पुचः अमेरिकाये (एनपीपीए ) ले चाँजोपाँजो मिलाईरहेको छ भने आधा भन्दा ज्यादा टिकट बिक्री भईसकेको थाहा भएको छ ।

कार्यक्रमको लागि नेपालबाट मदनकृष्ण श्रेष्ठ अमेरिका आईपुगेका छन् भने उनी कार्यक्रम सकिए लगत्तै अगस्त ७ मा नेपाल फर्कने छन् । यसैगरी पत्रकार प्रेम बानिया अमेरिका आएपछि यसरी नेपाली समुदायबीच सार्वजनिक कार्यक्रममा सम्भवत: पहिलोपटक देखिने भएका हुन् ।

कलाकर मदनकृष्ण श्रेष्ठले पत्रकार बानियालाई नेपालदेखि नै चिनेको र कार्यक्रम प्रस्तुतिको लागि पत्रकार बानियाको नाम सिफारिस समेत गरेकोले बानियाले अन्तरक्रिया कार्यक्रममा भाग लिने र प्रस्तुति गर्ने पक्का भएको जानकारी संस्थाका अध्यक्ष राजु जोशीले दिएका छन् ।

यसैगरी वरिष्ठ लोक गायक प्रेमराजा महतले पनि उक्त कार्यक्रममा आफ्नो गायन प्रस्तुति दिने छन् । आयोजकले जनाए अनुसार बानिया तथा महतले कार्यक्रम संचालन गर्ने नभई विशेष अन्तरक्रिया कार्यक्रमको प्रस्तोता एबं सहजकर्ताको रुपमा भूमिका निर्वाह गर्ने छन् ।

उक्त कार्यक्रममा कलाकार श्रेष्ठसँग जीवनका कुराहरु, महको ‘म’ पुस्तक, गायन क्षेत्र, कलाकारिता क्षेत्र आदि विषयमा वरिष्ठ लोकगायक प्रेमराजा महत तथा पत्रकार प्रेम बानियाले जिज्ञाशा राख्ने छन् । साथै दर्शकहरुले समेत जिज्ञाशा राख्न सक्ने छन् । वरिष्ठ लोकगायक महतले उहाँ जस्तो महान कलाकारसँग आफूले केही कुराहरु राख्न पाउनु अहोभाग्य हो भन्दै सबैलाई यो मौका नगुमाउन समेत अनुरोध गरेका छन् भने पत्रकार प्रेम बानियाले पनि मदनकृष्ण श्रेष्ठ जस्ता वरिष्ठ कलाकारसँग भेट हुन पाउनु र त्यस्तो गरिमामय कार्यक्रममा प्रस्तुति दिन पाउनु गर्वको विषय भएको बताएका छन् ।

उक्त कार्यक्रममा कलाकार श्रेष्ठसँग प्रत्यक्ष रुपमा भेटघाट गर्न, अन्तरक्रियामा सहभागी हुन, जिज्ञाशा राख्न, उनका जीवनका कुरा सुन्न, उनको आत्मकथा ‘महको म’ पुस्तक बारेमा चर्चा सुन्न साथै गीत समेत सुन्न पाइने भएकोले डिसीवासीहरु उत्साहित भएका छन् ।

अन्तरक्रिया कार्यक्रम मेरिल्याण्ड राज्यको जर्मन टाउन शहरमा हुने छ । सीमित सिट(स्थान) भएकोले चाँडो भन्दा चाँडो टिकट लिन सबैलाई अनुरोध गरिएको छ । अन्तरक्रिया कार्यक्रम सहित रात्री भोजनको लागि $ ६० डलर तथा संस्थाका संरक्षक तथा आजीवन सदस्यरुलाई $ ५५ डलर दर्ता शुल्क तोकिएको छ ।

कार्यक्रममा संकलन भएको मध्ये केही रकम क्यान्सर सोसाइटी तथा नेपालका विद्यार्थीहरुका लागि छात्रवृत्तिमा सहयोग गरिने जानकारी संस्थाका अध्यक्ष राजु जोशीले दिएका छन् ।

-विजय थापा, डिसी