पैसाका डिजाइनर श्रेष्ठ सम्मानित

वरिष्ठ डिजाइनर सुन्दर श्रेष्ठले डिजाइन गरेका कागजका ३ वटा नोट र एउटा सिक्का एक अन्तर्राष्ट्रिय सर्वेक्षणमा विश्वकै सुन्दर पैसामा छनोट भएपछि अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको गौरव बढाउने काम गरेको भन्दै माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डिजाइनर श्रेष्ठलाई सम्मान गरेका छन् l केही हप्ता अघि आयोजित चलचित्र ‘कान्छी’ को ‘स्पेशल शो’ का अवसरमा अध्यक्ष दाहालले डिजाइनर श्रेष्ठलाई सम्मान गरेका हुन् l विश्व सर्वेक्षणको नतिजा  वेलायतको प्रसिद्ध पत्रिका ‘टेलिग्राफ’ मा प्रकाशित भएपछि यो खबरले चर्चा पाएको थियो l प्राप्त जानकारी अनुसार हलो जोतेको २ रुपैयाको सिक्का, १ रुपैया, ५ रुपैया र ५ सय रुपैयाका कागजका तीन नेपाली नोट उक्त सर्वेक्षणमा विश्वकै सुन्दर पैसामा परेका थिए l नेपाली पैसा विश्व सर्वेक्षणमा उत्कृष्ठ ठहरिएको यो पहिलो पटक हो l
०३६ सालमा आर्टिष्ट पदबाट राष्ट्र बैंकमा सेवा सुरु गरेका सुन्दर श्रेष्ठले ०६६ मा आर्टिष्ट सुपरभाइजरबाट अवकाश लिएका थिए भने हाल चलन चल्तीमा रहेका सबै कागजी नोट र सिक्काको डिजाइन उनैले गरेका हुन् l राजा वीरेन्द्रको गद्दी आरोहण रजतवर्षको अवसरमा ०५६ सालमा पहिलोपटक रु. २५ र २५० का नोटको डिजाइन गरेका श्रेष्ठले राष्ट्र बैंकको ०६० औं स्वर्ण जयन्ति तथा राजा ज्ञानेन्द्रको गद्दी आरोहणका अवसरमा डाँफेको जोडी र ज्ञानेन्द्रको तस्बीर भएको नोट डिजाइन गरे बापत गोरखा दक्षिणबाहु चौथो समेत पाएका थिए l ०४१ सालमा ‘आइडियल डिजाइनर्स’ नामक डिजाइन हाउसको स्थापना गरी चलचित्र एबं गीति एल्बम-सिडी आदिका पोष्टर, स्टिकर, कभर लगायतका डिजाइनमा सक्रिय रहँदै आएका श्रेष्ठ नेपालकै अग्रज र चलचित्रका प्रचार सामग्री सर्वाधिक डिजाइन गर्ने सर्जक हुन् l उनले पहिलोपटक ०४३ सालमा ‘सन्तान’ नामक चलचित्रको पोष्टर डिजाइन गरेका थिए l कुशल गीतकारका रुपमा समेत पहिचान स्थापित गरेका श्रेष्ठले राष्ट्रिय स्तरका अवार्डका लागि थुप्रै ट्रफिहरुको समेत डिजाइन गरेका छन् l पेन्सिल स्केच र चित्रकारितामा समेत आश्चर्यलाग्दो कला भएका सुन्दर श्रेष्ठ एक बहु आयामिक सर्जक हुन् l संसारकै सुन्दर नोट र सिक्का डिजाइन गरी नेपालको गौरव बढाएको भन्दै राष्ट्र बैंकले समेत हालै ६३ औं बार्षिकोत्सवका अवसरमा उनलाई प्रसंशापत्रद्वारा सम्मान गरेको छ l