रोयल्टीमा पुनः अन्जुको अग्रता

प्रस्तोता समाज नेपालले हालै सम्पन्न गरेको रोयल्टी वितरण कार्यक्रममा विगतमा झैं गायिका अन्जु पन्तको अग्रता कायम नै रहेको देखिएको छ l न्युनतम रु. पाँचसय सम्म रोयल्टी प्राप्त गर्ने ५१ जना गायक गायिकाहरुलाई रोयल्टी वितरण गरिएकोमा अन्जु पन्तले सर्वाधिक १ लाख २५ हजार ६ सय रुपैया रोयल्टी प्राप्त गरेकी छिन् भने १ लाख ९ हजार रुपैया रोयल्टी प्राप्त गरेर गायक प्रमोद खरेल अघिल्ला पटकहरुमा झैं दोस्रो नम्बरमा पर्न सफल भएका छन् l कार्यक्रम कमलादीस्थित सी डब्लु रेष्टुरेन्टमा आयोजना गरिएको थियो l जुलाई २०१७ देखि नोभेम्बर २०१७ सम्म ५ महिनामा एनसेलको पीआरबिटीबाट प्राप्त रोयल्टी वितरण गरिएको कुरा प्रस्तोता समाज नेपालले जानकारी गराएको छ l कार्यक्रममा राजनराज शिवाकोटी, कालीप्रसाद बासकोटा, तेजस रेग्मी, विष्णु माझी, देवी घर्ती, विन्दु परियार, रामचन्द्र काफ्ले, माधव भण्डारी, सन्तोष के. सी., दीपक बज्राचार्य, हेमन्त शिशिर, खुमन अधिकारी, भरत सिटौला, दीपक लिम्बू, रजिना रिमाल, दिपाश्री निरौला, कृष्ण काफ्ले, गङ्गा पुन, मिना निरौला, भानुभक्त ढकाल लगायतले रोयल्टी प्राप्त गरेका थिए l
समारोहमा वरिष्ठ गायक योगेश वैद्यलाई नगद २२ हजार २ सय २२ सहित सम्मान गरिएको थियो l रोयल्टी संकलन/वितरण गरेवापत कट्टी गरिएको सेवा शुल्कबाट केही रकम छुट्याएर गायक वैद्यलाई सम्मान गरिएको कुरा समाजले जानकारी गराएको छ l यसैगरी कार्यक्रममा प्रतिलिपि अधिकार एबं समाजका गतिविधि बारेका समाचार सम्प्रेषण गरी चेतना अभिवृद्धिमा उल्लेख्य योगदान गरे बापत नयाँ पत्रिका दैनिकका पत्रकार कृष्ण कट्टेललाई पनि सम्मान गरिएको थियो भने कार्यसमितिका एकजना सदस्य देश बाहिर गएकोले रिक्त पदमा सर्वसम्मतिबाट गायिका जुनु रिजाल काफ्लेलाई मनोनयन गरिएको थियो l समारोहमा अग्रज गायक/सङ्गीतकार प्रेमध्वज प्रधान, जे.बि. टुहुरे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरतमणि सुवेदी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार राजेन्द्र सिग्देल, तिनवटै सीएमओका अध्यक्ष लगायत सङ्गीत क्षेत्रका अन्य संघ-संस्थाका अध्यक्ष, पदाधिकारी, कर्मचारी, पत्रकार एबं सर्जक-कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो l