नयाँ भिडियोमा महेश

लामो समयदेखि यूरोपलाई कर्मभूमि बनाईरहेका गायक महेश भण्डारी नयाँ ‘सेन्टिमेन्टल’ गीतको स्टुडियो भिडियो लिएर पुनः सङ्गीत बजारमा आएका छन् l ‘हर चिज बदलिरहेछ, म कहाँ यस्तै रहुँला’ बोलको उनको सो नयाँ गीतको शब्द डा. कृष्णहरि बरालले रचना गरेका हुन् भने सङ्गीत सुरेश गैरेको रहेको छ l आमोश तामांगको सङ्गीत संयोजन र कृष्ण महर्जनको मिक्सिंग/माष्टरिंग रहेको सो गीतको भिडियो हालै ‘एभी नेपाल’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो l
लगभग १६ बर्ष अघि संजोग ढकालको शब्द र सरोज लामाको सङ्गीतमा पहिलोपटक ‘क्षितिजपारि झरी पर्दा’ बोलको गित रेकर्ड गरी गायन यात्रा आरम्भ गरेका महेशले ०५७ सालमा रेडियो नेपालबाट पनि स्वर परीक्षा उत्तीर्ण गरेका थिए l संघर्षको प्रारम्भिक चरणमा सिनेमाका गीतमा कोरस गायन गर्दै हिंडेका महेशले लगभग एकसय नेपाली चलचित्रमा कोरस गाएका छन् भने उनका स्वरमा हालसम्म १ दर्जनजति गीत रेकर्ड भईसकेका छन् l नेपाल, चीन, डेनमार्क र युएसएमा आयोजित विभिन्न सlङ्गीतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिईसकेका महेशले प्रख्यात म्युजिकल ब्याण्ड ‘सुर सुधा’ का धेरै कार्यक्रमहरुमा पनि गीत गाएका छन् l लगभग ५ वर्ष सम्म साधना कला केन्द्रमा सङ्गीत सिकेका गायक भण्डारीले सांस्कृतिक संस्थानबाट पनि संगीतको ट्रेनिंग लिएका छन् l ०५४ सालमा म्युजिकल प्रोग्राममा चाइना टूर, सन् १९९७ मा ‘जी अन्ताक्षरी नेपाल’मा सहभागिता, आठौँ साफ गेममा गायन प्रस्तुति आदि उनका सांगीतिक जीवनका महत्वपूर्ण गटनाहरु हुन् l