जलजलालाई रकम हस्तान्तरण

बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका { UNAANA } द्वारा मृगौला पीडित जलजला परियारको सहयोगार्थ संकलित रकम ७२ हजार ७ सय ३७ रुपैया हस्तान्तरण गरिएको छ l संघका नेपाल संयोजक सङ्गीतकार सन्तोष श्रेष्ठको संयोजकत्वमा संचार संयोजक सुमन वैरागी, साउदी संयोजक गणेश चौलागाईं, गीता सिंह, अनुप सिंह र गीतकार डीआर समेतको टोलीले रकम हस्तान्तरण गरेको हो l रकम हस्तान्तरण कार्यक्रममा जलजला, उनका बुबा नारायण परियार र आमा जुना परियारको उपस्थिति रहेको थियो l केहीदिन अघि संघको केन्द्रीय समितिको बैठकबाट जलजलालाई सहयोग गर्ने निर्णय भएपछि रकम संकलन गरिएको कुरा केन्द्रीय अध्यक्ष कन्हैया सिंहले जानकारी गराएका छन् l
प्राप्त विवरण अनुसार कन्हैया सिंह, नारायण त्रिपाठी, दिनेश कार्की, राजु बजाज, वसिल अर्याल, हेमन्त हमाल, कला के. सी., अन्जना गुरुङ, राम कुमार सिंह, अर्जुन रुम्बा मोक्तान र लक्ष्मण पौडेलले जलजलाको लागि रकम सहयोग गरेका थिए l जलजला भारतमा सफलतापूर्वक मृगौला प्रत्यारोपण गरी हालै मात्र स्वदेश फर्किएकी छिन् भने उनलाई आफ्नै आमा जुनाले मृगौला दिएकी थिईन् l दुबै मृगौलाले काम नगरेको कुरा सार्वजनिक भएपछि जलजलाको उपचारका लागि देश-विदेशबाट रकम संकलन र हस्तान्तरण भएपनि के कति रकम प्राप्त भयो र कति खर्च भयो भन्ने कुरा उनको परिवारले हालसम्म सार्वजनिक गरेको छैन l