राजधानीमा पुनः थपियो नयाँ रेकर्डिङ स्टुडियो

पुराना सङ्गीतकर्मी चुभान काउछा मगर र भुवन सागर मगरले काठमाण्डौको बिजुलीबजारमा संयुक्त स्वामित्वको रेकर्दिंग स्टुडियो संचालनमा ल्याएका छन् l चुभान गुल्मीका हुन् भने भुवन रुकुमका l स्टुडियोमा रेकर्डिङको काम सर्जक/कलाकार चुभानकै छोरा विक्रम काउछा मगरले गर्दै आएका छन् भने मिक्सिंग कृष्ण पुनले सम्हालेका छन् l रेकर्दिंग सिक्नका लागि कृष्ण पुनलाई नै गुरू बनाएका विक्रम हाल उनै कृष्णसँग मिक्सिंग पनि सिकिरहेका छन् l

आफ्नै शब्द, लय र स्वरमा १० वर्ष अघि ‘तम्घासमाथि रेसुङ्गाको भीरैभीर, संधै मनमा पीर’ बोलको गीत रेकर्ड गरी सङ्गीतको औपचारिक यात्रा सुरु गरेका सर्जक/कलाकार चुभान विगतमा १० बर्षसम्म रक्तिम समूहमा समेत आवद्ध रहेका थिए l ९ बर्षको दुबई बसाईपछि पूर्ण रुपमा सङ्गीतमै समर्पित रहने उद्देश्यकासाथ स्वदेश फर्किएका चुभानको सो स्टुडियो गत बैशाख २० गतेबाट पूर्ण रुपमा संचालनमा आएको छ l ‘मैले ९ बर्षसम्म दुबईमा ट्याक्सी चलाएँ l काम राम्रै चलिरहेको थियो र कमाई पनि सन्तोषजनक थियो l तर आफ्नै देशमा बसेर सङ्गीत क्षेत्रमै केही गर्ने चाहनाले फर्केर आएँ’ चुभान मनका कुरा खोल्छन् l विगतमा टिका पुनसँग उनले गाएको रोईला ‘आउँने हो सोल्टिनी पाए सम्म माया लाउने हो’ , नेपालमा रेकर्ड भएर दुबईमा भिडियो बनेको सालैजो ‘तम्घासैमा मिनीबस छुट्यो’ र टिका पुनसँगै गाएको अर्को लोकदोहोरी ‘दाउन्नेको डाँडै काटेर’ सङ्गीत बजारमा उनका धेरै चलेका गीत हुन् l
चुभान काउछा मगर गीतका शब्द लय रचना गर्ने, गाउँने र म्युजिक भिडियोको निर्देशन समेत गर्ने गर्दछन् l सबै काममा उनको उत्तिकै लगाव र क्षमता रहेको छ l तरपनि उनी आफूलाई गायक भन्न नै बढी रुचाउँछन् l उनले हालसम्म लगभग ५ दर्जनभन्दा केही बढी गीतका शब्द रचना गरेका छन् भने लगभग त्यति नै गीतमा स्वर पनि दिएका छन् l २०० जति गीतमा लय सिर्जना गरेका चुभानले ७० को हाराहारीमा म्युजिक भिडियो निर्देशन गरेका छन् l जुन कामलाई उनी आगामी दिनमा पनि निरन्तरता दिने योजनामा छन् l

दुबईमा रहँदा त्यहाँ आयोजना हुने सांगीतिक कार्यक्रमहरुमा गीत गाईरहने चुभान दुबईको स्टुडियोमा गीत रेकर्ड गर्ने दोस्रो नेपाली पनि हुन् l ‘त्यहाँ एकजना भारतीयको स्टुडियो छ l पहिलोपटक रेखा घिमिरे नामकी गायिकाले रेकर्ड गराउनुभएको रैछ, दोस्रोमा मैले गराएँ l अहिले त त्यहाँ धेरै नेपालीको गीत रेकर्ड भईसकेको छ l’ उनी भन्छन् l विदेश नै भएपनि स्थापित भईसकेको कर्मभूमि र राम्रो कमाइको पेशा छाडेर सङ्गीतमै समर्पित रहने उद्देश्यका साथ स्वदेश फर्किएका चुभान काउछा मगर पूर्व अनुभव र अन्तर्निहित प्रतिभाका कारण सङ्गीत क्षेत्रमा पनि छिट्टै स्थापित हुने छन् भन्ने अनुमान गर्न सकिन्छ l