एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा नवौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न भएको छ l गत फागुन १७ गते सुरु भएको मेला २६ गते सम्पन्न भएको थियो l ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ १० दिनसम्म चलेको यो मेला नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने मूल उद्देश्यले आयोजा गरिएको कुरा कल्चरल ग्रुपकी महासचिव शितल आचार्यले बताएकी छिन् l यसपटकको मेलामा नेपाल लगायत इस्टोनिया, कोस्टारिका, इन्डोनेशिया, बंगलादेश, भारत, इजरायल, मलेशिया, टर्की, इटाली र ग्रीस गरी ११ राष्ट्रका ३ सयभन्दा बढी कलाकारले सहभागिता जनाएका थिए भने कार्यक्रम काठमाण्डौ लगायत ललितपुर, धादिंग, गैंडाकोट र पोखरामा आयोजना भएका थिए l लामो समयदेखि अन्तर्राष्ट्रिय मुलुकहरुसँग साँस्कृतिक आदानप्रदान गर्दै आएको यस कल्चरल ग्रुपले २-२ बर्षको अन्तरमा मेलाको आयोजना गर्दै आईरहेको कुरा मेलाका सह-संयोजक नारायण रायमाझीले जानकारी गराएका छन् l नेपालको साँस्कृतिक विविधतालाई विश्व सामु प्रस्तुत गरी नेपालको गरिमा बढाउनुका साथै पर्यटन प्रवर्धनमा समेत अद्वितीय भूमिका निर्वाह गरिरहेको निजी क्षेत्रको यस कल्चरल ग्रुपले नीतिगत रुपमा सरकारी आर्थिक सहयोग भने हालसम्म प्राप्त गरेको छैन l
