थारु समुदायका सान

गीत -सङ्गीतको क्षेत्रमा सङ्गीतकारका रुपमा स्थापित देव कुमार चौधरी स्कूल पढ्दैगर्दा ठिटो उमेरमै नृत्यको प्रशिक्षण दिन्थे भन्ने सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ l जन्मजात प्रतिभा भएका उनी त्यहीबेला बिना गुरुका गुरू भएका थिए l टेलिभिजन हेरेर स्वअभ्यास गरेकै भरमा उनले बिर्तामोड र इलामसम्म पुगेर त्यहाँका इन्स्टिच्युटमा समेत नृत्य सिकाएका थिए l कुनै समय थियो, जहाँ साँगीतिक कार्यक्रम हुन्थ्यो त्यहाँ देव कुमारको नृत्य अवस्य देख्न पाइन्थ्यो l धेरै नृत्य प्रतियोगिताहरुमा विजेता बनेका देव कुमारको ख्याति त्यो बेला पूर्वान्चलमै फैलिएको थियो l
देव कुमारको जन्म झापा जिल्लाको शिवगंज-४, लालझोडामा पिता महावीर प्रसाद चौधरी र माता मुनादेवी चौधरीको परिवारमा जेठो सुपुत्रको रुपमा भएको हो l नृत्य सँगसँगै गायनमा पनि उत्तिकै रुची र प्रतिभा भएका देवको विशेष खुवी र झुकाव भने नृत्यमा थियो l कलिलो उमेरमै पूर्वान्चलमा नाम कमाउन सफल देवले सन् १९९७ मा भारत, मुम्बैका प्रख्यात प्रशिक्षक जावेद जाफरीसँग १ वर्षसम्म नृत्य सिकेका थिए भने १९९८ मा मुम्बैमै आयोजित नृत्य प्रतियोगितामा उनी प्रथम भएका थिए l २०४८ सालमा काठमान्डौ प्रवेश गरेका देवले २०४९ देखि नै तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा नृत्य कलाकारको जागिर सुरु गरे l ‘जागिर नृत्य कलाकारको रुपमा भएपनि प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमहरुमा गायन र नाटकमा अभिनय समेत गर्नु पर्दथ्यो’ उनले विगतलाई सम्झिए l बहुचर्चित नाटक ‘मालती मंगले’ र ‘सहनशीला सुशिला’ मा अभिनय गरेका देवले सङ्गीत भने एकेडेमीमै शम्भुजीत बास्कोटा, दीप श्रेष्ठ र प्रकाश गुरुङसँग अनौपचारिक रुपमा सिकेको बताएका छन् l ‘त्यो बेला कार्यक्रमहरु धेरै हुन्थे, जानेसम्मका सबै काम गर्नुपर्थ्यो l कतिपटक गाइजात्रे कार्यक्रमहरुमा पनि अभिनय गरेको छु l मेरो स्वर मन परेर अग्रजहरुले मलाई गीत गाउँन पनि सिकाउनुभएको हो’ उनी भन्छन् l उनले केही चलचित्रमा कोरस नृत्य र केही टेलि चलचित्रमा अभिनय समेत गरेका छन् l
लामो समय चलचित्र गीतमा कोरस गायन गरेका देवले आफ्नै सङ्गीत/स्वरमा पहिलोपटक २०४९ सालमा ‘उकाली चढेर गईहाली’ बोलको गीत रेकर्ड गरेका थिए भने २०५० मा उनले राजबंशी भाषाको पहिलो चलचित्र ‘विधुतार लेखा’ मा नृत्य निर्देशन गरे l उनको पहिलो एल्बम भने ‘सुख दुःखका यादहरु’ हो l हालसम्म एकल सङ्गीत/स्वरका ७ वटा एल्बम प्रकाशन गरिसकेका देवले आधुनिक, लोक, पप र थारु भाषाका गरी ६ सय गीतमा सङ्गीत गरिसकेका छन् भने लगभग २ सय गीतमा स्वर दिएका छन् l देवले भर्खरै १८ देशका प्रतिनिधि सम्मिलित प्रथम अन्तर्राष्ट्रिय झापाली समाजको सम्मेलनमा पुराना गायकको रुपमा सम्मानपत्र पाएका छन् l इजरायलमा प्रथमपटक नेपाली गीत रेकर्ड गर्ने इतिहास बनाएका देवले त्यहाँ ‘मेरो माया’ नामको एल्बम समेत विमोचन गरेका थिए l इजरायली टेलिभिजनबाट गीत प्रसारण भएपछि उनलाई नेपाली कलाकारको रुपमा सरकारी स्तरबाट सम्मान पनि गरिएको थियो l उनी नेपालमा पनि विभिन्न सङ्घ-संस्थाहरुबाट पटक पटक सम्मानित भएका छन् l

थारु साँस्कृतिक सङ्गीत महासङ्घद्वारा २०५० सालमा सप्तरीमा आयोजित प्रथम अन्तर्राष्ट्रिय थारु नृत्य प्रतियोगितामा दोस्रो, २०५४ सालमा बिर्तामोडमा आयोजित जिल्लाव्यापी गायन तथा नृत्य प्रतियोगितामा प्रथम र सूर्योदय कला केन्द्रद्वारा २०५७ सालमा आयोजित अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा रचनातर्फ प्रथम भएका देवले विभिन्न स्थानमा निर्णायक तथा नृत्य गुरुका रुपमा काम गरेका छन् भने एकल नृत्य साँझहरुमा समेत प्रशिक्षण दिएका छन् l तर दुर्भाग्य ! एउटा दुर्घटनामा खुट्टा भाँच्चिएपछि डाक्टरको सल्लाह अनुसार उनले केही समय यता नृत्य विधालाई पूर्णविराम लाएका छन् l तथापि सङ्गीत सिर्जनालाई मुख्य कर्म बनाएर अगाडि बढिरहेका देव कुमारलाई थारु समुदायकै सानका रुपमा मूल्यांकन गर्न सकिन्छ l