१६ औं कृतिमा गीतकार अमर

कवि, गीतकार, नाटककार तथा उपन्यासकार सुरेन्द्र महर्जन ‘अमर’ को १६ औं कृति गीति एल्बम ‘अमर-२’ गत पुष ५ गते एक औपचारिक समारोहबीच सार्वजनिक भएको छ l एल्बम राष्ट्रिय नाचघर जमलमा डिजिटल मिडिया ओएस नेपालद्वारा आयोजीत कार्यक्रममा लोकार्पण भएको थियो l यसअघि कविता सङ्ग्रह, नेपाली तथा नेवारी भाषाका गीतसङ्ग्रह, हाईकुसङ्ग्रह, गीतिनाटक, उपन्यास र विभिन्न गीति एल्बम प्रकाशन गरिसकेका साहित्यकार महर्जनको यो चौथो गीति एल्बम हो l
एल्बम लोकार्पण समारोहमा गीतकार सङ्घका अध्यक्ष चूडामणि देवकोटाले प्रमुख अतिथिको आसनबाट बोल्दै आर्थिक उन्नतिले मात्र मुलुक सम्मृद्ध नहुने विचार राखे l उनले अगाडि भने-‘कला, सङ्गीत र साहित्यको क्षेत्र समेत सम्मृद्ध भए मात्र देश पनि सम्मृद्ध हुन्छ l स्रष्टा-कलाकार कहिल्ये पनि भूतपूर्व हुँदैनन् l जुन बाटोमा गीतकार सुरेन्द्र महर्जन हुनुहुन्छ l सर्जक कसैको पनि प्रतिस्पर्धी हुँदैन l ऊ जहिले पनि आफ्ना अघिल्ला सिर्जनाहरुको प्रतिस्पर्धी हुन्छ l यस मानेमा मुल्यांकन गर्दा सुरेन्द्रजीका रचना एकपछि अर्को अझ परिष्कृत हुँदै गएको मैले महसुस गरेको छु l’ कार्यक्रम ओएस नेपालका विवेक कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो भने पत्रकार पुष्करराज बुढाथोकी ‘साउतेली’ ले संचालन गरेका थिए l
गीति एल्बम ‘अमर-२’ मा ‘म भन्दा नि धेरै राम्री थिईहोला र त, आशा मर्दै गयो व्यथा बढ्दै गयो, वीर नेपालीहरुको शीर हो सगरमाथा, मरेर जल्छु भन्थें जिउंदै जलायो तिम्रो मायाले, तड्पिएर बाँच्ने म छोडिजाने तिमी र सुख र दुःख जे आएपनि जिन्दगी जिउनु छ’ बोलका ६ गीत रहेका छन् l जसमा राजकुमार बगर, राम कार्की र सन्तोष श्रेष्ठले सङ्गीत दिएका छन् भने गीतमा मेलिना राई, शिव परियार, शिखा भारती, निता थापा मगर, सविन लिम्बू, दिना थामी र गीतकार स्वयमका स्वर सुन्न सकिन्छ l एल्बमका कूल ६ गीत मध्ये चारवटा गीत प्रेमवियोगका छन् l अन्य दुई मध्ये एउटा गीत राष्ट्र र राष्ट्रियताप्रति समर्पित छ भने अन्तिम लहरमा रहेको गीत जीवनवादी भावहरुमा रहेको छ l जीवनमा सुख-दुःख जे जस्तो भएपनि जिउन सिक्नुपर्दछ भन्दै गीतले स्रोतालाई धैर्यता र संयमताको सन्देश दिएको छ l ०४२ सालदेखि निरन्तर रुपमा साहित्यका विभिन्न पाटाहरुमा कलम चलाईरहेका बहुप्रतिभाशाली ‘अमर’ ले पाँचौं गीति एल्बम ‘अमर-३’ पनि छिट्टै सार्वजनिक हुने कुरा समारोहमा जानकारी गराएका थिए भने एल्बम विमोचन पश्चात आगामी एल्बमका केही म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो l ०५२ सालमा नाफा हल नक्सालमा चित्रकला प्रदर्शनी समेत गरिसकेका ‘अमर’ को कुशल चित्रकारिता सिर्जनाको अर्को बेग्लै र महत्वपूर्ण पाटो हो l विभिन्न समयमा राष्ट्रियस्तरका सम्मान तथा पुरस्कारहरुबाट सम्मानित-पुरस्कृत सुरेन्द्र महर्जन ‘अमर’ साहित्य र कला क्षेत्रका विभिन्न सङ्घ-संस्थाहरुमा समेत आवद्ध रही क्रियाशील रहँदै आएका छन् l एल्बम लोकार्पण कार्यक्रममा एल्बमसंग सम्बन्धित स्रष्टा-कलाकारहरुलाई सम्मान समेत गरिएको थियो l ओएस नेपालको प्रस्तुति रहेको यस एल्बमको बजार व्यवस्थापन राइजिंग क्रिएटिभ मिडियाले गरेको छ l