लोकप्रिय भिडियो मोडल विमल

नेपाली म्युजिक भिडियो क्षेत्रका स्थापित मोडल विमल अधिकारी अबका दिनमा गायकको रुपमा समेत चिनिने भएका छन् l उनले भर्खरै ‘मायाको दैलो’ शीर्षकमा लोकपप शैलीको युगल गीतको फोटो भिडियो भावना म्युजिक सोलुशनको प्रस्तुतिमा म्युजिक नेपालको यु-ट्युब च्यानलबाट सार्वजनिक गरेका छन् भने ‘प्यास’ शीर्षकको अर्को गीत पनि रेकर्ड भईसकेको छ l दुबै गीतको भिडियो शुटिंगको तयारीमा रहेको कुरा मोडल तथा गायक बिमलले जानकारी गराएका छन् l  सार्वजनिक भईसकेको पहिलो गीत ‘मायाको दैलो’ प्रशान्त पौडेलको शब्द/सङ्गीतमा रहेको छ भने स्वरमा उनलाई लोकप्रिय गायिका जुनु रिजालले साथ दिएकी छिन् l यसैगरी दोस्रो गीत ‘प्यास’ पनि युगल स्वरमै रहेको छ l जसमा प्रशान्त पौडेलले नै शब्द/सङ्गीत सिर्जना गरेका छन् l यो गीतमा भने विमलको साथमा  गायिका सन्ध्या बुढाको स्वर सुन्न सकिन्छ l
विगत ८ वर्षदेखि म्युजिक भिडियोमा सक्रिय रहँदै आएका विमल यतिबेला आएर गायनमा किन प्रवेश गरे ? यो उनको फगत रहर मात्र हो कि साँच्चै उनमा गायन प्रतिभा पनि छ ? धेरैको मनमा स्वाभाविक रुपमा यस्ता प्रश्नहरु उब्जिन सक्छ l वास्तबमा हाम्रो कला क्षेत्रमा एक भन्दा बढी प्रतिभा भएका स्रष्टा-कलाकारहरु धेरै छन् l धेरैले आफू एक भन्दा बढी विधामा उत्तिकै अब्बल भएको कुरा प्रमाणित पनि गरेका छन् l कसैले एउटा मात्र विधालाई प्रमुख रुपमा अंगालेका छन् भने कतिले दुई वा सो भन्दा बढी विधालाई नै प्रमुख बनाएका छन् र सफल पनि देखिएका छन् l यसै प्रसङ्गमा विमललाई पनि एक भन्दा बढी विधामा क्षमता भएका कलाकारको रुपमा मुल्यांकन गर्न सकिन्छ l सार्वजनिक भएको उनको पहिलो गीत ‘केटा- तिमीसंग म रिसाएँ भने, मायामा शङ्का मिसाएँ भने, तिमीलाई मन पर्छ ? केटी- पर्दैन l केटा- त्यसोभए मन किन मैलो ? खोलिदेऊ मायाको दैलो l’ को गायकी सुन्दा यस्तो लाग्छ विमलले मोडलिंग संगसंगै गायकीलाई पनि अगाडि लानु पर्दथ्यो l कथात्मक र सिलसिलेवर वार्ता झैं लाग्ने प्रस्तुत गीतका शब्द सरल अनि प्रेमिल छन् l शब्दपरक सङ्गीत रहेको प्रस्तुत गीतमा रोमान्टिक भाव छन् अनि प्रेम आकर्षण, अलिअलि शङ्का मिस्रित घुर्की र मायाका मीठा सवालजवाफहरु छन् l गीतको अन्त्य मिलन र समर्पणमा भएको छ l सरल भईकन पनि मनमोहक शब्द/लयका सर्जक प्रशान्त पौडेलको पनि यहाँ प्रशंसा नगरी रहन सकिन्न l पहिलो गीतमै जुनु जस्ती खारिएकी गायिकासंग कमजोर नदेखिनु अर्थात समग्र गीतमा पुरुष स्वरमाथि औंला उठाउने ठाउँ नहुनुलाई विमलको गायन यात्राको ‘ग्रिन सिग्नल’ को रुपमा लिन सकिन्छ l ‘सानैदेखि गाउने इच्छा थियो, बल्ल पूरा भएको छ l आउने दिनमा गायनलाई पनि निरन्तरता दिने छु’ विमल भन्छन् l
एस. एल .सि. गरेपछि ०६४ सालमा स्याङ्जाको साखरबाट उच्च क्षिक्षाको लागि राजधानी प्रवेश गरेका आजका चर्चित भिडियो मोडल विमलले पहिलोपटक ०६६ सालमा ‘किन हुन्छ्यौ ठूली’ बोलको लोकदोहोरीमा गीता राईसंग मोडलिंग गरेका थिए l विष्णु माझी र राजेन्द्र कँडेलको स्वर रहेको सो पहिलो गीतले नै उनलाई भिडियो मोडेलको रुपमा राम्रै पहिचान पनि दिएको थियो l त्यसपछि लगातार मोडलिंगमा ब्यस्त रहँदै आएका विमल प्रवेशको छोटो समयमै व्यावसायिक मोडलको रुपमा स्थापित भएका थिए l उनले आजसम्म ५ सय भन्दा बढी लोकदोहोरी र लगभग १ सय ५० जति आधुनिक गीतका भिडियोमा आफ्नो अभिनयकला प्रस्तुत गरिसकेका छन् l ‘तिमी प्यारो मेरो दृष्टिमा, तिम्लाई पार्दिन रुने, किन टाढा भयौ, खोलि किनार, जाऊ जाऊ उसैसंग जाऊ लगायतका लोकदोहोरी एवं तिम्रोलागि दु:ख त के हो र, तिम्लाई पाए, तिम्रै यादमा, मैले शितल, मलाई दुख्दा दुख्ने मुटु, सुने खबर जीवनसाथी, सागरभन्दा गहिरो, मलाई छोडी जाने तिमी, जो बिना एकपल, तिमीबिना एक्लै, मर्ने मिति, हिजो मलाई राखे दिलमा’ आदि आधुनिक उनले अभिनय गरेका सर्वाधिक हिटगीत हुन् l भनिन्छ, अवार्ड र पुरस्कारको लागि काम गर्ने हैन तर कसैले गरेको काम उत्कृष्ट भयो भने एकदिन पक्कै पनि त्यसको मूल्यांकन हुन्छ र अवार्ड-पुरस्कारहरुले सर्जक-कलाकारलाई आफैं खोज्छन् l विमलको पनि कामको मूल्यांकन  भएको छ र उनले हालसम्म सर्वोत्कृष्ट म्युजिक भिडियो मोडलतर्फ ‘म्युजिक खबर म्युजिक अवार्ड’, विन्ध्यबासिनी म्युजिक अवार्ड’ र ‘लोकदोहोरी अवार्ड’ प्राप्त गरिसकेका छन् l गायनकलालाई ओझेलमै राखेपनि यो बीचमा विमल भिडियो मोडलिंगमा मात्र सीमित भने थिएनन् l उनले हालसम्म लगभग २ दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका छन् भने साँढे २ दर्जनजति आधुनिक गीतका र ६ दर्जन लोकदोहोरीका शब्द/सङ्गीत समेत सिर्जना गरिसकेका छन् l विमल केहीबर्ष अघिदेखि आफ्नै स्वामित्वका  कम्पनीहरु ‘भावना म्युजिक सोलुशन’ मार्फत म्युजिकको व्यावसायमा  क्रियाशील रहँदै आएका छन् भने ‘ओम शिव फिल्म्स’ मार्फत उनी म्युजिक भिडियोको पोष्ट प्रोडक्सनको काम गर्छन् l म्युजिक व्यावसाय, मोडलिंग, शब्द-सङ्गीत रचना र  भिडियोको पोष्ट प्रोडक्सनबाट अब उनको कर्म क्षेत्रमा गायन समेत जोडिएको छ l