भर्जिनियाका दिदीभाइ सुकृति र साइमनद्वारा कथासङ्ग्रह प्रकाशित

विजय थापा, भर्जिनिया


सारा विश्व नै कोबिड १९ को कहरमा नराम्रोसँग जकडिएको परिस्थितिमा नेपाल लगायत अन्यत्र स्थानमा रहेका शरणार्थी शिविरहरूस्थित बालबालिकाको स्वास्थ्य एबम शिक्षा सेवाको लागि सहयोग पुर्‍याउने लक्ष्य हेतु भर्जिनिया निवासी सुकृति शर्माले आफ्नो भाइ साइमनसँग हातेमालो गरि सत्र पुष्पपत्र (Seventeen Petals) नामक पुस्तक प्रकाशित गरेकी छिन् ।

किन्डल डाइरेक्ट पब्लिसिङ्द्वारा बजार व्यवस्थापन गरिएको यस पुस्तकमा १७ वटा कालातीत कथाहरू छन् । जसले मानवीय व्यक्तित्वका १७ विशेषताहरू { स्वीकृति, विनम्रता, श्रद्धा, सद्गुण, उद्देश्य, सरलता, प्रतिबद्धता, लगनशीलता, सेवा, स्थिरता, आश्वासन, इच्छुकता, वफादारिता, संवेदनशीलता, अनुकम्पा, बुद्धि र भक्ति } को बारेमा मनमोहक चर्चा गर्छन् ।

 बढ्दो उमेरका बालबालिकाहरुका लागि लक्षित गरि लेखिएको यस पुस्तकले पत्रकार, अखबारका सम्पादकहरू र विश्वविद्यालयका प्राध्यापकहरूबाट पाठकहरूलाई संलग्न गराउन सक्ने क्षमता भएको पुस्तक भनि अत्यन्त सकारात्मक समीक्षाहरू प्राप्त गरिसकेको छ ।

‘आफ्ना कडा लेखहरुको माध्यमबाट बालबालिकाहरुका लागि पत्रपत्रिकामा स्थान दिलाउन सफल सुकृतिको पहिलो कथासङ्ग्रहले युवा पाठकहरुको मन जित्ने कुरामा म ढुक्क छु’ अमेरिकाबाट प्रकाशित हुने ओज़ीडटकम नामक प्रसिद्ध अनलाइन पत्रिकाकी सम्पादक ट्रेसी मोरान सत्र पत्रको बारेमा लेख्छिन् ।

यी छोटा कथाहरू यति आकर्षक छन् कि, सनफ्रान्सिस्को विश्वविद्यालयका सहायक प्राध्यापक डा. टीका लम्साल भन्छन् – पढ्दै जाँदा कथा यत्ति चाँडै अन्त नहोउन् भन्ने उनी चाहन्थे । ती कथाहरु पढ्ने बित्तिकै डा. लम्सालले भने कि उनले त्यो सानो पुस्तक तुरुन्त आफ्नी छोरी र त्यसपछि आफ्नो छोरालाई पढ्न दिए ।

डा. धर्म अधिकारीले उक्त पुस्तकको बारेमा लेखेका छन् – ‘नयाँ कोरोना भाईरस महामारीको कठिन समयमा लेखिएका यी कथाहरूको सारांश कम प्रेरणादायक छैनन् । जीवन भनेको अदम्य मानव भावनाको बारेमा हो  । हाम्रो चेतनाको बोधो भावनाको बारेमा हो  । केवल साँचो अर्थमा ब्यूँझनको लागि हो।’  डा. अधिकारी चीनको एक विश्वविद्यालयमा पत्रकारिता अध्यापन गर्छन् ।

South  Asian  in  Mid  South: Migration  of  Literacies नामक पुस्तकका लागि पुरस्कृत प्रोफेसर डा. ईश्वरी पाण्डे पुस्तकको अग्रलेखको सुरुमै लेख्छन् – ‘तपाईंको यात्रा अब रमाइलो ज्ञानको लागि सुरु हुँदैछ । दुई सुन्दर कथाकारहरुको यो अद्भुत सङ्ग्रह पढ्दा तुरुन्त महसुस हुन्छ कि, यी शब्द सामान्य अर्थमा बालकथा मात्र होइनन् । यी कथाहरु सबै उमेर समूहका लागि हुन् । यी कथाहरू पढेपछि म स्वयम्लाई शान्त, सम्पूर्ण र अर्थपूर्ण महसुस भैरहेको छ । तिनीहरूले तपाइँलाई पनि यस्तै जादु गर्न सक्छन् ।’

सेप्टेम्बर १५ मा अमेजनमा पुस्तक विमोचन गरिएको दिन प्रेस विज्ञप्ति जारी गर्दै लेखकहरूले भने कि, यो पुस्तक उनीहरूको अभिभावकहरुको मौखिक कथावाचन संस्कृतिबाट समृद्ध परम्पराको नतिजा हो ।

‘कोरोना भाइरसका कारण घरमै बन्दी भएको अवस्थामा बिभिन्न शरणार्थी शिविरहरुमा आफूजस्तै बालबालिकाहरुको स्वास्थ्य र शिक्षाको चुनौतीको बारेमा टेलिभिजनमा वृत्तचित्र हेरेपछि यो कथासङ्ग्रह प्रकाशन गर्ने जमर्को बढेको हो’ सुकृतिले भनिन् । ‘यी कथा जो हाम्रो दिमागमा लामो समयदेखि बसिरहेका थिए, यिनीहरुलाई अरु पाठकसम्म पुर्याउनको लागि पुस्तक लेख्न पाउँदा हामीलाई खुशी लागेको छ’ साइमनले भने ।

जुम प्रविधिमा एक रिपोर्टरले उनका कथाहरू यति छोटा किन ? भनेर सोध्द़ा सुकृतिले जवाफ दिइन् – ‘हामीले कथा, कथाको पृष्ठभूमि, व्यक्तित्व, व्यक्तिगत चरित्र, कथानक र उप-कथानकका बारेमा विस्तृत विवरणहरू लम्बाइमा विस्तार गर्न सक्थ्यौं कथालाई लामो बनाउनका लागि । तर हामीले out  of  the  box सोच्यौं र ती सबै बाहिर फाल्यौं । यसमा कारण छन् ।  एक: हामी भिक्टोरियन युगमा छैनौ । उक्त युगमा मनोरन्जनका माध्यम लामा उपन्यास र नाटक मात्र थिए । दुई: हाम्रा पाठकहरू चलाख छन् । हामी तिनीहरूलाई माया गर्छौं । हामी उनीहरूको अमूल्य समय उनीहरूबाट खोस्न चाहँदैनौं ।  Twitter  को युगमा जब हामीसँग उनीहरूलाई गन्तव्यमा पुर्याउने सीधा राजमार्ग उपलब्ध छ भने किन उनीहरुलाई detour गराउने ?’

लेखकहरुले यो पुस्तक आफ्नी ममतामयी आमा सोना शर्मा र हजुरआमा मिन्द्रकुमारीमा समर्पित गरेका छन् । केशबराज खनालले प्रत्येक कथालाई चित्रमा उतारेको यो कथासङ्ग्रहको कभर तथा पेज डिजाइन कृष्ण शर्माले गरेका हुन् । अमेजनले सेप्टेम्बर ९ देखि पुस्तकको अनलाइन र पेपरब्याक संस्करण प्रि-अर्डरको लागि उपलब्ध गराएको थियो ।