सङ्गीतकार सङ्घले राहत वितरण गर्ने, मेलिना राईद्वारा रू. १ लाख सहयोग

-तुलसी गिरी ‘भावुक’


कोरोना भाइरसका कारण मुलुकभर लामो समयसम्म लकडाउन भएपछि आर्थिक सङ्कटमा परेका सङ्गीतकर्मीहरुलाई सङ्गीतकार सङ्घ नेपालले राहत वितरण गर्ने भएको छ l राहत वितरणका लागि अन्तिम चरणको तयारी भईरहेको कुरा सङ्घका अध्यक्ष शान्तिराम राईले जानकारी गराएका छन् l सङ्घका सदस्यहरुलाई पहिलो प्राथमिकतामा राखिएको भएपनि परिस्थितिको मूल्याङ्कन गरी सङ्गीतसँग सम्बन्धित अन्य सर्जक / कलाकारहरुलाई पनि सहयोग गरिने थाहा भएको छ l

केहीदिन अघि सङ्घका अध्यक्ष शान्तिराम राई, कोषाध्यक्ष हरि लम्साल लगायतका कार्यसमिति पदाधिकारीहरुले फेसबुक मार्फत समस्यामा परेका सङ्गीतकर्मीहरुलाई आफ्नो नाम, ठेगाना र फोन नम्बर ‘इन्बक्स’ गर्न आह्वान गरेका थिए l जस अनुसार ४५ जनाले नाम टिपाएको थाहा भएको छ l राहत वितरण गर्दा फोटो या भिडियो नखिचिने र राहत प्राप्त गर्ने व्यक्तिको नाम सार्वजनिक नगरिने कुरा समेत सो आह्वानमा स्पष्ट लेखिएको थियो l  हिजोआज १ प्याकेट चाउचाउ राहत बाँडेको समेत फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रचलन बढ्दो छ l

सङ्गीतकार सङ्घ नेपाल को कल्याणकारी कोषमा हाल ३० लाख रुपैया भन्दा बढी रकम मौज्दात रहेको कुरा कोषाध्यक्ष हरि लम्सालले जानकारी गराएका छन् l आगामी आइतबारदेखि राहत वितरण सुरु गरिने बताउँदै कोषाध्यक्ष लम्साल भन्छन् –’अहिले नगद वितरणको कार्यक्रम राखिएको छैन l दैनिक उपभोग्य सामान वितरण गर्दैछौं l जसलाई हामीले ‘राहत’ नभनेर ‘सहयोग’ भन्न चाहेका छौं l’ केहीदिन अघि मात्र लोकप्रिय गायिका मेलिना राईले सो कोषका लागि रू. १ लाखको चेक सङ्घका कोषाध्यक्ष हरि लम्साललाई हस्तान्तरण गरेकी थिईन् l  ‘केही सदस्यहरुले राहतका लागि चामल, दाल, तेल आदि जस्ता खाध्य सामग्री नै उपलब्ध गराउने वचन दिनुभएको छ’ अध्यक्ष राईले भने l व्यक्तिगत एवं संस्थागत रुपमा समेत कोषका लागि आर्थिक सहयोग गर्न ईच्छुक सर्जक, कलाकार र गैर कलाकार शुभचिन्तकहरुलाई सङ्घले अपिल गरेको छ l

SUBSCRIBE 👉