‘परदेशी – २’ को मुहूर्त, प्रशान्त तामाङ र प्रकाश सपुत प्रमुख भूमिकामा

तुलसी गिरी ‘भावुक’


‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता दुई सफल चलचित्रका लेखक / निर्देशक नारायण रायमाझीले आफ्नो तेस्रो चलचित्र ‘परदेशी – २’ को शुभ मुहूर्त सम्पन्न गरेका छन् l फागुन ९ गते शुक्रबार चलचित्रका प्रमुख कलाकारहरुको उपस्थितिमा वैदिक विधि अनुसार ललितपुरको कार्य विनायक मन्दिरमा पूजा अर्चना गरी चलचित्रको शुभ साइत गरिएको हो l विनायक मन्दिरमा पूजा सम्पन्न भए लगत्तै आजै दक्षिणकाली मन्दिरमा समेत पूजा गरिएको छ l ‘गोर्खा पल्टन’ देखि नै नारायण रायमाझीसँग लगातार सहकार्य गर्दै आएका प्रोडक्शन म्यानेजर ईश्वर घिमिरेका अनुसार यस अघिका चलचित्रहरुको मुहूर्त पश्चात दक्षिणकालीमा पनि यसैगरी पूजा गरिंदै आएको थियो l ‘परदेशी – २’ मुभिज डटकमको व्यानरमा निर्माण हुने चौथो चलचित्र हो l यसअघि यस व्यानरमा ‘कोही मेरो’, गोर्खा पल्टन’ र ‘परदेशी’ निर्माण भईसकेका छन् l

‘परदेशी’ चलचित्र निर्माण गरिसकेपछि परदेशका अरु धेरै कथा – व्य*था पनि समेट्न पाए हुन्थ्यो भन्ने मनमा छट*पटी भईरहेको बताउँदै ‘परदेशी -२’ यस्तै धेरै कथाहरु मध्येको एक कथा भएको कुरा चलचित्रका निर्देशक नारायण रायमाझीले जानकारी गराएका छन् l निर्देशक रायमाझी भन्छन् –’हामीले सुरुदेखि नै चलचित्र समाजको दर्पण हो भन्दै आएका हौँ र सकारात्मक परिवर्तनका लागि सन्देशमूलक चलचित्र निर्माण गरिरहेका  छौं l ‘परदेशी – २’ नेपाली गाउँबस्ती रित्तिएको कथा हो l नेपाली समाजमा बढ्दो परदेश मोहको कथा हो l सुनौलो भविष्यको सपना बोकेर परदेशिएका तमाम नेपाली युवा र उनीहरुको सङ्घर्षमय जीवनको कथा हो l बाध्यता या रहरले बिदेशिएका युवा र तिनका अभिभावकहरुले देखेको मीठो सपना अनि वास्तविक भोगाई र कठिनाईहरुको यथार्थ कथा हो l  अनि मातृभूमिबाट टाढा गएपछि आफ्नो परिवार, समाज, उकाली ओराली र सिङ्गो देशको यादले सताएको कथा हो l’

नारायण रायमाझीद्वारा निर्देशित पहिलो चलचित्र ‘गोर्खा पल्टन’ मा लाहुरे परिवारको बैभवताभित्रको कहालीलाग्दा पीडाहरुलाई यथार्थ रुपमा उजागर पारिएको थियो l जसको कथावस्तु र प्रस्तुति त सशक्त थियो नै, सङ्गीत पक्ष पनि सबल रहेकोले चलचित्र ऐतिहासिक रुपमा सफल भएको थियो l चलचित्रको लोकप्रियता यसरी चुलियो कि चालु रहेका हलले दर्शकको मागलाई धान्न नसकेपछि धेरै ठाउँमा बर्षौंदेखि बन्द रहेका सिनेमा हल पुन: सञ्चालनमा आएका थिए भने मुश्किलले १ – २ शो मात्र चलिरहेका कतिपय हलमा ४ शो सम्म चलेको थियो l

यसैगरी रायमाझीको दोस्रो चलचित्र ‘परदेशी’ ले भारतीय नाकाबन्दीका बाबजुद, अझ भनौं अधिकांश नेपालीहरुको चुलोमा आगो बल्न बन्द भएको अवस्थामा पनि अकल्पनीय सफलता हासिल गरेको थियो l दर्शकमा चलचित्र हेर्ने व्यग्रता यस्तो आश्चर्यलाग्दो थियो कि ! पहिलो दिन १२ बजेदेखि शो राखिएको भएपनि बिहानैदेखि दर्शक लाइनमा बसेपछि बाध्य भएर प्राविधिक प्रक्रिया पुर्याई शो चालु गर्नु परेको थियो l संख्यात्मक हिसाबले थोरै चलचित्र भएपनि गुणात्मक कामको कारणले गर्दा ठूलो लोकप्रियता हासिल गरेका रायमाझीको ‘परदेशी – २’ लाई सिङ्गो सिने नगरीले यतिबेला निक्कै चासोको साथमा नियालिरहेको छ l विगतको ख्याति र  दर्शकको उच्च अपेक्षाबीच रायमाझीको यो यात्रा निक्कै संवेदनशील लाग्दछ l चलचित्रका निर्माता राजेश वंशल भन्छन् -‘परदेशी २, के गाउँ के शहर घर घरको कथा हो l परदेशले नेपालीहरुलाई सुख र सम्मृद्धि मात्र दिएको छैन, त्यसभित्र पनि अनेक प्रकारका पीडाहरु छन् l यही सुख – दु:ख, सफलता – असफलता र त्यससँग जोडिएको उतारचढावको कथा नै ‘परदेशी २’ हो l स्क्रिप्टमा नारायण दाइले ५ बर्ष मेहेनत गर्नुभएको छ l गोर्खा पल्टन र परदेशी जस्तै यो चलचित्रले पनि दर्शकको अपार माया पाउने छ भन्ने कुरामा म विश्वस्त छु l’

मुभिज डटकमको व्यानरमा निर्माण हुन लागेको ‘परदेशी – २’ मा राजेश वंशल र नारायण रायमाझी निर्माताको रुपमा रहने छन् भने प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह आदि कलाकारको प्रमुख भूमिका रहने छ l प्रसिद्ध गीतकार समेत रहेका रमेश बि. जी. को कथा तथा निर्देशक रायमाझीकै पटकथा / संवाद रहेको यस चलचित्रमा रमेश पौडेल, सतिश चापागाईं, बीबी अनुरागी, नारायण रायमाझी, जय देवकोटा र प्रेमदेव गिरीका शव्द तथा बीबी अनुरागी र नारायण रायमाझीको सङ्गीत रहने छ भने प्रशान्त तामाङ, मिना निरौला, निशान भट्टराई, प्रताप दाश, नारायण रायमाझी, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार र जय देवकोटाले स्वर दिने छन् l चलचित्रमा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीले नृत्य निर्देशन र अष्ट महर्जनले द्वन्द्व निर्देशन गर्ने छन् भने मान कृष्ण महर्जनले चलचित्र खिच्ने छन्  l पोखरा, पाल्पा, काठमाण्डौ, भारतको गोरखपुर र अमेरिकामा छायाङ्कन हुने यो चलचित्रको लगभग २ महिनामा सम्पूर्ण छायाङ्कन सकिने अनुमान गरिएको छ l

SUBSCRIBE 👉