महाप्रवन्धक राईद्वारा महत्वाकांक्षी कार्ययोजनाको घोषणा

साँस्कृतिक संस्थानका नवनियुक्त महाप्रबन्धक अशोकप्यासी राईले पदभार ग्रहण गरेको एक महिना पुगेको अवसरमा बुधबार संस्थान सुधारका नयाँ योजना सार्वजनिक गरेका छन् । महाप्रबन्धक राईले जमलस्थित संस्थानको मिनी हलमा पत्रकार सम्मेलनको आयोजना गरी अबको १०० दिनभित्र गौरवको अनुभूति हुनेगरी परिवर्तनको आभाष दिने प्रतिवद्धता जनाएका छन् । सेवाप्रवाह, कार्यशैली, सजावट, सहजता, व्यवहार सबैमा यी कुरा झल्कने उनको भनाइ थियो ।

साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को वर्तमान अवस्था, सुधारका योजना, भावी कार्यक्रम र रणनीतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महाप्रबन्धक राईले वर्तमानमा संस्थान सङ्गीन अवस्थाबाट गुज्रिरहेको बताए । ‘अथाह सम्भावना र अवसर भएपनि त्यसको सदुपयोग र व्यवस्थापन हुन नसक्दा संस्थान यो अवस्थामा पुगेको हो’ उनले भने । स्पष्ट लक्ष्यसहित चुस्त, पारदर्शी र प्रभावकारी व्यवस्थापन, क्रियाशील कर्मचारी अनि सिर्जनशील कलाकारहरुको सुन्दर संयोजनले संस्थान समृद्ध बन्ने महाप्रबन्धक राईले बताए । संस्थानको भविष्य उज्ज्वल रहेको तर्क गर्दै उनले मौलिकता झल्काउँदै आधुनिकतालाई समेत आत्मसात् गरेर संस्थानलाई समृद्ध बनाउन नयाँ सोच र योजना अगाडि बढाइएको जानकारी गराएका छन् ।

मुलुकले भ्रमण वर्ष २०२० मनाइरहेकाले नेपाल आएका पर्यटकका लागि नयाँवर्ष २०७७ सँगै संस्थानमा नियमित साप्ताहिक रूपमा साँस्कृतिक शो सुरु गर्ने समेत उनले जानकारी दिए । जसबाट पर्यटकले नेपाली मौलिक संस्कृतिको स्वाद लिनेछन् भने हाम्रो कला र संस्कृतिबारे उनीहरुलाई थप जानकारी दिन सहज हुने उनको भनाई छ ।

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकमा नेपाली लोक संस्कृतिको प्रचार एवं प्रवर्धननका लागि साँस्कृतिक सहचारी नियुक्त गर्न सम्बन्धित निकायसँग पहल थालिने महाप्रबन्धक राईले जानकारी दिए । बिभिन्न मुलुकसँग लोक संस्कृतिको आदानप्रदानका लागि कार्यक्रमको आयोजना साथै सार्कस्तरीय साँस्कृतिक महोत्सवको आयोजना गर्ने कुरा पनि उनले बताए । महाप्रवन्धक राईका अनुसार संस्थानका नियमित कार्यक्रम ‘राष्ट्रिय लोक नाटक महोत्सव’, ‘शास्त्रीय सङ्गीत उत्सव तथा स्रष्टा सम्मान’, ‘अन्तरमावि नाटक प्रतियोगिता’, ‘अन्तरमावि नृत्य प्रतियोगिता’ आदिलाई निरन्तरता दिइने भएको छ । लोपोन्मुख लोक संस्कृतिको खोज – अनुसन्धान गरी प्रशिक्षण एवं प्रस्तुति मार्फत उजागर गरिने, नयाँ तथा पुराना नाटक नियमित मञ्चन हुने छन् ।

यस वर्षदेखि सातै प्रदेशमा प्रदेशस्तरीय लोक सांस्कृतिक महोत्सवको  आयोजना गरिने, साँस्कृतिक संस्थानले प्रशिक्षण दिँदै आएका नृत्य, अभिनय, गायन तथा वादन विधामा समयसापेक्ष कोर्स तयार गरी सीटीईभीटीबाट मान्यताप्राप्त गर्न पहल गरिने भएको छ । संस्थानमा डिजिटल शाखा स्थापना गरी ऐतिहासिक एवं महत्वपूर्ण दस्तावेज डिजिटलाइज गरी ई–लाइब्रेरी तयार गरिने, संस्थानको प्रेक्षालयमा हुने प्रत्येक कार्यक्रममा संस्थानको मर्म र भावनामा आँच नआउने गरी सरकारी एवं निजी क्षेत्रका व्यावसायिक टीभीसी प्रसारण सुरु गरिने र  सीएम ट्रेडिङ इन्टरप्राईजेज प्रा.लि.ले भाडामा लिएको संस्थानको भवनबारे अनगिन्ती जनगुनासो आइरहेकाले त्यसलाई न्यायका आधारमा समयसापेक्ष पुनरावलोकन गरिने कुरा महाप्रबन्धक राईले बताएका छन्  । संस्थानको दायित्वमा रहेको वर्षौदेखिको करोडौं ऋणभारलाई क्रमशः घटाउँदै लगिने उनको भनाइ थियो । ‘जीवनभर काम गरेर अवकास लिएका कर्मचारीले खाली हात घर फर्कनु परेको छ l अब त्यो अवस्थाको अन्त्य हुने छ’ महाप्रवन्धक राईले भने । संस्थानलाई प्रभावकारी र क्रियाशील बनाउन ‘थ्री इन वान’ प्रणालीका आधारमा काम गरिने साथै क्रियाशील कर्मचारी एवं कलाकारको मनोबल उच्च राख्न र मूल्याङ्कन गर्न दैनिक कार्य विवरण र मासिक प्रगति विवरण फारम लागू गरिने भएको छ ।

पत्रकार सम्मेलनमा साँस्कृतिक संस्थान सञ्चालक समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थानको समृद्धि एकमात्र चाहना भएको बताउँदै संस्थानलाई बचाउनु सरकारको पनि दायित्व भएको विचार राखेका थिए । यसैगरी संस्थानका योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रभाकरदेव शर्माले ४ बर्ष यता व्याज समेत तिर्न नसकिएको र संस्थान अहिले कठिन आर्थिक अवस्थाबाट गुज्रिरहेको जानकारी गराउँदै भने -‘यो संस्थान पूर्ण रुपमा सरकारी स्वामित्वको हो र ऋण पनि सरकारबाटै लिईएको हो l  केही संस्थानलाई सरकारले करोडौं रुपैयाँ अनुदान दिएको छ । लोक संस्कृतिको संरक्षण प्रवर्धन गर्ने निकाय भएकाले तपाईहरुको साथ र समर्थन भए सरकारले यस संस्थानको ऋण पनि मिनाहा गर्न सक्छ ।’ आम कलाकर्मी एवं संस्कृतिकर्मीहरुले चाहेजस्तो अनुभूति हुनेगरी संस्थाले गति लिने कुरा समेत शर्माले बताएका छन् ।

SUBSCRIBE 👉