पाँचौं ‘काठमाण्डौ सर्ट फिल्म फेस्टा’ सम्पन्न


पाँचौं काठमाण्डौ सर्ट फिल्म फेस्टा –२०२१ को अवार्ड कार्यक्रम सम्पन्न भएको छ । छायाँछवि क्रियशनको आयोजनामा नियमित सम्पन्न हुँदै आइरहेको काठमाण्डौ सर्ट फिल्म फेस्टा कोरोना महामारीका कारण केही पछि आयेजना गर्न सकिएको र कोरोनाका कारण सानो स्तरमा आयोजना गर्न परेको आयोजक संस्था छायाँछविले जनाएको छ ।

समारोहमा चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथिको रुपमा उपस्थित थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै दाहालले चलचित्र उद्योगको वर्तमान अवस्था र चलचित्रको बिकासमा अब के गर्नु पर्छ भन्ने विषयमा बोलेका थिए । यस्तै समारोहमा वरिष्ठ चलचित्र लेखक-निर्देशक एवं नेपाल चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला, वरिष्ठ अभिनेता धिरेन शाक्य एवं अवार्ड जुरी संयोजक ऋषि लामिछाने विशिष्ट अतिथिका रुपमा उपस्थित थिए ।

समारोहमा आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले स्वागत मन्तव्य राख्दै सर्ट फिल्म फेस्टा तथा फिल्मीखबर सबिन स्मृति रङ्ग पत्रकारिता पुरस्कारका बारेमा प्रस्ट्याएका थिए । उनले कोरोना महामारीका कारण कार्यक्रम ढिलो आयोजना गर्नुपरेको बताए । पाँचौंपटक आयोजना गरिएको सर्ट फिल्म फेस्टा विगतदेखि नै हरेक दुइ-दुई वर्षमा आयोजना हुँदै आएकोमा आगामी दिनमा हरेक वर्ष आयोजना हुने कुरा पनि प्रियले जानकारी गराए । समारोहमा प्रविशा प्रकाशन प्रा.लि.का अध्यक्ष वरिष्ठ चलचित्रकर्मी एवम् राप्रपाका नेता प्रदिप कुमार उदयले वर्तमान कोरोना कहर र चलचित्र उद्योगका बारेमा मन्तब्य राखेका थिए ।

पाँचौं काठमाडौं सर्ट फिल्म फेष्टामा सहभागी सर्ट फिल्म तथा डकुमेन्ट्री मध्ये अवार्डेड चलचित्रकर्मीलाई सो समारोहमा अवार्ड प्रदान गरिएको थियो । नवराज बु्ढाथोकी निर्देशित हाउस हजवेण्डले इन्करेजमेण्ट अवार्ड, लक्ष्मण सुवेदी निर्देशित मेहन्दीको रङ्गलाई बेष्ट कन्सेप्ट स्कृप्टको अवार्ड दिपेन्द्र लामा निर्देशित सावधानलाई पब्लिक च्वाइस अवार्ड, सरोज खनाल निर्देशित बिहानीमै अस्ताएको सूर्यलाई जुरी अवार्ड, कल्याण अधिकारीलाई सर्ट फिल्म निर्देशकको अवार्ड, पुरन जोशी निर्देशित मह्ःपुजालाई उत्कृष्ट डकुमेण्ट्री एवम् अभिनव श्रेष्ठ निर्देशित स्वीट सिक्सटिनलाई उत्कृष्ट सर्ट फिल्म अवार्ड प्रदान गरिएको थियो ।

यसै समारोहमा वरिष्ठ रङ्ग पत्रकार सविन शाक्यको स्मृतिमा स्थापित एवम् फिल्मी पत्रिका फिल्मीखबरको नाममा स्थापना गरिएको फिल्मीखबर-सविन स्मृति रङ्ग पत्रिकारिता पुरस्कार समेत प्रदान गरियो । १० हजार १० रुपैया नगद सहितको यो पुरस्कारमा विगत डेढ दशक देखि रङ्ग पत्रकारितामा संलग्न रही समग्र चलचित्र, सङ्गीत एवम् यस क्षेत्रको विकासमा योगदान पुर्याए वापत सुमन बैरागीलाई यो पुरस्कार प्रदान गरिएको थियो । सुमन वैरागी म्युजिकखबर डटकमसँग आवद्ध छन् ।

समारोहमा सर्ट फिल्म फेष्टाका जुरीहरु प्रवण भुषाल, सुवास बुढाथोकी, रेनिस फागो, गोपाल ढकाल एवम् जुरी संयोजक ऋषी लामिछानेलाई प्रमाण पत्र प्रदान गरियो । कार्यक्रमको सञ्चालन समिर लामाले गरेका थिए ।