-श्रीजना सिंह योञ्जन
{ हाल: अमेरिका }
मानिसको जीवनर सङ्गीतबीच पनि गजबकै सम्बन्ध हुँदोरहेछ । सङ्गीत खुशीका पलमा रमझम गर्ने र दु:खमा साथ दिने साथी, एक्लो हुँदा मन बहलाउने सहयात्री अनि कठिन पलहरूमा रूवाउने तथा हौस्याउने थेरापिस्ट हुँदोरहेछ । माया प्रेमका भाव साटासाट गर्न सहज बनाइदिने लमी अनि चिन्तन मनन्प्रति मार्गदर्शन गराइदिने गुरू पनि हुँदोरहेछ सङ्गीत । शब्दैबिना पनि धेरै भनिदिन सक्ने र भाषा, धर्म वा जातिको सिमानाले नरोकिने रैछ सङ्गीत । मेरो बुवा गोपाल योञ्नका साङ्गीतिक सिर्जनाहरूबाट मैले बुझेको सत्य यही नै हो ।
मेरो जीवनको प्रत्येक उतार, चढाव र बदलावहरूमा मैले उहाँकै गीतहरूमा मार्गदर्शन, प्रेरणा र हौसला पाउने गरेकी छु । यसैले, तेजस्वी गिरी बहिनीले मलाई मैले छानेको व्यवसाय, विशेषगरी सेलब्रेटिङ् वुमनहुड नवदेवी सम्मान र बुवाको सङ्गीत बीचको सम्बन्धमा केन्द्रित रही म्युजिक डायरीका लागि केही लेखिदिन आग्रह गर्दा नाइँ भन्नै सकिन र सहर्ष यस अवसरलाई स्वीकारें ।तर, प्रस्ताव स्वीकार्न जति सजिलो थियो लेख्न त्यति नै गाह्रो भयो ।
सर्वप्रथमतः सुरुआती विन्दु भेट्न नै धेरैबेर अल्मलिएँ । धेरैबेर सोचें, केहीबेर आँखा चिम्लेर बसें अनि धेरैबेर मेरो ल्यापटपको स्क्रीनलाई हेरिराखें । मलाई साँच्चै नै राइटर्स ब्लकूले सतायो । अनि, अचानक मलाई म स्कुल छँदा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको पीटूमा बसेर बुवाद्वारा सङ्गीतबद्ध एक नाटक हेरेको सम्झना आयो । म सानै भएको हुनाले किटान गरेर नाटकको नाम त भन्न सक्दिन, तर नाटक एक हरर कथामा आधारित थियो l जसमा एक हत्या भएकी युवती हत्याराहरुसँग बदला लिन भूत बनेर फर्किन्छिन् । सायद बुबा र आमा दुबै नाटकको पृष्ठभूमिको काममा संलग्न भएकाले म प्रत्येक जस्तो शो मा पुगेकै हुन्थें । यसैले सो नाटक मैले धेरै पल्ट हेर्ने मौका पाएँ । पीटमा बसेर नाटक हेर्नुको अर्कै मज्जा के थियो भने, सो स्थानदेखि ब्याक स्टेज सजिलै पुगिन्थ्यो । नाटक सुरु हुनु अगावै हुने तयारीहरु पनि मैले सबै हेर्ने मौका पाएँ । एकदुई पल्ट दर्शक बनी सो नाटक हेरेपछि मलाई नाटकको प्रवाहको लागि नेपथ्यमा हुने विभिन्न क्रियाकलापहरुप्रति कौतुहलता जाग्दै तथा मोह हुँदै गयो । भूतको रुप धारण गर्दा नायिकाले लगाएको मेकअप र साइड विङबाट बडेमानको पंखा चलाएर कपाल उडाएको इफेक्ट देखि बिजुली गर्जेको आवाज निकाल्नका लागि जस्ता पातालाई दुई छेउमा दुई जनाले समाति बेस्कन हल्लाएर आवाज निकालेको राजहरु जान्दा मलाई के के नै थाहा भएको जस्तो लागेको थियो ।
त्यसैगरि, महेन्द्र पुलिस क्लबमा बर्सेनी आयोजना हुने साँस्कृतिक कार्यक्रमले मेरो मन मष्तिस्कमा पारेको छाप पनि अविष्मरणीय छ । गीत, सङ्गीत, नाटक, प्यारोडी जस्ता विभिन्न विधामा बुबाको जिम्मेवारी थियो । अनि पुलिस क्लबका कलाकारहरुले सो सिर्जनाहरुलाई स्टेजका लागि तयार गर्दथे l जसको रिहर्सलदेखि दर्शकमाझको मञ्चनसम्ममा मैले हेर्ने मौका पाउँथें । यसले गर्दा नै होला म नृत्यकला र कार्यक्रम व्यवस्थापनप्रति आकर्षित हुँदै गएँ । कुनै कलाकारले नृत्य गर्दा गर्दै कतै अर्कै स्टेप चालेभने पनि मैले नोट गर्थें । फर्केर हेर्दा यी अनुभूतिहरु नै मेरो लागि मेरो व्यवसायिक मार्ग छान्ने जग बनेछन् ।
मेरो दैनिकीको पार्श्व भूमिमा सँधै विभिन्न स्वर, बाजा गाजाको ध्वनि गुञ्जिरहेकै हुन्थो । स्कुले जीवनमा यी सब मेरो लागि नर्मल थिए र मलार्इ यसमा कुनै आश्चर्य वा गजब लाग्दैनथ्यो । जानि-नजानि, बुझि(–नबुझि मैले कलेजका दिनहरूमा साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्न थालें । यी कार्यक्रमहरुका लागि बुबासँग सर सल्लाह र सहयोग लिन्थें । स्कुल कलेजका दिनमा ठट्टै ठट्टामा आयोजना गरिएका कार्यक्रमहरु विस्तारै गम्भीर रुचीका बिषय र व्यावसायिक रुपमा अँगाल्न सकिने प्रष्ट मार्ग बन्दै गयो । मेरो व्यवसाय पनि गीत सङ्गीत र बिशेषगरी बुबाको सिर्जनाहरुसँग नजिकिन थाल्यो ।
समयसँगै म एक व्यावसायिक तथा बिबाहित महिलाका रुपमा सांसारिक तौर तरीकासँग परिचित हुँदै गएँ । नयाँ सिकाइहरुका साथै नयाँ चुनौतिहरुको पनि सामना गर्दै गएँ । धरै चुनौतिहरुसँग म अपरिचित र अनविज्ञ थिए । बुबा मुवाको घरमा हुर्कदा मैले कहिल्यै आफूलाई छोरी भएकाले छोराभन्दा भिन्न वा कम भएको महसुस गरिन । तर, जीवनको मैदानमा उत्रेपछि नेपाली समाजले महिला र पुरुषलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा रहेको विभेद बझ्दै गएँ । हिन्दु धर्मले चित्रण गरेको देवी स्वरुप नारीको स्थान र वास्तविक जीवनमा नारीमाथि गरिने विभेदबीच तालमेल नमिलेको देखें । यो भिन्नतालाई मैले स्वीकार्न सकिन र प्रश्न गर्दै गएँ । नारीको महिमालाई मुर्ति पूजामा सिमित नराखी असली जीवनमा विभिन्न क्षेत्रबाट आ-आफ्नो तरिकाले समाजमा सकारात्मक परिवर्तन ल्याउन तत्पर असली महिलाहरु नै असलमा ज्ञानकी देवी सरस्वती,धनकी देवी लक्ष्मी र शक्तिकी देवी दुर्गा हुन् भन्ने आफ्नो तर्कलाई मैले अगाडि सार्ने प्रयत्न गरें । यसै विश्वासको आधारमा २००२ मा सेलब्रेटिङ् वुमनहुड नवदेवी सम्मान कार्यक्रमको स्थापना हुन गयो । मलाई यी प्रभावशाली देवीहरुसँग परिचय गराउने माध्यम पनि मेरै बुवाकै सङ्गीत थियो । पद्म कन्या क्याम्पस पढ्दाताका एक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा नवदेवीहरुको मन्त्रमा आधारित बुबाकै एक साङ्गीतिक रचनामा मैले नृत्य गरेकी थिएँ । सो बेलादेखि नारी स्वरुपलाई धर्मग्रन्थले दिएको स्थानबारे म अझ बढी छर्लङ्ग भएकी थिएँ ।
सेलब्रेटिङ् वुमनहुड नवदेवी सम्मान प्रयत्न सुरु हुँदासम्म बुबा बितिसक्नुसभएको थियो । म उहाँको उपस्थितिलाई अझैपनि व्यक्तिगत तवरमा र कुनै नयाँ साङ्गितिक प्रोजेक्ट लिएर अगाडि बढ्दा एकदमै मिस गर्छु । यस्तोबेला म उहाँले छोडेर जानुभएको सङ्गीतको ढुकुटी खोतल्न थाल्छु । खोतल्ने क्रममा सँधै चाहेको खजाना भेट्टाउँछु पनि अनि मेरा सबै प्रश्नहरुको उत्तर पाउँछु । यसमा मलाई अचम्म पनि लाग्छ, कसरी होला उहाँलाई यी सब विषयवस्तुबारे समयभन्दा पहिले नै थाहा भएको ? रउहाँले सन् १९७२ सालमा रच्नुभएको ‘डाँफे चरी’ गीति नाटक सन् २००८ मा सेलब्रेटिङ् वुमनहुड नवदेवी सम्मान कार्यक्रममा पुनः प्रस्तुत गरियो । त्यतिका वर्षपछि पनि ‘डाँफे चरी’ को ‘पहाड मधेस मिलेर बनोस् यो धर्ती पवित्र’ भन्ने मूल सन्देश उत्तिकै सान्दर्भिक थियो र आजसम्म पनि छ नै ।
सेलब्रेटिङ् वुमनहुड नवदेवी सम्मान कार्यक्रमको प्रत्येक वर्ष अलग थिम हुने गर्छ । सम्मान कार्यक्रममा वर्षको थिम अनुसार गीत, सङ्गीत तथा नृत्य पनि प्रस्तुत हुने गर्छ । कार्यक्रमको १५ औं संस्करण पूरा गर्दासम्म १५ वटा विभिन्न थिम सोचेर राखियो । प्रत्येकपल्ट थिम अनुसारकै गीत भेट्न मलाई कहिल्यै गाह्रो भएन । वास्तवमा यति सान्दर्भिक गीतहरु भेटिए कि, कतिपल्ट त मैले पहिले सुनिसकेका गीतहरुमा पनि नयाँ अर्थ पाउन थालें । धेरैवर्ष अगाडि सिर्जना गरिएका गीतहरु पनि अहिलेका लागि सान्दर्भिक भएकाले मैले कुनै गीत कालजयी हुनुको वास्तविक अर्थ पनि बुझें ।
बुबाको गीत सङ्गीतको विविध पक्षहरु मध्ये नारीपात्र प्रतिको बुझाई, सम्वेदनशीलता र नारी पात्रको दरिलो चित्रण पनि गजबकै छ । म आफूपनि एक नारी भएको नाताले उहाँको यो बुझाईबाट चकितै हुन्छु । एक पुरुष भएर पनि जसरी उहाँले नारीको प्रत्येक भावलाई सुक्ष्मताका साथ बुझी, केलाई व्यक्त गर्न सक्नुभयो त्यो उदाहरणीय छ । उहाँका अनेक नारी गीतहरुमध्ये ‘संसारका सारालाई ती जसले काखमा पाले, धन्यै म आज त्यही नारी भएर जन्मे’ भन्ने जस्ता उहाँका गीतमा स्वाभिमान र नारी हुनुको गौरवको उजागर भेट्छु । ‘मागेर खान्न, झुकेर खान्न, खोसेर खाँदिन l दुई हातको कमाई ठीकै छ मलाई केही भर चाहिंदैन’ भन्ने पङ्क्तिले मलाई कसैमाथि निर्भर नहुन सिकायो र जीवनका अफ्ठ्यारा मोडहरुमा पनि आफूले छानेको बाटोमा अडिक रहन विश्वास दिलाइरहन्छ । अनि, यो गीतको सही माने म फेरिफेरि भेट्टाउँछु जब म गाउँठाउँमा विभिन्न बाधा तथा अवरोध बावजूद आफू तथा आफ्नो समुदायको जीवनमा सकारात्मक परिवर्तन ल्याउन कार्यशील महिलाहरुलाई भेट्छु ।
नेपालदेखि अमेरिकाको बसाई सराइमा मेरो आफ्नो निजी तथा व्यवसायी जीवनमा आएको परिवर्तनसँगै पनि म बुबाकै गीतलाई साथ लिएर हिँडिरहेछु ।
संसारसँगै तँ घुम्दै जा
अनि सारा संसार तेरै हो
उड्दै छुन सकिस् भने जून तारासम्म तेरै हो
भूल हो तेरो भागि हिँड्नु जीवनदेखि डराएर
यी सुनौला शब्दहरु तथा बुबाका अन्य अरु यस्ता थुप्रै शब्द सङ्गीतहरुले मलाई जीवनलाई सहजै लिन सिकाएको छ । यी शब्द तथा सङ्गीतहरु मेरो निजी तथा व्यावसायिक जीवनमासाथी, सहयात्री, थेरापिस्ट, मार्गदर्शक र प्रेममा विश्वास दिलाउने माध्यमको रुपमा बाँधिएका छन् । बिहानी भगवान सामु हात जोडेर गर्ने प्रार्थना र मेरो निजी तथा व्यवसायी जीवनमा मैले सँगै लिएर हिँडेको बुबाकै सिर्जनाको एक मूलमन्त्रमा म अडिरहन चाहन्छु l
केवल एक शक्ति मलाई दे प्रभु
तेरा सारा वरदानको उपयोग गरुँ
जुनिभर ईश्वर म सुकर्म गरुँ
अनि हाँस्दै एक दिन तेरो काख परुँ ।
* { म्युजिक डायरी २०७८ बैशाख, अमेरिका विशेषाङ्कबाट }