–तुलसी गिरी ‘भावुक’
समस्त गीतकारहरुको छाता सङ्गठन गीतकार सङ्घ नेपाल को हिजो सम्पन्न ११ औं साधारणसभा तथा पाचौं अधिवेशनले शुभ मुकारुङको नेत्तृत्वमा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ l समितिको अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश: शुभ मुकारुङ, वसन्त वित्याशी थापा, रमेश कोईराला, महेश आचार्य र जीत बहादुर घले चुनिएका छन् भने सदस्यहरुमा लोकराज अधिकारी, सुमी सिंह, चेतन खतिवडा, प्रतिमा श्रेष्ठ, उमेश राई र शितल कादम्बिनीले जिम्मेवारी पाएका छन् l
यसअघि सङ्घमा डा. कृष्णहरि बराल, योगेन्द्रमणि दाहाल र चूडामणि देवकोटाले नेत्तृत्व सम्हालेका थिए l मुकारुङले संस्थाको चौथो अध्यक्ष हुने अवसर पाएका छन् l नवनिर्वाचित मुकारुङले संस्था स्थापना भएदेखि नै संस्थामा क्रियाशील रही अध्यक्ष बाहेकका सबैजसो पदमा बसेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन् l
कार्यसमितिको ११ पद मध्ये उपाध्यक्ष र सचिवका लागि २-२ जनाले उम्मेद्वारी दर्ता गराएपछि मतदान गर्नुपरेको थियो भने बाँकी ९ पदका उम्मेदवार सर्वसम्मत चुनिएका थिए l मतदानमा उपाध्यक्षका उम्मेदवार सञ्जय बराल वसन्त बित्याशीसँग र सचिव पदका उम्मेदवार डब्बु क्षेत्री महेश आचार्यसँग पराजित भएका थिए l नयाँ कार्यसमितिको कार्यकाल २ बर्षको रहने छ l
गीतकार सङ्घ नेपालमा हाल ५ सय १९ सदस्य रहेका छन् l जसमध्ये १ सय ४८ आजीवन र ३ सय ७१ साधारण सदस्य छन् l