सानैदेखि गीत सङ्गीतमा गहिरो अभिरुची भएका रमेश मगर कोशी अञ्चल, धनकुटा जिल्लाको मुढेबास गा• बि• स• वडा नम्बर २ { हालको चौबिसे गाँउपालिका वडा नम्बर २ } मा जन्मिएका हुन् । बालापनमै पितृ वियोग र आमाको माया – ममतादेखि टाढा हुनु परेकाले निकै सङ्घर्ष गर्दै अनि कठिन दिनहरुसँग जुध्दै बालापन बितेको सम्झना छ उनलाई । धनकुटाकै स्थानीय विद्यालयदेखि एस• एल• सि• सम्मको अध्ययन पूरा गरी उच्च शिक्षाको लागि मोरङ जिल्लाको उर्लाबारीमा चारवर्ष जति बिताएका रमेश मगरले बिए सम्मको अध्ययन पूरा गरेका छन् । मोरङकै एक स्थानीय सङ्गीत प्रशिक्षण केन्द्रमा केही महिना सङ्गीत सिकेका रमेश सङ्गीत, शिक्षा र अवसरको खोजीमा एउटा मीठो सपना बोकेर राजधानी छिरेका थिए । बाहिरबाट राम्रो र सुन्दर देखिने काठमाडौं शहरमा केही बर्ष स्कुले बालबालिकाहरुलाई पढाउने पेशा पनि गरेका रमेश सङ्घर्षकै सिलसिलामा हाल दक्षिण कोरियामा रहेका छन् ।
कोरियाको बसाईमा गीतकार राम कुमार राई सँगको भेटले सङ्गीतमा अरु केही गर्ने उत्साह र जोश बढाएको रमेश बताउँछन् । गीतकार राम कुमार राईकै शब्द र खोटाङ आइडल तेज राईको स्वरमा रहेको गीत सुस्त हावा शितल छाया उनको सङ्गीतमा रेकर्ड भएको पहिको गीत हो । बिदेशी भूमिमा अत्यन्तै व्यस्त हुँदाहुँदै पनि हालसालै आफ्नै शब्द तथा सङ्गीतमा उनले लोकप्रिय गायक राजेशपायल राईको आवाजमा नसम्झाऊ अतितका ती तीता पलहरु र खै के भयो के भयो बोलका दुईवटा गीत रेकर्ड गराएका छन् । पछिल्लो गीत खै के भयो के भयो को भने गायक / सङ्गीतकार सन्तोष दुमीको निर्देशनमा छिट्टै भिडियो आउन लागिरहेको जानकारी प्राप्त भएको छ । जसमा धन खालिङको छायाङ्कन तथा सम्पादन र किशन भुसालको कोरियोग्राफी रहेको छ भने एलिस राई, नग्मा श्रेष्ठ र निनाम हाङ राईको अभिनय रहेको छ ।