सारा विश्व नै कोरोना भाइरसको डरलाग्दो महामारीबाट विचलित भइरहेको बेला बिभिन्न पेशा या व्यवसायमा आवद्ध व्यक्तिहरुले आ- आफ्नो विधा र दक्षता अनुसार जनतालाई सान्त्वना दिन र आत्मबल बढाउन योगदान गर्दै आइरहेको आजको अवस्थामा सर्जक / कलाकारहरु पनि यसबाट टाढा रहन सकेका छैनन् । अहिले यो महामारी सम्बन्धी बिभिन्न गीत, गजल, मुक्तक, कविता जस्ता साहित्यिक लेख – रचनाहरु आईरहेको सन्दर्भमा गीतकार प्रकाश सुवेदीको शब्दरचना, भ्वाइस अफ नेपालका प्रथम विजेता गायक सीडी विजय अधिकारीको सङ्गीत तथा स्वर, राजु कार्कीको सङ्गीत संयोजन र कुशल सम्पादक वीरेन्द्र भाट विपिनको भिडियो सम्पादनमा जे छ घरमा मीठो नमिठो त्यही खाऊ हुन्न र ? बोलको गजलको भिडियो सार्वजनिक भएको छ । अनुरोधात्मक शैलीमा लेखिएको यो चेतनामूलक गजल सि. डि. एम. म्यूजिक क्रिएशन र स्टूडियो किङ्गको सहकार्यमा भरखरै बजारमा आएको हो ।
वर्तमान समस्यालाई नै आधार बनाएर केहीदिन अघिमात्र मेरो विश्व मेरो घर र
भो शुभकामना नपठाऊ जस्ता सन्देशमूलक गीतहरु सार्वजनिक गरेका गजलकार एवं गीतकार प्रकाशले यो गजल मार्फत घर बाहिर निस्कँदा सङ्क्रमित हुन सक्ने हुनाले सरकारले निर्देशन गरेको नियम पालना गर्दै घरमा जे छ त्यसैले निर्वाह गरी स्वयं र संसारलाई बचाउँन आह्वान गरेका छन् । गीतले भन्छ-
जे छ घरमा मीठो नमिठो त्यही खाऊ हुन्न र
छैनन् खुलेका नधाउनु बजार थोत्रै लाऊ हुन्न र
हरेक साँझ दोहोरी डिस्को डान्स बार जानेहरू
बजाई खैंजडी मुजुरा भजन, घरमै गाऊ हुन्न र
धराभरि विपत्ति छाएको छ अटेर गर्छौ किन
हामी आफू बाँचौं बचाऔं संसार बाहिर नजाऊ हुन्न र
भन्दैन यसले धनी र गरिव उच नीच पनि
रूँदैछ दुनियाँ बिलौना गरी तिम्लाई घाउ हुन्न र