–तुलसी गिरी ‘भावुक’
गायिका सरिता शाहीले केहीदिन अघि नेपाल भाषाको गीति एल्बम ‘मतिनाया चिखि’ अर्थात् ‘मायाको डोरी’ सार्वजनिक गरेकी छिन् l पूर्णकाजी ज्यापूको एकल शब्दरचना र जुगल डंगोलको एकल सङ्गीत रहेको यस एल्बममा ‘ह्या:मि पहलं मुसुं न्हीला’, ‘चाकुमाकु धागु’ {ज्व: म्ये } र ‘न्यया गाच्व: व्यना वल’ बोलका ३ गीत रहेका छन् l जसमध्ये दुईवटा गीत सरिताको एकल स्वरमा रहेका छन् भने एउटा युगल गीतमा उनलाई यमन श्रेष्ठले स्वरमा साथ दिएका छन् l केहीदिन अघि राजधानीमा एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमै एल्बम सार्वजनिक गरिएको थियो l तीनवटै गीत रोमान्टिक भावमा रहेको कुरा गीतकार पूर्णकाजीले जानकारी गराएका छन् l गीतहरु भिडियो बन्ने क्रममा रहेको कुरा थाहा भएको छ l
यसैगरी अग्रज हास्य-व्यंग्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठसँग उनले गाएको आधुनिक युगल गीत ‘सङ्लो मनको मनकारीलाई’ हालै सार्वजनिक भएको छ l शब्द, सङ्गीत र गायकी तीनै पक्षबाट गीत अत्यन्तै सुन्दर बनेको छ l वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द तथा वरिष्ठ सङ्गीतकार शक्ति भल्लभको सङ्गीतमा रहेको रोमान्टिक भावको यो गीतले उनको पहिचानलाई अझ व्यापकता दिने छ भन्ने अनुमान गर्न सकिन्छ l
पहिलोपटक २०५६ सालमा वरिष्ठ सङ्गीतकार शिला बहादुर मोक्तानको सङ्गीतमा नेपाली भाषाको गीत ‘बसेकी छु तिमी आउने दिन गनेर’ रेकर्ड गरी औपचारिक रुपमा गायन यात्रा आरम्भ गरेकी सरिता शाहीले नातिबज्रको शब्द र मनराजा नकर्मीको सङ्गीतमा २०७० मा पहिलो नेवारी गीत रेकर्ड गरेकी थिईन् l ‘गीत दार्शनिक टाइपको थियो’ उनी भन्छिन् l त्यो बेलाको चर्चित गायन रियालिटी शो ‘ब्राइटर तिम्रो सुर मेरो गीत’ प्रतियोगिता अन्तर्गत २०५७ सालकी विजेता समेत हुन् सरिता शाही l ‘मतिनाया चिखि’ अर्थात् ‘मायाको डोरी’ उनको पहिलो एल्बम भएपनि यसअघि उनले नेपालभाषाका लगभग ३ दर्जन, नेपाली भाषाका लगभग ६ दर्जन र ३ वटा नेवारी चलचित्रमा स्वर दिईसकेकी छिन् l ‘यसअघि कलेक्शन एल्बमहरुमा मात्र गाएँ l आफ्नो छुट्टै एल्बम निकाल्ने सोच नै भएन l तर एल्बमको छुट्टै महत्व हुने रैछ l आगामी दिनमा एल्बमलाई पनि निरन्तरता दिन्छु’ उनी भन्छिन् l
जमलस्थित साँस्कृतिक संस्थान { राष्ट्रिय नाचघर } मा एकबर्ष र डोरेमी सङ्गीत पाठशालामा २ बर्षसम्म सङ्गीतको प्रशिक्षण लिएकी सरिताले पद्मकन्या कलेज पढ्दा आईएदेखि नै ऐच्छिक विषय सङ्गीत लिएकी थिईन् l ‘पद्मकन्यामा थर्ड ईयरसम्म म्युजिक लिएर पढें’ उनी भन्छिन् l कलेजमा आयोजित आधुनिक गीत प्रतियोगितामा उनी प्रथम समेत भएकी थिईन् भने २०७० सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक गीत सम्मेलनमा उनी समग्रमा तेस्रो र महिलातर्फ पहिलो भएकी थिईन् l डोरेमीमा सङ्गीत सिक्दैगर्दा दुर्गालाल श्रेष्ठको शब्दरचना र न्ह्यु बज्राचार्यको सङ्गीतमा उनले गाएको गीत बजारमा निक्कै लोकप्रिय पनि भएको थियो l जुन गीतबाट उनले ‘वेष्ट फिमेल भोकल’ विधा अन्तर्गत २०७० सालमा ईमेज अवार्ड समेत जितेकी थिईन् l
सङ्गीत क्षेत्रमा क्रियाशील भईरहेकै अवस्थामा बिबाह भएपछि पारिवारिक जिम्मेवारीका कारण केही बर्ष ओझेलमा रहेकी सरिताको हिजोआज सक्रियता निक्कै बढेको छ l ‘ग्याप समयमा पनि रियाज भने निरन्तर गरिरहें’ उनले सङ्गीतप्रतिको आफ्नो लगाव र झुकावबारे स्पष्ट पारिन् l साङ्गीतिक प्रस्तुतिका लागि मुलुक बाहिर ईजरायलसम्म पुगेकी उनले मुलुकभित्र काठमाण्डौ उपत्यकाका बिभिन्न ठाउँ लगायत पोखरा र चितवनका कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिएकी छिन् l हिजोआज बिभिन्न लाइभ कार्यक्रमहरुमा समेत स्टेजमा उनलाई प्रशस्तै देखिन थालेको छ भने गीत रेकर्डिङमा पनि उनी व्यस्त रहन थालेकी छिन् l उनको दैनिकी सङ्गीतमय बन्दै गईरहेको छ र मिडियाहरुमा पनि उनलाई पढ्न र सुन्न थालिएको छ l
सानैदेखि सङ्गीतमा रुची, लामो समय सङ्गीतको प्रशिक्षण र साधना अनि बिभिन्न समयमा पुरस्कृत एवं प्रतिस्पर्धाहरुमा बिजयी समेत भएकी सरिताबाट नेपाली सङ्गीत क्षेत्रले अपेक्षा गर्ने धेरै ठाउँहरु छन् l आगामी दिनमा सङ्गीत भण्डारलाई अझ समृद्ध बनाउनमा उनको पनि अहम भूमिका रहने छ भन्ने कुरा नि:सन्देह विश्वास गर्न सकिन्छ l