–तुलसी गिरी ‘भावुक’
सङ्गीत तथा चलचित्र उत्पादक समाजकी सीईओ ज्योत्स्ना भट्टराई मलेशियामा हालै सम्पन्न वौद्धिक सम्पति सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको एडभान्स ट्रेनिङमा सहभागी भई स्वदेश फर्कनुभएको छ l सो तालिम National Technological Capacity Building को आयोजनामा गत अप्रिल २८ देखि मे १७ सम्म स्विडेनमा आयोजित ट्रेनिङकै फलोअप कार्यक्रम भएको कुरा सीईओ भट्टराईले जानकारी गराउनुभयो l खुला प्रतिस्पर्धामा विकाशोन्मुख देशका ६ सय ९९ प्रतिस्पर्धीहरुमध्येमा सो ट्रेनिङका लागि नेपालबाट उहाँ छनोट हुनुभएको थियो l मलेशियामा सम्पन्न फलोअप कार्यक्रम १ हप्ताको रहेको कुरा उहाँले जानकारी गराउनुभएको छ l
सीईओ भट्टराईका अनुसार कार्यक्रममा वौद्दिक सम्पति अन्तर्गतका औद्योगिक सम्पति र ट्रेडमार्क डिजाइन सम्बन्धी विशेष छलफल भएको थियो भने विज्ञान र प्रविधिको माध्यमबाट नवीन आविष्कार गरी विकाशोन्मुख देशहरुको आर्थिक क्षमता बढाउन वौद्धिक सम्पतिलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा कार्यक्रमको उद्देश्य केन्द्रित रहेको थियो l ‘मैले कन्ट्री प्रोजेक्टका रुपमा Case Study of Music Royalty Collection From Public Transportation Sector in Nepal’ प्रस्तुत गरेकी थिएँ’ भट्टराईले भन्नुभयो l कार्यक्रममा बङ्गलादेश, भूटान, कम्बोडिया, ईथियोपिया, लाओस, मलावी, मोजाम्बिक, म्यानमार, रुवाण्डा, सुडान, तान्जानीया र जाम्बीयाका २७ जनाको सहभागिता रहेको थाहा भएको छ l
भट्टराई २०७३ सालदेखि सङ्गीत तथा चलचित्र उत्पादक समाजमा सीईओको रुपमा कार्यरत हुनुहुन्छ l यस संस्थामा आवद्ध हुनुअघि उहाँ ‘रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर’ मा कार्यरत हुनुहुन्थ्यो भने उहाँले ‘काठमाण्डौ स्कूल अफ ल’ बाट कानूनमा एलएलबी र एलएलएम सम्मको अध्ययन पूरा गर्नुभएको छ l ‘कानुनको विद्यार्थी भएकोले मलाई पहिलादेखि नै प्रतिलिपि अधिकार सम्बन्धी विषयमा विशेष चासो लाग्ने गर्दथ्यो’ उहाँले भन्नुभयो l