साहित्यकार झमक घिमिरेद्वारा लिखित मदन पुरस्कार विजेता वहुचर्चित कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ आगामी कार्तिक २२ गतेबाट देशैभरका सिनेमा हलमा प्रदर्शन हुने भएको छ । चलचित्र विनोद विष्टको निर्माण तथा निर्देशनमा तयार भएको हो ।
चलचित्रमा झमक सानो छँदाको भूमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भूमिकामा काठमाडौंकी रोजिता वुद्धचार्यले अभिनय गरेका छन् भने झमककी बहिनीको बाल भूमिकामा स्वीकृति शर्मा र ठूलो हुँदाको भूमिकामा आधुनिक गीत गायन तथा भिडियो मोडलिङमा समेत राम्रो ख्याती भएकी कलाकार सारिका घिमिरेको अभिनय रहेको छ । यसैगरी बुबाको भूमिकामा किसन सुनार, आमाको भूमिकामा उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधान लगायत ३० भन्दा बढी कलाकारले अभिनय गरेको कुरा चलचित्रका निर्माता तथा निर्देशक विनोद विष्टले जानकारी गराएका छन् ।
झमक घिमिरेको कथामा मुक्ति उपाध्याय बरालको पटकथा रहेको यस चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेका छन् भने प्रकाशकै सङ्गीतमा जुनु गौतम, सविता गजमेर र मिना निरौलाले स्वर दिएका छन् । जसमा कमल राईको नृत्य निर्देशन रहेको छ । यसैगरी शिव ढकालको छायाङ्कन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यस चलचित्रमा बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम सह निर्माताका रुपमा रहेका छन् । श्रीराम वालाजी टेलि फिल्मका सुनिल मानन्धर मार्फत वितरण हुने यो चलचित्रको यसअघि नै पोष्टर, गीत र ट्रेलर सार्वजनिक भईसकेका छन् । यस चलचित्रका निर्माता/निर्देशक विष्टले यसअघि ‘प्रेम प्रतिक्षा’, ‘सङ्ग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण/निर्देशन गरिसकेका छन् ।
Song Link