सङ्घर्षका १३ बर्ष l योजना भन्छिन् – ‘आमाले ‘वर्थ डे गिफ्ट’ दिनुभएको सुनको रिङ बेचेर पहिलो गीत रेकर्ड गरें l’

  – तुलसी गिरी ‘भावुक’

‘यसपाली तीजमा मीठो दर खाइन्छ, चुले निम्तो छ है दर खानलाई l’ गायिका योजना पुरीको तीजगीतले यतिबेला युट्युबमा राम्रै लोकप्रियता हासिल गरिरहेको छ l Guruaama Films नामक युट्युब च्यानलमा अपलोड भएको ‘चुले निम्तो’ ले यो समाचार लेखिरहँदा युट्युबमा पौने २ लाखको हाराहारीमा भ्युज पाईसकेको छ l रविन विष्टको शब्द, गौरव दर्पणको सङ्गीत र सन्जिव बराईलीको म्युजिक एरेन्ज रहेको यो गीतको भिडियो स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशन र प्रकाश धमलाको सम्पादनमा निर्माण भएको हो l भिडियोमा अन्जली अधिकारी र फुलन्देकी आमा प्रमुख मोडलको भूमिकामा देखिएका छन् l २०६३ सालमै झापाको दमकमा पप आधुनिक शैलीको गीत ‘सम्झन्छु तिमीलाई’  रेकर्ड गरेर औपचारिक रुपमा सङ्गीत यात्रा सुरु गरेकी योजनाले चारबर्ष अघि पहिलोपटक तीजगीत प्रकाशन गरेकी थिईन् भने त्यसपछि हरेक बर्ष उनले तीजको अवसरमा गीत प्रकाशन गर्दै आईरहेकी छिन् l ‘चुले निम्तो’ यसैको निरन्तरता भएको कुरा उनले बताएकी छिन् l

योजना पुरीको जन्म तत्कालिन मोरङ, राजघाट र हालको उर्लाबारी निवासी पिता गोपीलाल र माता राजकुमारी पुरीको परिवारमा पहिलो सन्तानका रुपमा भएको थियो l उनीपछि ३ बहिनी र २ भाइको पनि जन्म भयो l तत्कालिन महाराजथान स्कुल, अरनिको { दुर्गापुरी } र उर्लाबारी मल्टिपल कलेज हुँदै कान्तिपुर सिटी कलेज, काठमाण्डौ सम्मको शैक्षिक यात्रा गरेकी योजनाले मास कम्युनिकेशनमा स्नातकोत्तर गरेकी छिन् l आफ्नो गाउँघर होस् या कर्मक्षेत्र, दौंतरीहरु माझ माष्टर डिग्री हासिल गर्ने थोरै मध्येकी एक हुन् उनी l

‘म सानैदेखि गीत-सङ्गीतप्रति एक्दमै झुकाव राख्थें l गीत गाउँछु गाउँछु, म गायिका बन्नै पर्छ भन्ने मनमा थियो l तर कसरी ? त्यो चाहिं थाहा थिएन l अलि ठूलो हुँदै गएपछि बुबाआमालाई मेरो रुचीबारे थाहा भयो l तर सङ्गीतमा लागेर छोरीको भविष्य बिग्रेला कि भन्ने उहाँहरुलाई चिन्ता थियो l म नर्स, डाक्टर या कुनै सरकारी जागिरे भएको उहाँहरु हेर्न चाहनुहुन्थ्यो’ योजनाले आफ्ना विगत सम्झंदै भनिन् l उनी त्यहीबेला रेडियोतिर पनि फोन गरिरहन्थिन् र गीत पनि गाउँथिन् र कतिपटक त विजेता पनि बन्थिन् l ‘त्यो बेला म गीतको अर्थै बुझ्दिन रैछु र राम्रा गीत रैछन् तर मलाई मन पर्दैनथ्यो l त्यो कुरा पछि थाहा पाएँ’ उनले आफैंलाई समीक्षा गरिन् l

बाल र किशोर उमेरसम्म योजना अत्यन्तै चुल्बुले र जिज्ञाशु  स्वभावकी थिईन् l गीत गाउने, खेलकूदहरुमा सहभागी हुने र पुरस्कृत भईरहने उनी घरमा पनि उत्तिकै जिम्मेवार थिईन् l स्कुलमा सरहरुले पनि ‘यो केटीले चाहिं केही गर्छे है !’ भन्थे l घरका काम, भाइ बहिनीहरुको रेखदेख र पढाइका बारेमा उनलाई कसैले सम्झाईरहनै पर्दैनथ्यो l त्यसैले त गाउँमा मान्छेहरु आफ्ना छोरीलाई गाली गर्दा ‘पुरी साइँलाकी छोरी जस्तो’ भन्ने उदाहरण दिन्थे l कसैसँग बोल्न धक नमान्ने र सहयोग गर्न पनि तम्सिहाल्ने उनको स्वभाव देखेर धेरैले उनलाई ‘हुने बिरुवाको चिल्लो पात’ भनेर प्रशंसा गर्थे l आम केटाकेटी भन्दा उनको सोच फरक थियो र हरेक कुरामा दिमाग अलि बढी नै चलाउँथिन् l आफ्नो चाहनामा सम्झौता गर्ने स्वभाव नभएकी योजना अभिभावकहरुले भनेको पनि मान्दै आफूले चाहेको पनि गरेरै छाड्थिन् l उनलाई जसरी पनि गायिका नै बन्नु थियो l तर घरको दबाबमा धेरैपटक उनी नर्सको ‘इन्ट्रान्स’ दिन गईन् l ‘जान त गएँ तर हरेकपटक जानीजानी फेल गरिदिएँ’ उनी हाँस्दै भन्छिन् l ‘ठूलो बाकी छोरीले रातभर ड्युटी गरेको देखेकी थिएँ l मलाई त्यसरी काम गर्न सक्छु जस्तो लागेन l म सोच्थें, नर्सले सीमित मान्छेको सेवा गर्ने हो l तर गायिका भएपछि नाम / दाम दुबै कमाउँछु’ उनले मनको कुरा खोलिन् l

योजनालाई सानैदेखि पत्र पत्रिका पढ्न खूब मन पर्थ्यो l तर गाउँमा पत्रिका पुग्दैनथ्यो l उनी रेडियो धेरै सुन्थिन् l यसभित्र कत्रा मान्छे बसेका होलान् ? उनको मनमा ठूलो जिज्ञाशा थियो l ‘म ६ बर्षकी थिएँ l दशैंको बेला, मम्मिहरु मामाघर जानुभएको थियो l घरमा एक्लै थिएँ l सानासाना मान्छे हेर्नका लागि मैले रेडियो फुटालेकी थिएँ’ उनले बालशुलभ आफ्नो जीवनकथा सुनाईन् l

गायिका बन्नको लागि म्युजिक सिक्नैपर्ने रैछ भन्ने बुझेपछि  कलेज पढ्न सुरु गर्नासाथ उनले म्युजिक पनि सिक्न थालेकी थिईन् l ‘मलाई हातै समाएर सारेगम सिकाएको चाहिं यशोदा शाक्यले हो l त्यसपछि एडभान्स कोर्स बिहानी कला केन्द्र, उर्लाबारीमै कुशेश्वर राईसँग गरें l काठमाण्डौ आएपछि राम सिटौला, मदनगोपाल, भारतीय दुताबास लगायत विभिन्न गुरु र इन्स्टिच्युटमा सिकें l के फरक हुँदोरैछ त भनेर यति गुरु फेरें कि कतिको त नामै याद छैन l अन्तिममा बुझें साधना नै ठूलो कुरा रैछ’ योजना भन्छिन् l ०६३ सालमा पहिलो गीत रेकर्ड गर्नका लागि उनले आमाले ‘वर्थ डे गिफ्ट’ दिनुभएको सुनको रिङ आमासँग सहमती लिएर बेचेकी थिईन् l पहिलो गीत रेकर्ड भएपछि स्टुडियोले नै मन पराएर उनीहरुले नै भिडियो समेत बनाईदिएका थिए l त्यो गीतले योजनालाई पूर्वी भेकमा राम्रै चिनायो पनि l ‘अरुको सहारामा भन्दा पनि आफ्नै सोलो स्वरबाट परिचय बनाउने ईच्छा थियो, अलिअलि भएपनि त्यो गीतले पूरा गरिदियो’ उनले खुशी व्यक्त गरिन् l 

०६५ सालमा सँगै काठमाण्डौ आएर तारा लिम्बू र योजनाले संयुक्त एल्बम New Way प्रकाशन गरेका थिए l ‘त्यो बेला म सँग भएको सुन बेचें र बाबासँग पनि पैसा मागें l हामी ३ महिना काठमाण्डौ बस्यौं र एल्बम तयार गर्यौं’ योजनाले भनिन् l त्यो एल्बमले उनको पहिचान स्थापित गर्न अझै ठूलो भूमिका खेल्यो l एल्बमका गीत मध्ये ‘घरै हाम्रो पूर्वान्चल’ धेरै लोकप्रिय भयो l तर यो एल्बमले उनको तिर्खा मेटिनुको साटो झन् बढेर गयो l कहिले काठमाण्डौ जाने र सङ्घर्ष गर्ने भन्ने छटपटीले सताउन थाल्यो l उनी काठमाण्डौ बस्नेगरी भने ब्याचलर पढ्दै गर्दा आएकी हुन् l राजधानी आएपछि उनी केही समय काका प्रकाश पुरीसँग बसिन् l काकाले फाईनान्समा जागिर खोजिदिनुभएको थियो तर गएँ भन्दै ढाँट्दै उनी अनामनगर रेडियो उदघोषण तालिममा जान्थिन् l ‘अरु बोलेको सुन्दा यत्तिको त म पनि बोल्छु जस्तो लाग्थ्यो l तालिममा मैले राम्रो गरें र त्यहींबाट छनोट भएर रेडियोमा काम गर्न थालें l काम खोज्न हिंड्नै परेन l रेडियोमा बोल्ने ईच्छा थियो, त्यो पनि पूरा गरें l अनलाइनमा काम गरें र टेलिभिजनमा पनि कार्यक्रम चलाएँ l मैले काम सुरु गर्दा रेडियोको क्रेज पनि अहिलेको भन्दा धेरै राम्रो थियो’ उनले आफ्नो सङ्घर्षका विगतहरु सुनाईन् l

संयुक्त स्वरको ‘न्यु वे’ साथै एकल स्वरका एल्बम ‘मनै त हो’ र ‘समर्पण’ प्रकाशन गरिसकेकी योजनाका फुटकर रुपमा समेत ५ दर्जनजति गीत रेकर्ड भएका छन् l उनले केही चलचित्र गीतमा समेत स्वर दिएकी छिन् l ‘तर कस्तो कस्तो चलचित्रमा गीत गाएछु ! कतिको नाम नै थाहा भएन, कति त रिलिज नै भएनन्’ उनी ठट्टा शैलीमा हाँस्दै भन्छिन् l ‘घर त हाम्रो पूर्वान्चल, मनै त हो मायालु, घार्र घुर्र मदानी, सान्नानी, पहाडकी छोरी हुँ म, औंठी खसेछ, ए शिवजी {तीज} र यसपालीको तीजमा { तीज } उनका लोकप्रिय गीत हुन् l विदेशमा हङ्कङसम्म पुगेकी योजना नेपालका धेरै ठाउँका स्टेजहरु उक्लिसकेकी छिन् l रक शैली बाहेकका सबै प्रकारका गीतमा स्वर दिएकी उनी आफूलाई रोमान्टिक गीत गाउँन नै बढी रमाईलो लाग्ने कुरा बताउँछिन् l ‘प्रोग्रामतिर जानका लागि पनि भनसुन र नातागोता चाहिने रैछ’ उनले मनको तीतो पोखिन् l अवार्डका बारेमा जिज्ञाशा राख्दा उनी छोटो जवाफ दिन्छिन् -‘ नोमिनेशनमा त धेरै परियो तर मैले अहिलेसम्म अवार्ड किनेको छैन l’

योजना आम केटीहरु भन्दा यसकारण फरक सोचकी छिन् कि उनी हरेक चुनौती र समस्यालाई सहज रुपमा लिन्छिन् l अनावश्यक कुरा गर्ने या चासो राख्ने उनको फिटिक्कै बानी छैन l उनमा जस्तो उदारता, धैर्यता, आत्मविश्वास र साहस विरलै नारीहरुमा अनुभव हुने गर्दछ l उनमा सङ्कुचित सोच तिलको दानाजति पनि छैन l उनलाई एउटी अथक, जुझारु, ईच्छाशक्तिको अथाह भण्डार भएकी, निडर र दयालु युवतीको रुपमा पनि मूल्याङ्कन गर्न सकिन्छ l त्यो उनको जेनेटिक गुण हो l जो उनको नजिक छ उसलाई यो कुरा थाहा छ र जसले योजनालाई चिनेको छैन या उनको आकृतिलाई मात्र चिनेको छ उसलाई यी कुरा अपाच्य पनि लाग्न सक्छ l

योजना अहिले सञ्चारमै आवद्ध रहेर स्वरोजगार छिन् l ‘मेरो लागि सङ्गीत र सञ्चार रथका दुई पाङ्ग्रा हुन्, दुबै छाड्न सक्दिन l’ उनी भन्छिन् l कुराकानीको अन्तिम अन्तिम समयमा बिबाहको बारेमा राखिएको जिज्ञाशाबारे उनले भनिन् -‘केहीबर्ष अगाडि एउटा प्रस्ताव आएको थियो l सबैकुरा राम्रै थियो, तर बिबाह पछि यो फिल्ड छाड्नुपर्ने रे ! मैले स्वीकार्न सकिन l’

Video Link