– तुलसी गिरी ‘भावुक’
राष्ट्रिय स्तरको क्रिकेटर बन्ने सपना बोकेर ६ वर्ष अघि राजधानी प्रवेश गरेका सुदूरपश्चिम, बैतडीका राम सिंह भाट क्रिकेट खेलमा सोचे जस्तो अवसर नपाएपछि अन्ततः म्युजिक भिडियो छायाकार बनेका छन् l बैतडीको गुजर गाउँ उनको जन्मथलो हो l टेलिभिजनमा क्रिकेट खेल हेर्दाहेर्दै त्यो खेलप्रति सानैदेखि आकर्षित भएका रामले अलि ठूलो भएपछि भारत गएर खेलका लागि चाहिने सबै सामान ल्याएका थिए l क्रिकेट खेल्नका लागि पर्याप्त दौंतरीहरु नहुँदा केटाकेटी जम्मा पारेर चौरतिर कुद्ने गरेका राम अलि ठूलो भएपछि क्रिकेट खेलाडीका रुपमा धेरैको नजरमा पर्न थालेका थिए l गृह जिल्लामै हुँदा उनले जिल्ला र क्षेत्रीयस्तरका धेरै खेलहरु खेले l मान्छेको सपना र आकाङ्क्षा एकपछि अर्को गर्दै बढिरहेको हुन्छ l जति सफल भएपनि, जति उचाई हासिल गरेपनि मान्छे कहिल्यै तृप्त हुँदैन l उनलाई पनि स्वाभाविकै रुपमा त्यस्तै भयो l जिल्ला र क्षेत्रीयस्तरका खेलहरु खेलिसकेपछि राष्ट्रिय स्तरको खेलाडी बन्ने सपना बोकेर २०७० सालमा उनी काठमाण्डौ प्रवेश गरे l ‘दाइ वीरेन्द्र भाट ‘विपिन’ काठमाण्डौमा हुनुहुन्थ्यो l मेरो ईच्छा बुझेर दाइले नै बोलाएपछि खुशी भएर काठमाण्डौ आएँ l त्यो बेला मेरो भुइँमा खुट्टा थिएन’ उनी विगत सम्झंदै भन्छन् l
राम सिंह पिता मेघनाथ र माता भुरिदेवी भाटका कान्छा सन्तान हुन् l परिवारमा उनी अघि २ दाजु र २ दिदीको जन्म भएको थियो l एस.एल. सी. गरेपछि स्थानीय श्री कृष्ण मा. बि., पाटनबाट प्लस टुको परीक्षा दिएर उनी काठमाण्डौ प्रवेश गरेका थिए l काठमाण्डौ आएपछि तत्कालै उनी बालुवाटार क्लवमा आवद्ध भए र जोशका साथ क्रिकेट खेल्न थाले l ‘मैले १ वर्षसम्म लगातार खेलें l तर ठूला गेममा कतैपनि चान्स पाइन l सानातिना गेममा पनि पछाडि मात्र पालो आउंथ्यो l आफ्नो मान्छे र भनसुन नभए अलमलमै जिन्दगी बित्ने रैछ भन्ने बुझेपछि बिस्तारै क्रिकेटप्रतिको मेरो मोह मर्दै गयो l खेलमा जाँगर नै चल्न छाडेपछि दाइ वीरेन्द्रको पछिपछि लागेर हिंड्न थालें’ उनले आफ्ना सङ्घर्षमय विगतहरु बेलिबिस्तार लाए l
वीरेन्द्र भाट वर्तमानका एक जानेमाने सिनेम्याटोग्राफर एवं सम्पादक हुन् l विगत १६ वर्षदेखि यस क्षेत्रमा क्रियाशील वीरेन्द्र प्राय: शुटिङ र सम्पादनमा त्यो बेला नै व्यस्त भईरहन्थे l क्रिकेटबाट विरक्तिएपछि राम पनि वीरेन्द्रकै पछि लागेर शुटिंङतिर जान थाले l ‘नेटवर्क’ फिल्मको शुटिङ चलिरहेको थियो l दाइ क्यामेराम्यान हुनुहुन्थ्यो l दाइको पछाडि बसेर क्यामेराको सेटिङ मिलाएको र खिचेको घन्टौं हेर्थें र काम पनि सघाउँथें l नबुझेका कुरा सोधिरहन्थें l पहिला मलाई यो बारेमा केही थाहा पनि थिएन र रुची पनि थिएन l तर समयको खेल ! बिस्तारै रुची बढ्दै गयो’ राम भन्छन् l
सुरुका केही महिना आफ्नै दाइ वीरेन्द्रको सहायक भएर अनुभव बटुलेका रामले २०७१ को अन्तिम अन्तिम देखि नै फुल क्यामेराम्यान भएर भिडियो खिच्न थालिसकेका थिए भने २०७३ देखि उनले सम्पादन समेत सुरु गरे l ‘आफ्नै दाइको कारणले मैले छोटो समयमा जेरो लेभलबाट क्यामेराबारे सबैकुरा सिक्ने मौका पाएँ l म प्राक्टिकल अभ्यास गरेर आएको हुँ र अहिले सबै प्रकारका क्यामेरा चलाउन सक्छु’ उनले गर्वका साथ भने l यस बीचमा रामले अनगिन्ति भिडियो तथा वृत्तचित्रहरुको छायाङकन र सम्पादन गरिसकेका छन् l उनी जति कुशलताका साथ क्यामेरा चलाउँछन् त्यति नै अब्बल सम्पादक समेत हुन् l तथापि उनी आफूलाई क्यामेराम्यान भन्न बढी रुचाउँछन् l ‘मेरो पहिलो प्राथमिकता क्यामेरा नै हो र म छायाकारका रुपमा अगाडि बढ्न चाहन्छु’ उनले आफ्नो लक्ष्यबारे स्पष्ट पारे l