‘छायाछवि तीज म्युजिक अवार्ड’ को दर्ता खुल्यो

छायाछवि क्रियशनले विगत ६ वर्षदेखि आयोजना गर्दै आएको  ‘छायाछवि तीज म्यूजिक अवार्ड’ को लागि गीत दर्ता गर्न सार्वजनिक रुपमा आब्हान गरिएको छ । हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग र  खुशी गीत मार्फत प्रस्तुत गर्ने चलन छ । पहिले पहिले खासगरी कर्म घरबाट पीडित नारीहरुले आफ्नो  पीडा गीत मार्फत प्रस्तुत गर्ने प्रचलन भएपनि बदलिँदो समयक्रमसँगै   आएको परिवर्तनले गर्दा  तीजगीतका विषय र  शैलीमा पनि  व्यापक परिवर्तन आएको देखिन्छ । यही  क्रमका गीतका विषयवस्तुमा पनि शहरी प्रभाव परेको महसुस गर्न सकिन्छ भने तीजगीतमा दोहोरी गाउने चलन पनि आईसकेको छ । तीजका अवसरमा कति गीत प्रकाशन हुन्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि भिडियो सहित आउने यस्ता गीतमा करोडौंको लगानी हुने गरेको अनुमान गर्न सकिन्छ l यो एउटा साँस्कृतिक पाटो समेत भएकोले प्रोत्साहन स्वरूप  तीज गीतका श्रष्टा / कलाकार र प्राविधिक पुरस्कृत होउन् भनेर तीजगीत  अवार्डको आयोजना गर्ने गरिएको कुरा कार्यक्रमकी संयोजक गीता अधिकारीले बताएकी छिन् ।

छायाछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले ‘छैटौं तीज म्यूजिक अवार्ड’ मा तीजका विभिन्न ३० विधाका सर्जक / कलाकार र प्राविधिकहरुलाई पुरस्कृत गरिने जानकारी गराएका छन् । साथै प्रियले तीज अवार्ड आगामी भाद्र १२ गते एक भव्य कार्यक्रमको आयोजना गरी काठमाडौंमा सम्पन्न गरिने समेत जानकारी गराए ।