– तुलसी गिरी ‘भावुक’
चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा चलचित्रकर्मीहरुलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ बाट पुरस्कृत गरिएको छ । विविध कारणवश ०७३ सालदेखि यस प्रकारको कार्यक्रम आयोजना नभएको हुँदा यो बर्ष २०७३, २०७४ र २०७५ तीन बर्षको पुरस्कार तथा सम्मान एकैपटक वितरण गरिएको छ । कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले समग्र चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवर्धनका लागि यो पुरस्कार तथा सम्मानले महत्वपूर्ण प्रभाव पार्ने र सबै चलचित्रकर्मीहरुमा थप हौसला र प्रेरणा मिल्ने धारणा व्यक्त गरेकी थिईन् ।
राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत सबै चलचित्रकर्मीलाई जनही नगद रु. २५ हजार , प्रमाणपत्र र ट्रफीबाट सम्मान गरियो । यसैगरी दीर्घ साधना सम्मानबाट सम्मानित हुने वरिष्ठ चलचित्रकर्मीहरुलाई जनही नगद रु. ३ लाख ५१ हजार १ सय ११ (तीन लाख एकाउन्न हजार एक सय एघार रुपैया }, ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मानित गरिएको थियो । कार्यक्रममा तीन वर्षका जुरी सदस्यहरुलाई समेत प्रमाणपत्रबाट सम्मान गरियो ।
कार्यक्रमको सुरुआतमा नेपाली चलचित्रको बिभिन्न कालखण्डका उत्कृष्ट गीतहरुमा आधारित रहेर तयार पारिएको नृत्य प्रस्तुति रहेको थियो । यस प्रस्तुतिमा चलचित्रको कालखण्डको प्रतिनिधित्व देखिनेगरी विगतदेखि वर्तमानसम्मका कलाकारहरुको समेत संलग्नता रहेको थियो । नृत्यको संयोजन तथा निर्देशन वरिष्ठ नृत्य निर्देशकहरु वसन्त श्रेष्ठ, राजु शाह, कमल राई, गोविन्द प्रभात, कविराज गहतराज र दीपेन्द्र तिमल्सिनाले गरेका थिए । कार्यक्रमको अन्त्यमा चलचित्र विकाश बोर्डका अध्यक्ष केशव भट्टराईले सबैप्रति हार्दिकता प्रकट गरेका थिए ।