बहुमुखी प्रतिभा थोमस

– तुलसी गिरी ‘भावुक’

गायक थोमस राई हालै हङकङमा एकल गायनको कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएका छन् l ‘हङकङ हिमायती’ को निमन्त्रणामा ‘नेपाल हिमायती’ कलाकार टोलीको साथमा अतिथि कलाकारको रुपमा उनी हङकङ पुगेका थिए l इलाम समाज हङकङको आयोजनामा उनको एकल साँझ सम्पन्न भएको हो l स्कुले उमेरदेखि  नै सङ्गीतमा सक्रिय रहेका थोमस हाल सङ्गीतकार, सङ्गीत संयोजक, वाद्यवादक, गायक र स्टुडियो साउण्ड इन्जिनियरका रुपमा क्रियाशील रहेका छन् l तथापि पूर्वका विभिन्न ठाउँ, मलेशिया, सिंगापुर र भारतको दार्जेलिङका स्टेजहरुमा उनले यसअघि नै आफ्नो प्रस्तुति दिईसकेका छन् l  ‘स्टेजको धेरै अनुभव भएपनि मेरो एकल गायनको कार्यक्रम भने यो नै पहिलो हो’ थोमस भन्छन् l एकल साँझमा टिका चाम्लिङको शब्द र बलराम समालको सङ्गीतको गीत ‘मेरी आमा परदेशीको सुर्ता गर्दै होलिन्’, टिकाकै शब्द तथा रुवेन शाही र मित्र रैका मगरको सङ्गीतका गीत ‘तिमीले सम्झे पनि तिमीले बिर्से पनि’ र  ‘सलल बगेको माइखोला’, भक्त सुनुवारको शब्द/सङ्गीतको गीत ‘तिम्रो माया किन्न सकिन’ लगायत १ दर्जन गीत प्रस्तुत गरेको कुरा थोमसले जानकारी गराए l

पूर्वको रमणीय पहाडी जिल्ला इलामको साविक माइपोखरी-७ र हालको सन्दकपुर-१ निवासी पिता पेम्बा देउसाली राई र माता राममाया राईको परिवारमा ३ छोरा र ३ छोरी पछि कान्छो सन्तानको रुपमा जन्मिएका थोमसले कहिले इलाम र कहिले झापा हुँदै आफ्नो स्कुले जीवन पार गरेका थिए l उनले माध्यमिक तहको पढाई भने इलामकै ज्योति विद्या मन्दिरबाट पूरा गरेका हुन् l ‘स्कुलमा साङ्गीतिक गतिविधिहरु भईरहन्थ्यो l त्यो बेला हामीलाई तीर्थमान राई र मोहन आचार्यले सङ्गीत सिकाउनुहुन्थ्यो’ उनी पुराना दिनहरु स्मरण गर्दै भन्छन् l एसएलसी दिनासाथ रिजल्ट नआउंदै गायक बन्ने युवा जोश बोकेर २०५६ सालमा उनी काठमाण्डौ प्रवेश गरेका थिए l जुन समयमा हौसला दिने र सहयोग गर्ने कान्छी दिदी भवी राईको गुन उनी जीवनभर भुल्न सक्दैनन् l त्यो बेला सङ्गीतबारे धेरै कुरा थाहा नभए पनि मनमा दरिलो आत्मविश्वास र रहरको ठूलै पहाड थियो l काठमाण्डौ आएपछि गायक बन्न अझै धेरै कुरा सिक्न बाँकी रहेको उनले बुझे र साधना कला केन्द्रमा गुरु प्रकाश गुरुङसँग सङ्गीत सिक्न थाले l सङ्गीत सिक्दैगर्दा एसएलसीको रिजल्ट पनि आयो l उनी राम्रो नम्बर ल्याएर उत्तीर्ण भए l

उनी काठमाण्डौमा गाउँले दाइ भगिरथ राईसँग बस्थे l सङ्गीतप्रति थोरबहुत लगाव – झुकाव भएका भगिरथको सल्लाह बमोजिम उनी ललितकला भर्ना भए l कलेजमा सङ्गीत पढ्दै उनले प्रकाश गुरुङसँग डेढबर्ष नियमित शाश्त्रीय सङ्गीत सिके l ‘मैले सङ्गीतको आधारभूत ज्ञान प्रकाश गुरुबाट नै लिएको हुँ’ उनी भन्छन् l
काठमाण्डौ प्रवेश गरेको ५ बर्षपछि अर्थात ०६१ सालमा उनले पहिलो एल्बमका लागि गीत रेकर्डिङ सुरु गरेका थिए l आई. म्यूज. { आई. ए. } सकेर बि. म्यूज. { बि. ए. } पढ्दै गर्दा उनको पहिलो एल्बम ०६२ मा रिलिज भएको थियो l ‘०६२ मा एउटा साहित्यिक कार्यक्रममा सहभागी हुन राष्ट्रकवि माधवप्रसाद घिमिरे इलाम जानुभएको थियो l त्यही मौकामा उहाँकै हातबाट पहिलो एल्बम ‘इलाम चारखोला’ बिमोचन गरेको थिएँ l जसमा मैले शिला बहादुर मोक्तान, शान्तिराम राई, बालन्द राई, बलराम समाल, वुद्धवीर लामा, भक्त उदासी लुङ्गेली, भगिरथ राई लगायतका सर्जकहरुको सिर्जना गाएको थिएँ’ थोमसले सुरुआती सङ्घर्षका दिनहरु सम्झंदै भने l गीत रेकर्डको सिलसिलामा स्टुडियोतिर जान थालेपछि उनी बिस्तारै प्राविधिक काममा आकर्षित हुँदै गएका थिए l टेक लिने, गीत इन्सर्ट गर्ने, टोन मिलाउने, मिक्सिङ् गर्ने लगायतका कामहरु सुरुमा रुवेन शाही, पछि हेम विष्ट र वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप उपाध्यायसँग समेत सिके l ‘म्युजिकको विद्यार्थी भएकोले होला, मलाई सजिलो पनि लाग्यो’ उनी आफ्ना अनुभव सेयर गर्छन् l

उनले सङ्गीतलाई व्यावसाय बनाउंदै लगेको कुरा अभिभावकहरुलाई खासै मन परेको थिएन l कृषि, व्यापार – व्यावसाय र सैनिक पेशामा आवद्ध उनको पारिवारिक पृष्ठभूमि भएकोले भविष्यमा उनलाई दु:ख होला भन्ने परिवारलाई चिन्ता थियो l यो सबैकुरा बुझिकन पनि उनले सङ्गीतलाई नै निरन्तरता दिईरहे l सुरुमा बालन्द राई र बलराम समालको संयुक्त लगानीको ‘सागर’ स्टुडियो र पछि उनीहरु छुट्टिएपछि बलराम समालको एकल स्वामित्वको ‘निशाद’ स्टुडियोमा गरी लगभग ५ बर्षजति साउण्ड इन्जिनियरको रुपमा काम गरिसकेपछि ०६२ सालमा उनले आफ्नै लगानीमा ‘ग्रेस रेकर्डिङ स्टुडियो’ संचालनमा ल्याएका थिए l पहिले पुतलीसडकमा रहेको उनको स्टुडियो हाल अनामनगरमा रहेको छ l

कलेक्शन एल्बमहरुमा समेत स्वर दिएका थोमसले हालसम्म ‘इलाम चारखोला’ र ‘माई फिलिङ्स्’ गरी एकल स्वरका २ वटा र गायिका रुश्मा राईसँगको युगल स्वरमा ‘संयोग’ भाग-१ र भाग -२ गरी कूल ४ वटा एल्बम प्रकाशन गरेका छन् l स्टुडियो प्राविधिकका रुपमा १८ बर्ष लामो अनुभव बटुलेका थोमस एक अब्बल दर्जाका साउण्ड इन्जिनियर हुन् l १८ बर्षको सङ्गीत यात्राका दौरान आफूले अन्य सर्जक-कलाकारहरुको करिव ५ हजार गीत रेकर्डिङ, मिक्सिङ र माष्टरिङका साथै लगभग ३  सय गीतमा म्युजिक एरेन्ज गरिसकेको  कुरा उनले जानकारी गराएका छन् l उनको सङ्गीतका डेढ दर्जन गीत समेत बजारमा आईसकेका छन् l अधिकांश समय अरुका लागि सिर्जना गर्न र सिंगार्नमै बितेपनि आफूलाई गायकका साथै सङ्गीतकर्मीको रुपमा परिचित गराउन पाउँदा बढी सन्तुष्ट हुने बहुमुखी प्रतिभा थोमस बाँकी जिन्दगी पनि सङ्गीतमै रमाउने बताउँछन् l