तारादेवी र अरुणा लामाको सम्झनामा साङ्गीतिक कार्यक्रमको आयोजना हुँदै

पोखरामा सक्रिय रहेका गायिकाहरुको संस्था ‘हार्मोनी  द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ ले आगामी असार २१ गते शनिबार पोखरामा एउटा विशेष साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली साङ्गीतिक क्षेत्रका दुई अत्यन्त लोकप्रिय महिला स्वरहरुलाई ट्रिब्यूट गर्दै आयोजना गर्न लागिएको ‘टेस्ट अफ हार्मोनी धुनहरुमा तारादेवी र अरुणा लामा’ शीर्षकको सो कार्यक्रममा पोखरेली गायिकाहरुले तारादेवी र अरुणा लामाका लोकप्रिय गीत प्रस्तुत गर्ने छन् । पोखरा सभा गृहमा शनिबार दिउँसो १ बजेपछि प्रारम्भ हुने उक्त साङ्गीतिक कार्यक्रममा दिवंगत गायिकाहरु तारादेवी तथा अरुणा लामालाई विशेष सम्झना गरिने छ ।

सो साङ्गीतिक कार्यक्रममा अरुणा लामा तथा तारादेवीका लोकप्रिय कालजयी गीतहरु प्रस्तुत गरिने आयोजक संस्थाकी अध्यक्ष तथा गायिका ईतु जोजिजूले बताएकी छिन् । उनी भन्छिन् – ‘हामीले नेपाली साङ्गीतिक क्षेत्रका दुई नक्षत्रप्रति समर्पण गर्दै यो कार्यक्रमको डिजाइन गरेका हौँ । यो कार्यक्रम धेरै दर्शक अनि स्रोताहरुका लागि विशेष हुने हामीले विश्वास लिएका छौं’ ।

साङ्गीतिक कार्यक्रममा संस्थामा आवद्ध गायिकाहरु ईतु जोजिजू, कौशल्या गुरुङ, शितल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन, रजनी रिदम राई, ममता गुरुङ, लक्ष्मी गिरी, स्नेहा गुरुङ, सविना सुनाम, रुमा तुप्रिहाङ थापा, एलिना गुरुङ आदिले आफ्नो विशेष प्रस्तुति दिने छन् । प्राप्त जानकारी अनुसार युगल गीतमा यी गायिकाहरुलाई पोखराकै लोकप्रिय गायकहरु कर्णदास, रामभक्त जोजिजू, विनोद बानियाँ तथा ज्ञान थापाले साथ दिने छन् ।

साङ्गीतिक क्षेत्रमा क्रियाशील महिलाहरुको बलियो उपस्थिति जनाउनका लागि स्थापना भएको यो संस्थाले विगतमा पनि विभिन्न साङ्गीतिक कार्यक्रमहरुको आयोजना गरिसकेको छ । संस्थाले विगतमा ‘लिजेन्ड्री हार्मोनियस इभिनिङ’ तथा ‘टेस्ट अफ हार्मोनी’ शीर्षकका साङ्गीतिक कार्यक्रम आयोजना गरेर दर्शक तथा स्रोताको मन जितिसकेको छ ।

यसैबीच साङ्गीतिक कार्यक्रमकै क्रममा आयोजक संस्थाले ३ जना गायिकाहरुलाई सम्मान गर्ने भएको छ । समारोहमा दार्जेलिङ्की गायिका दावा ग्याल्मो र गायक कर्णदासकी आमा तथा कलाकार रत्न दासलाई उनीहरुको योगदानको कदर स्वरूप सम्मान गरिने छ भने उदियमान गायिका जोनिशा पौडेललाई प्रोत्साहन सम्मान अर्पण गरिने आयोजक संस्थाले जनाएको छ ।