नेपाली गीत, सङ्गीत र कला क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापित जिनियस म्युजिकले पहिलोपटक आयोजना गरेको ‘जिनियस म्युजिक अवार्ड – २०७५’ मा विभिन्न ४८ विधामा सङ्गीतकर्मीहरुलाई पुरस्कृत गरेको छ । समारोहमा ‘जननी जन्मभूमि’ गीतबाट गायक रमेश दाहालले सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड पाए भने यही विधामा राष्ट्रप्रेम गीतबाट विशाल पौडेलले जुरी अवार्ड पाए ।
चलचित्रको विधातर्फ सुगम पोखरेलले चलचित्र क्याप्टेनको ‘रहर छ संगै…’ गीतबाट सर्वोत्कृष्ट गायकको र यही गीतबाट अञ्जु पन्तले सर्वोत्कृष्ट गायिकाको, अवार्ड जितिन् । सर्वोत्कृष्ट चलचित्र सङ्गीतकारको अवार्ड चलचित्र ‘दाल भात तरकारी’ को ‘भिजिट भिसामा…’ गीतका लागि शम्भूजीत बासकोटाले पाए । चलचित्र ‘चौका दाउ’ को ‘राधा पियारी…’ गीतका लागि गीतकार दयाराम पाण्डेले जुरी अवार्ड प्राप्त गरे । उदयराज पौडेलले सर्वोत्कृष्ट सङ्गीत संयोजकको अवार्ड जिते । उनले चलचित्र ए मेरो हजुर–३ को ‘जिन्दगी नै भन्दिन..’ गीतबाट यो सफलता पाएका हुन् ।
चन्द्र सिंह घले (सहारा बनी) तथा करुणा सिम्खडा (दिलको राजा) ले सर्वोत्कृष्ट पप नव गायक–गायिकाको अवार्ड पाएको उक्त समारोहमा रोशन भट्टराईले ‘मायालु तिमी’ गीतबाट सर्वोत्कृष्ट गीतकार (पप) को अवार्ड जिते । पपतर्फ सर्वोत्कृष्ट सङ्गीतको अवार्ड कल्याण सिंहले शब्द…गीतबाट जिते भने मस्त जवानी…गीतबाट राजेन्द्र बजगाईंले यही विधाको जुरी अवार्ड पाए । गायिका निशा कँडेलले ‘सधैंलाई…’ गीतबाट सर्वोत्कृष्ट पप गायिकाको अवार्ड जितिन् भने कमल खत्रीले जाउँला रेलैमा…गीतबाट सर्वोत्कृष्ट पप गायकको अवार्ड हात पारे । लोकपप विधामा छाता बोकी गीतबाट भूपु पाण्डेले सर्वोत्कृष्ट गायकको अवार्ड जिते ।
राजकुमार श्रेष्ठले ‘निष्ठुरी भनुँ…’ गीतबाट पप तथा आधुनिक विधाको नव गीतकारको अवार्ड जिते भने डा.डि.आर. उपाध्यायले लट्ठै लट्ठै गीतबाट आधुनिक तर्फको सर्वोत्कृष्ट गीतकारको अवार्ड हात पारे । यही विधामा दुर्गा प्रधानले रात पनि गीतबाट महिला गीतकारको अवार्ड पाइन् । सर्वोत्कृष्ट सङ्गीत संयोजकको अवार्ड सङ्गीतकार मोहित मुनालले पाए । उनले ‘पीचरोड…’ गीतबाट यो सफलता हासिल गरेका हुन् । यही विधामा नरेन्द्र बियोगीले पिरिम नलाउने…बाट जुरी अवार्ड हात पारे । आधुनिक सङ्गीततर्फ सर्वोत्कृष्ट सङ्गीतकारको अवार्ड हरि लम्सालले जिते । उनले ‘जितेर पनि…’ गीतबाट यो सफलता हासिल गरेका हुन् । यही विधामा बिनोद पछाईं (तिम्रा हजार) ले जुरी अवार्ड पाए । गायक आशिष सचिन तथा गायिका मेलिना राईले ‘पिरिम नलाउने…’ गीतबाट सर्वोत्कृष्ट यूगल गीतको अवार्ड जित्न सफल भए ।
लोक तथा दोहोरी विधातर्फ सर्वोत्कृष्ट गायकको अवार्ड ‘ढल्क्यो बर…’ बाट रामजी खाँडले जिते भने ‘भाग्यमानी…’ गीतबाट देवी घर्तीले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितिन् । ‘हत्ते हालिन्छ…’ गीतबाट लोमस शर्माले नव मोडलको अवार्ड जिते भने कपिल लामाले ‘बलिदान…’ गीतबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते । ‘मकैसिंह डाँडा…’ गीतबाट सुजन परियारले सर्वोत्कृष्ट नव गायकको, ‘आउनु माया…’ गीतबाट मेनुका सोनीले सर्वोत्कृष्ट नव गायिकाको, चन्द्र खत्रीले सुन कथाबाट सर्वोत्कृष्ट शब्द संकलकको, शिव हमालले लालुमाई गीतबाट सर्वोत्कृष्ट लय संकलकको, मलाई देखेर गीतबाट कृष्ण बिक भान्जाले सर्वोत्कृष्ट सङ्गीत संयोजकको, बितेका पल गीतबाट निशान बानियाँले सर्वोत्कृष्ट नव निर्देशकको, दलित शीर्षकको गीतबाट दिपक विष्टले सर्वोत्कृष्ट सम्पादकको, बोल माया गीतबाट करण चैसिरले सर्वोत्कृष्ट छायाकारको, हिजोसम्म गीतबाट बलबहादुर राजवंशीले आधुनिकतर्फ सर्वोत्कृष्ट नव गायकको र लोक तथा दोहोरी विधाकै सर्वोत्कृष्ट मौलिक गीतको अवार्ड बोली मोहनीबाट गडुल ध्वज गुरुङ (जिमी) ले जितेका छन् । महिला मोडलको अवार्ड बलिदान गीतबाट सारिका केसीले जितिन् भने सलल पानी गीतबाट दुर्गेश थापाले पुरुष मोडलको अवार्ड जिते ।
यसैगरी शिव परियारले ‘तिमी नै मेरो सास…’ गीतबाट आधुनिकतर्फको सर्वोत्कृष्ट गायकको अवार्ड जिते भने यही विधामा अटालिका गीतबाट गायक भानुभक्त ढकालले जुरी अवार्ड पाए । ‘तिम्रा हजार…’ गीतबाट महेश्वरमान राजभण्डारीले सर्वोत्कृष्ट ध्वनि मुद्रणको, प्रकाश केसीले प्याप्या झ्यामबाट यही विधाको जुरी अवार्ड, अभिनेत्री आँचल शर्मा तथा अभिनेता पल शाहले पप तथा आधुनिक विधातर्फ ‘जे पनि हुन’ गीतबाट सर्वोत्कृष्ट महिला तथा पुरुष मोडलको, टीका बम्जनले फनफनी घुमेको गीतबाट तामाङ सेलोतर्फको सर्वोत्कृष्ट गायकको, मिङ्स लामाले डम्फुमा सेलो गीतबाट सर्वोत्कृष्ट गायिकाको, मौलिक तीज गीततर्फ मञ्जु थापा र प्राश्ना शाक्यले तीजको रहर गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड जित्न सफल भएका छन् ।
समारोहमा प्रिन्स सिलवाल र नन्दिताराज वैद्यले क्रमशः न मानामा नापिन्छ तथा यो धर्ती गीतबाट सर्वोत्कृष्ट बाल गायक/गायिकाको अवार्ड जिते भने पप तथा आधुनिक विधातर्फ सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड शिव पौडेलले तिम्रो जोवन गीतबाट जित्न सफल भए । यही विधातर्फ सर्वोत्कृष्ट छायाकारको अवार्ड ‘मन मगन…’ गीतका लागि अनिल के मानन्धरले जिते । निकेश खड्काले ‘गल्ती…’ गीतबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भए । पवन सुस्लिङले ‘हेरी रहुँ…’गीतबाट सर्वोत्कष्ट सम्पादनको अवार्ड जिते भने कमल सिंहले ‘किन लाग्छ…’ गीतबाट सर्वोत्कृष्ट नव मोडलको अवार्ड जित्न सफल भए ।
समारोहमा एसियन म्युजिकले सर्वोत्कृष्ट म्युजिक कम्पनीको अवार्ड जित्यो भने ‘सालको पात टपरी…’ गीतले पब्लिक च्वाइस अवार्ड जित्न सफल भयो । काठमाडौंमा आयोजित एक समारोहमा नेपाली गीत–सङ्गीतको क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याउने सङ्गीतकर्मी ईश्वर अमात्यलाई नगद २५ हजार राशी सहित जिनियस दीर्घ साधन सम्मानसहित लाइफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ । समारोहमा सञ्चारकर्मी कृष्ण भट्टराईलाई रंग पत्रकारिताको क्षेत्रमा क्रियाशील रहँदै नेपाली गीत, संगीत तथा कला क्षेत्रको संरक्षणका लागि योगदान पुर्याए वापत नगद १० हजार रुपैयाँसहित जिनियस पत्रकारिता सम्मान प्रदान गरियो । त्यसक्रममा कोरियोग्राफर तथा नृत्य निर्देशक शिव बिकलाई विशेष सम्मान अर्पण गरियो भने तथा गायक अमन प्रदानलाई पनि प्रतिभा सम्मान अर्पण गरियो ।
समारोहमा शिव परियार, कमल खत्री सहितका संगीतकर्मीहरुले गीत संगीत प्रस्तुत गरेका थिए भने बिनु शाक्यसहित जिनियस म्युजिक स्कूलका विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए ।