सङ्गीत उत्पादक समाजमा चलचित्र निर्माता पनि समेटिए, छविराज ओझा कार्यसमितिमा

  • तुलसी गिरी ‘भावुक’गीत – सङ्गीतको क्षेत्रमा स्थापित ३ वटा रोयल्टी सङ्कलन संस्था मध्ये लगानीकर्ताहरुको रोयल्टी सङ्कलन र वितरणका लागि स्थापित संस्था ‘सङ्गीत उत्पादक समाज नेपाल’ मा चलचित्र निर्माताहरु समेत समेटिएका छन् l विधानको नियम २०, उपनियम १ बमोजिम चलचित्र निर्माता छविराज ओझा र धनु ज्ञाङ्मीलाई केहीदिन अघिमात्र कार्यसमिति सदस्यमा मनोनित गरिएको कुरा समाजका अध्यक्ष निर्मलराज ढकालले जानकारी गराएका छन् l 

अध्यक्ष ढकाल भन्छन् -‘संस्थाको नाम सङ्गीत रोयल्टी सङ्कलन समाज भएकोले कतिपय श्रव्यदृश्य विधाका निर्माताहरुमा केही ‘कन्फ्युजन’ थियो l नेपाल चलचित्र निर्माता सङ्घसँग लामो समयको औपचारिक र अनौपचारिक छलफलपछि चलचित्र निर्माताहरुलाई पनि समेट्न पाएकोमा हामीले यसलाई ठूलो उपलव्धीका रुपमा लिएका छौं l छोटो समयमा ४० भन्दा बढी चलचित्र निर्माताहरुले समाजको सदस्यता लिईसक्नुभएको छ भने आउने क्रम पनि बढिरहेको छ l १ वर्षभित्र ८० प्रतिशत भन्दा बढी चलचित्र निर्माताहरुले सदस्यता लिईसक्ने कुरा हामीले अनुमान गरेका छौं l जसले गर्दा म्युजिक भिडियो, छोटा तथा लामा कथानक चलचित्र, वृत्तचित्र लगायत सबै प्रकारका चलचित्रजन्य सामग्रीका उत्पादकहरु समेत यस संस्थामा आवद्ध हुन सक्ने सन्देश गएको छ l’ सुरुमा ‘गायन समाज’ को नामबाट स्थापित संस्थाले पनि पछि नाम परिवर्तन गरी ‘प्रस्तोता समाज’ राखेर गायक – गायिकाका साथै वाद्यवादन र अभिनय क्षेत्र लगायत सबै विधाका प्रस्तोताहरुलाई सदस्यता दिएको थियो l

यसअघि सीआरबीटी / पीआरबीटीको डाटामा चलचित्रको डिजिटल राईट जसले खरिद गरेको छ प्रोड्युसरमा उसैको नाम राख्ने गरिएको थियो र रोयल्टी पनि सोही बमोजिम हुँदै आएको थियो l यस समाजमा आवद्ध भएपछि कतिपय निर्माताहरुले रोयल्टीको हक सुरक्षित राखेर सम्झौता गर्न थालेको समेत पाईएको छ l जसले गर्दा  नेपालका सीआरबीटी / पीआरबीटी, अन्तर्राष्ट्रिय क्षेत्रमा प्रयोग भईरहेका मोबाईल रिङ् ब्याक टोन, युट्युब लगायत समस्त क्षेत्रबाट उठ्ने रोयल्टीबाट भविष्यमा चलचित्र निर्माता लाभान्वित हुने छन् l

सङ्गीत उत्पादक समाजका अध्यक्ष निर्मलराज ढकाल अगाडि भन्छन् -‘कतिपय व्यक्तिको बुझाई फरक भएको पनि पाइएको छ l यो संस्था गाभिएको, संस्थागत एकता भएको वा सम्झौता भएको  विषय हैन l रोयल्टी सङ्कलनका लागि हामी एकत्रित भएका हौँ l चलचित्र निर्माताहरु समेत रोयल्टी सङ्कलनका लागि संस्थामा आवद्ध हुनुभएको हो l उठेको रोयल्टीको निश्चित प्रतिशत रकम मात्र प्रशासनिक खर्च गर्न मिल्ने हुँदा उस्तै उस्तै विधामा एक भन्दा बढी संस्था खोलिएमा संस्था चलाउन गाह्रो हुन्छ l त्यसैले प्रतिलिपि अधिकार ऐनले समेत एउटा विधामा एक भन्दा बढी यस्ता रोयल्टी सङ्कलन संस्थाहरु खोल्न निरुत्साहित गरेको छ l यो एकताबाट सङ्गीत उत्पादक समाजको सदस्यताको दायरा पनि फराकिलो भएको छ l यसले गर्दा नि:सन्देह संस्था मजबुत हुने छ र रोयल्टीको अभियानलाई अगाडि बढाउन यो एकताले अहम् भूमिका निभाउने छ