रू १ लाख १ सहित गीतकार नगेन्द्र थापालाई सम्मान गरिने, कार्यक्रम जेठ २५ मा

गीतकार सङ्घ नेपालले यसबर्ष नगद रू. १ लाख १ र ताम्रपत्र सहितको ‘राष्ट्रिय स्रष्टा सम्मान २०७५’ बाट वरिष्ठ गीतकार नगेन्द्र थापालाई सम्मान गर्ने भएको छ l बुधबार बिजुलीबजारस्थित सङ्घकै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जानकारी गराईएको छ l सङ्घले बार्षिक रुपमा आयोजना गर्दै आईरहेको कार्यक्रम अन्तर्गत ‘सातौँ  राष्ट्रिय स्रष्टा सम्मान’ समारोहमा गीतकार थापालाई सो सम्मान अर्पण गर्न लागिएको हो l समारोहमा सङ्घको अक्षयकोषका लागि रू. ११ लाख प्रदान गर्ने उद्योगपति एवं गीतकार वसन्त चौधरीलाई समेत अभिनन्दन गर्ने कार्यक्रम रहेको छ l सङ्घले कार्यक्रम आगामी जेठ २५ गते आयोजना हुने कुरा समेत जानकारी गराएको छ l पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष चूडामणि देवकोटाले कार्यक्रम सम्बन्धी विस्तृत विवरण सहितको प्रेस विज्ञप्ति पढेर सुनाएका थिए l समारोहमा अघिल्ला वर्षहरुमा झैं ‘राष्ट्रिय स्रष्टा सम्मान’ सँगै नगद रू. ५१ हजार र प्रमाणपत्र सहित ‘बर्षगीत पुरस्कार’, नगद रू. ५१ हजार र प्रमाणपत्र सहित ‘वर्षगीत पुस्तक पुरस्कार’ र नगद रू. ११ हजार र प्रमाणपत्र सहित ‘डायस्पोरा गीतकार सम्मान’ समेत प्रदान गरिने छ l

सङ्घद्वारा वितरित प्रेस विज्ञप्ति अनुसार विदेशमा बसेर पनि नेपाली गीत लेखनमा उल्लेख्य योगदान पुर्याएवापत दिईदै आएको ‘डायस्पोरा गीतकार सम्मान’ हङ्कङ निवासी गीतकार रामकृष्ण बान्तवालाई प्रदान गर्ने निर्णय भएको छ भने ‘वर्षगीत पुरस्कार’ र ‘बर्षगीत पुस्तक पुरस्कार’ पाउने व्यक्तिको नाम अघिल्ला बर्षहरुमा झैं कार्यक्रम स्थलमा नै घोषणा गरिने छ l यी दुई पुरस्कार विजेताहरुको नाम विज्ञहरुको समितिले छनोट गर्ने छ l बर्षगीत पुरस्कारका लागि सङ्घमा ५६ वटा गीत दर्ता हुन आएकोमा अरुण तिवारीको ‘कति कुरा’, वसन्त राज अज्ञातको ‘कटेरोको बास’, दिनेश सुवेदीको ‘विदेशिए रमाई’, जानु काम्बाङ् लिम्बूको ‘कैयौं प्यासी’, डा. डी. आर. उपाध्यायको ‘सन्तानको शीर’, टिका चाम्लिङको ‘यी दु:खहरु’, हाङ्युग अज्ञातको ‘आमा मेरो’, झोटन मेहताको ‘हिमाल मेरो’, रमेश दाहालको ‘शान्ति अङ्कुर’ र अर्जुनरत्न भिखारीको ‘धनले होईन’ टप टेनमा पर्न सफल भएका छन् भने ‘वर्षगीत पुस्तक पुरस्कार’ का लागि दर्ता भएका ७ पुस्तक मध्ये उर्मिला कोईरालाको ‘दिलको गजुर’, गौरव गुरुङको ‘पहाडको गीत’ र रविन्द्र आशिष ‘शैली’ को ‘माया महल’ टप थ्रीमा परेका छन् l यी सबै विधामा सङ्घमा आवद्ध गीतकारहरु मात्र सम्मानित र पुरस्कृत हुने व्यवस्था गरिएको छ l

Press Meet Video