सिंगौरीको भ्युजले करोड नाघ्यो, पूर्वेली गीतमै नयाँ इतिहास

  • तुलसी गिरी ‘भावुक’ 

    संजोगले भेट भा’को बेला
    भन… मनमा बस्ने, फूल हो कि कोपिला
    यो मायाको आँखै गाजलु
    जति तिम्ले सिंगौरी खेले नि
    म त तिम्रै हुन्छु मायालु

युमा आर्ट्स एण्ड कल्चर सेन्टरबाट  रिलिज भएको पूर्वेली लोक जुहारी ‘सिंगौरी’ को भिडियोले लोकप्रियताको नयाँ इतिहास बनाएको छ l यो समाचार लेखिरहँदा भिडियोले युट्युबमा १ करोड ९१ हजार भन्दा बढी ‘भ्युज’ पाईसकेको छ भने भ्युज तीव्र गतिमा बढिरहेको छ l जुन ‘भ्युज’ युमा आर्ट्सको युट्युब च्यानलको मात्र नभई पूर्वेली गीतकै हालसम्मको नयाँ रेकर्ड हो l पूर्वेली लोकजुहारी तथा आधुनिक गीत दुबै विधाका लागि प्रसिद्ध गीतकार तथा सङ्गीतकार खगेन्द्र कुमार लिम्बू [यक्शो] को शब्दरचना, शशी [तोरण] गुरुङको सङ्गीत तथा खगेन्द्र यक्शो, विमला राई र अर्जुन राईको स्वर रहेको यस गीतको भिडियो युगल पोमोको निर्देशनमा तयार भएको हो l जसमा अहिलेकी लोकप्रिय तथा महङ्गी सुन्दरी मोडल एलिशा राई तथा श्याम राई, योगेन्द्र राई, दिनेश गुरुङ र अर्पणको अभिनय रहेको छ l तर रोचक कुरा के छ भने छायाङ्कन भएर पनि लामो समय रिलिज नभएको यो भिडियो शुटिंग हुँदा मोडल एलिशा सङ्घर्षकै चरणमा थिईन् l यस भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् l भिडियोले अपलोड भएको लगभग १ वर्षको अन्तरालमा यो उचाई पाएको हो l

यस गीतको म्युजिक एरेन्ज चन्दु गोर्खालीले गरेका हुन् भने भिडियोको छायाकार अर्जुन तिवारी हुन् l युट्युबमा गीतको लोकप्रियता रात दुईगुणा दिन चार गुणा भएसँगै गायिकाद्वय विमला राई र अर्जुन राईको पनि चर्चा बढेको छ l गीतको सन्दर्भमा जिज्ञाशा राख्दा गीतका रचनाकार तथा गायक खगेन्द्र भन्छन् -‘सिंगौरी हाम्रो पूर्वेली गाउँ-घरको टिपिकल शब्द हो l यसको सिधा अर्थ जुध्नु, जोरी खोज्नु या झगडा गर्नु भएपनि यहाँ प्रेमी-प्रेमिकाबीचको सिंगौरी भएकोले यसको सानोतिनो घुर्की र असहमति भन्ने अर्थ लाग्दछ l गीतमा यस्तै भाव प्रकट गरिएको छ l पूर्वेली जुहारी र पश्चिमका लोकदोहोरीका गाउने शैली फरक फरक भएपनि भाव उस्तै हुन्छन्, सवाल-जवाफ या फकाउने र घुर्की लाउने l यस्ता भावहरु हाम्रा लोकका ऐना हुन् l यस गीतमा पनि केटाले तिमी जेसुकै भन म त तिम्रै हुन्छु भनिरहेको छ भने केटीले त्यसलाई इन्कार गरिरहेकी हुन्छे l’ भिडियोले २७ हजार लाइक समेत पाएको छ l

Video Link